७ वैशाख २०८१ शुक्रबार
राजनीति

देश बर्बाद हुनेवाला छ, सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्छ : गृहमन्त्री थापा

इटहरी– गृहमन्त्री रामबहादुर थापाले अहिलेको परिपार्टी कायम रहे देश सकिने चेतावनी दिएका छन्। त्यसकारण तस्करबिरुद्ध निर्ममतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ। देशका तस्करसहित गुण्डा, भ्रष्टाचार, लागुऔषध कारोबारी, महिलामाथि हत्याहिंसा र बलात्कार गर्नेबिरुद्ध सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्ने बताए। 

‘अहिले हाम्रा सम्पदाहरु तस्करले लुटिरहेका छन्। तस्करहरुले गिट्टी–बालुवा भारत निकास गरिरहेका छन’, गृहमन्त्री थापाले रौतहटमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन फडानी गरेको प्रसंग कोट्याउँदै इटहरीमा आयोजित कार्यक्रममा भने, ‘अहिलेकै  अवस्था कायम रहेमा देश बर्बाद हुनेवाला छ।’ उनले बेलैमा तस्कारलाई रोक्न नसकेमा मधेस–तराई मरुभूमि हुने जिकिर गरे। 

‘पारि इन्डियामा नेपालका संखुवा पाइन्छ भनेर बोर्ड राखिएको छ अरे’, उनले भने, ‘वन जोगाउन नेपाली सेना परिचालन गर्न जरुरी छ।’ थापाले समाजलाई पुरै सुधार गर्नका लागि शिक्षक, विद्यार्थी, महिलालगायतलाई सहभागी गराई आन्दोलन गर्न सक्नुपर्ने बताए। 

‘समाजवादको आन्दोलन, समतामूलक समाज निर्माण माथिबाट होइन, तलबाट गर्नुपर्छ। आन्दोलन जनताले गर्ने हो’, उनले भने। थापाले आन्दोलनलाई एउटा अभियानको रुपमा लगेमा मात्र अहिलेको समस्या समाधान हुने दावी गरे। 
‘बलात्कारी, तस्करहरुबिरुद्ध स्थानीय जनप्रतिनिधिले भूमिका खेल्नुप-यो’, उनले भने, ‘थुप्रै स्थानमा गाजा खेती गरिरहेका छन्। वडामा प्रतिनिधि छन्। त्यो गाजा खेती कसरी गरिरहेका छन्?’ उनले गुण्डालाई पक्राउ गर्दा राजनीतिक नेताले संरक्षण गर्ने गरेकाले ती नेताका बिरुद्ध पनि लाग्नुपर्ने बताए।

लागूऔषध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरण कार्यक्रममा उनले भने, ‘हामीले आफैभित्र पनि एउटा ठूलो शुद्दीकरण अभियान चलाउनु जरुरी  छ। क्रान्तिभित्र क्रान्ति गर्नुपर्छ। निर्ममतापूर्वक शुद्धिकरण गर्नु पर्छ।’ समाज बनाउने अभियानमा लाग्नेभित्र शुद्धिकरण गरिएन भने जनताले समृद्धि र सुशासन प्राप्त गर्न नसकने जिकिर गरे। 

उनले लागूऔषध कारोबारीलाई हत्यारा, बलात्कारी र तस्कार भएको बताए। ‘लागूऔषध कारोबारी सामान्य अपराधी होइन, क्रुर अपराधी हुन,’ उनले भने, ‘तिनीहरुलाई निर्ममतापूर्वक सिध्याउनुपर्छ। तिनीहरुको स्रोतहरुको पहिचान गर्न पर्छ।’ 

मन्त्री थापाले नेपाली जनताको आकांक्षा समृद्द नेपाल र सुखी नेपाली भएकाले गर्दा सुशासन, शान्ति, समृद्धि र समाजवादसँग जोडन जरुरी भएको बताए। ‘समाजवादको मार्ग, समृद्धि र सुखको मार्गमा के बाधाहरु छन्। कसले दरिद्र बनायो? दुःखी बनायो? सत्रु पहिचान गर्नुपर्छ’, उनले भने। उनले बलात्कार, हत्या, हिंसाको मात्र व्याख्या गर्ने अनि त्यसलाई पैदा गर्ने कारणहरुलाई चिन्न नसक्दा लक्ष्य हासिल गर्न नसक्ने जनाए।

‘विकासको उच्चतम पूजीवादी संस्कृतिले आफ्ना छोरी चेलीहरुलाई बेच्छ। वेश्या बनाउने र नाफा कमाएर विक्री गर्छ’, उनले भने, ‘सामन्ती संस्कृतिले महिलालाई भोक विलासको साधनको रुपमा प्रयोग गर्छ। एउटा जमिनदारले कोही महिला देख्न हुँदैन्।’ उनले पूँजीवादीले महिलालाई पुरुषको अगाडि घुँडा टेकाउने शिक्षा दिने दावी गरे।

‘अब हामी नयाँ फ्रेजमा आएका छौं। संविधानले नयाँ फ्रेजलाई इंगित गरेको छ। अबको हाम्रो लक्ष्य भनेको जति पनि समस्या छन, अप्ठ्याराहरु छन, त्यसको समाधान भनेको समाजवाद हो’, उनले भने। उनले समाजवाद, सुशासन, समृद्धि र राष्ट्रियताको मार्गमा बाधक भनेकै तस्कार, ठग र भ्रष्टचार नै भएको बताए।

प्रकाशित: १५ आश्विन २०७५ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App