coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

लोकतन्त्र र प्रजातन्त्र

प्रकाश ए. रार्ज

दोस्रो जनआन्दोलनभन्दा पहिले नेपाल हिन्दू राज्य थियो। यहाँ राजा थिए। वि.सं. २००७ मा राणाशासन विरुद्ध राजा त्रिभुवन समेत सहभागी भएका थिए। २००७ फागुन ७ गते अझै पनि नेपालमा प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ। यो दिन सरकारी बिदा समेत हुन्छ। नेपाल गणतन्त्र भएपछि 'प्रजातन्त्र' शब्दको प्रयोग भने धेरै घटेको देखिन्छ। केही दलहरूको नाममा अझै 'प्रजातन्त्र' रहेको छ जस्तो 'राष्ट्रिय प्रजातान्त्रिक पार्टी'। नेपालको सबभन्दा पुरानो पार्टी प्रजापरिषदको नाममा 'प्रजा' शब्द रहेको थियो। पञ्चायतको विरोध हुँदा 'प्रजा होइन नागरिक बनौं' भन्ने नारा पनि सुनिएको थियो। प्रजा भन्ने शब्द प्रयोग भएपछि 'राजा' शब्द पनि आउने हुनाले अहिले 'प्रजातन्त्र' को ठाउँमा 'लोकतन्त्र' शब्द बढी उपयोग हुन थालिएको छ। अब नेपालमा लोकतन्त्र दिवस पनि मनाइन्छ र 'तराई मधेश लोकतान्त्रिक पार्टी' समेत रहेको छ।

सन् १९४७ (वि.सं. २००४) मा स्वतन्त्र भएपछि भारतमा 'लोकतन्त्र' शब्दको प्रयोग धेरै बढी भए पनि कहिलेकाहीं 'प्रजातन्त्र' शब्दको प्रयोग हुँदो रहेछ। भारतमा 'प्रजा सोसलिस्ट पार्टी' पनि रहेको थियो। भारत स्वतन्त्र भए पनि यस नामको पार्टी रहँदा त्यहाँ 'राजा' थिएनन् र राजतन्त्र ल्याउने भनी कुनै दलले माग गरेका थिएनन्। नेपालमा भने राप्रपा–नेपालले संवैधानिक राजतन्त्र नेपालमा आउनुपर्ने माग गरिरहेको छ। यस सन्दर्भमा अंग्रेजीमा डेमोक्रेसी शब्दले लोकतन्त्र र प्रजातन्त्र दुवैको अर्थ लाग्ने कुरा स्मरणीय छ।

संक्षेपमा नेपाल यस्तो संघीय गणतन्त्र हो जहाँ प्रजातन्त्र दिवस र लोकतन्त्र दिवस दुवै मनाइन्छन् र दुवै दिन सार्वजनिक बिदा हुन्। यहाँ केपी ओली प्रधानमन्त्री हुँदा संघीयता विरोधी चित्रबहादुर केसी र राजावादी कमल थापा दुवै उपप्रधानमन्त्री भएका थिए। के यो विरोधाभाष अथवा विडम्बना होइन?

यस्ता उदाहरण विश्वका अन्य देशमा पनि देखिन्छ। सोभियत यूनियनमा साम्यवाद आएपछि लेनिनले तत्काल सेन्ट पीटर्सवर्ग शहरको नाम नै बदलेर पेट्रोग्राड नाम राखे। लेनिनको निधन भएपछि त्यस शहरको नाम लेनिनग्राड भयो। सोभियत यूनियन टुक्रिएपछि त्यस शहरको नाम अहिले फेरि सेन्ट पीटर्सवर्ग राखिएको छ। स्मरण रहोस् पीटर द ग्रेट केही शताब्दी अघि रुसका राजा थिए र उसको नामबाट राखिएको शहरको नाम हटाउन कम्युनिष्टहरूले खोजेको थिए। लेनिनको नामबाट नामकरण गरिएको लेनिनग्राड अहिले फेरि सेन्ट पीटर्सवर्ग भएको छ।

नेपालमा वि.सं. २०७३ मा सार्वजनिक बिदा दिइने दिनहरुमध्ये बैशाख ११ गते लोकतन्त्र दिवस जेठ १५ गते गणतन्त्र दिवस परेका थिए तर यी दुवै दिन शनिबारमा परेका थिए। असोज ३ गते संविधान दिवस र फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसका दिन पनि सार्वजनिक बिदा दिइन्छ। छिमेकी देश भारतमा २६ जनवरीमा गणतन्त्र दिवस र १५ अगस्तमा स्वतन्त्रता दिवसमा जम्मा दुई दिन मात्र सार्वजनिक बिदा दिइन्छ। यसैगरी छिमेकी देश पाकिस्तानमा २३ मार्चमा गणतन्त्र दिवस (पाकिस्तान दिवस) र १४ अगस्तमा स्वतन्त्रता दिवसमा सार्वजनिक बिदा दिइने गरेको छ। नेपालमा दशैं र तिहारजस्ता उपलक्ष्यमा हुने बिदा धेरै छ्न। नेपाल गणतन्त्र भएपछि समावेशी लोकतन्त्रको नाममा थपिएका छन्। अनय देशहरुको तुलनामा यो संख्या धेरै छ।

नेपाल संघीय राज्य भइसकेको छ। पहिले पनि स्थानीय पर्वको रुपमा देशभरी बिदा नदिई स्थानीय बिदा मात्र दिने चलन थियो र अहिले पनि सोही कायम छ। गाईजात्रा र इन्द्रजात्रामा काठमाडौं उपत्यकामा मात्र बिदा दिने गरेको थियो र अहिले पनि त्यही गरिन्छ। लोकतन्त्र आएपछि पहाडमा फागु अघिल्लो दिन मनाइने गरेको हुनाले सोही दिन सार्वजनिक बिदा दिइन्छ भने तराईमा त्यसको भोलिपल्ट होली मनाइने हुनाले सोही दिन सार्वजनिक बिदा दिइन्छ। वि.सं. २०४७ अघि छठपर्वलाई देशभरि सार्वजनिक बिदान दिइँदैन थियो अहिले दिइन्छ।

कुनै संघीय राज्यमा कुनै जातीय अथवा धार्मिक सम्प्रदायको नगण्य मात्रामा मात्र उपस्थिति छ भने त्यहाँ सो दिनमा सार्वजनिक बिदा किन दिने? अहिले दशैं र तिहारमा दिने सार्वजनिक बिदा धेरै लामो भएको छ। केही संघीय राज्यमा त्यहाँ बसोबास गर्ने समूह उल्लेख्य संख्यामा भए सार्वजनिक बिदा दिन सकिन्छ। आगामी वर्षदेखि सार्वजनिक बिदा कहिले र कहाँ कति दिने भन्ने कुरामा छलफल गरी निर्णय गर्नुपर्ने देखिन्छ।

प्रकाशित: ४ आश्विन २०७३ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App