फेसनलाई पछ्याउनेको जमात दिनानुदिन बढ्दो छ । आफूलाई सुहाउँदो पहिरन खोज्न पसल र मलमा किनमेल गर्न जाने बढेका छन्। युवाको रोजाइमा परेको फेसनेवल पहिरनमध्ये एक हो– बेल्ट । बजारमा विभिन्न थरिका स्टाइलिस बेल्ट छन्।
पछिल्लो समय महिलाले समेत बेल्ट प्रयोग गर्न थालेका छन् । लङ पिस तथा सर्ट स्कटमा बेल्ट लगाउने युवती पनि देख्न सकिन्छ।
समरमा सिजनमा लामो सर्टसँग पातलो बेल्टले निकै स्मार्ट देखिने बताउँछिन्, पाटनकी बिना थापा । उनी अक्सर वान पिसमा बेल्ट लगाउने गरेकी छन् । उनी कालो रंगको क्वाटर लेगिज, निलो रंगको चेक सर्ट र मसिनो खैरो रंगको बेल्ट लगाउँछिन् । उनलाई यो ड्रेस निकै सुहाउँछ । ‘म अलिक मोटी छु । त्यसैले आफूलाई सुहाउने लुगा विचार गरेर मात्र लगाउँछु,’ उनले भनिन्, ‘समर सिजन भएकाले वान पिस विथ बेल्ट लगाएको हुँ ।’ जिन्स पाइन्ट लगाउन मन नलाग्ने भएकाले वान पिस लगाएको उनले बताइन्।
पछिल्लो समय झुम्का, घडी, जुत्ता–चप्पल मात्र होइन, बेल्ट पनि फेसनेवल खोज्नेको जमात बढेको व्यापारी बताउँछन् ।
शरीरको बनोट अनुसार फेसन गर्नुपर्ने बताउँछिन्, न्युरोडकी व्यापारी मनिला महर्जन । मनिलाले न्युरोडमा व्यापार गर्न थालेको १० वर्षभन्दा बढी भइसकेको छ । लेडिज आइटमहरूको व्यापार गर्दै आएकी मनिला विशेष लेडिजका फेन्सी सामान बेच्ने गर्छिन्।
उनी भन्छिन्, ‘पसलको सुरुवात गर्दाताका मान्छेलाई फेसनको जानकारी नै थिएन । लुगा लगाउन पाए मात्र हुन्थ्यो । तर, अहिले फेसनप्रति मानिसहरू निकै सचेत देखिन्छन् ।’ हेर्दा नयाँ डिजाइन र स्टाइलको लुगा देखेपछि लिने चलन रहेको उनले अनुभव सुनाइन् । ‘अहिले बजारमा वानपिस विथ बेल्टको निकै फेसन चलेको छ,’ उनले भनिन् । हिजो आज हरेक लुगामा प्रायः बेल्टको फेसन चलेको उनी बताउँछिन्।
पहिले रेडिमेड जिन्स पेन्ट, हाफ पेन्ट र प्यारालाल पाइन्टमा बेल्ट लगाइन्थ्यो । अचेल भने लङ वान पिस ड्रेस, सर्ट ड्रेस, स्कर्ट, जम्पसुट, स्कर्ट र सर्टमा पनि बेल्ट लगाएको पाइन्छ । बेल्ट लगाउँदा हरेक किसिमको पहिरन फेसनेबल देखिन मद्दत पुग्ने बताउँछिन्, टोखाकी ज्ञानु देवकोटा । उनी न्युरोडमा किनमेल गर्दा भेटिएकी हुन्।
उनी यसपाली दसंैमा वान पिस ड्रेस विथ बेल्ट लगाउने योजनामा छिन् । ‘म खासै फेसन फलो त गर्दिनँ । लगाउन सजिलो हुने पहिरन लगाउँछु,’ उनी भन्छिन् । उनले रोयल ब्लु कलरको लङ सर्ट स्टाइलको वान पिस किनेकी छिन् । उनलाई पातलो बेल्टले आकर्षण गरेको बताइन्।
फेसनेवल ‘बेल्ड’ अट्याज ड्रेस
समय अनुसार फेसन गर्ने तरिकामा पनि परिवर्तन आएको देख्न सकिन्छ । पाइन्टमा मात्र प्रयोग गरिने बेल्ट अचेल विभिन्न ड्रेस अनुसार फरक–फरक तरिकाले प्रयोग गरेको पाइन्छ । बेल्टले कम्मरमा रहेको पाइन्टलाई कसिलो बनाएर अड्याउने मात्र नभएर फेसनको लागि पनि लगाएको पाइन्छ।
मेटल बेल्ट
मेटल बेल्ट विशेष गरेर गोल्डेन रंगमा निकै रुचाएको पाइन्छ । मेटल बेल्ट विशेष गरी टिनएजर्सको रोजाइमा पर्ने बताउँछन्, मख्खनका व्यापारी रितेश कुमार । सादा गोल्डेन रंगको मेटल बेल्टलाई प्लेन कलरको वान पिसमा सुहाउने भएर विशेष वान पिसको लागि किन्न आउने उनी बताउँछन् । ‘मेटलको बेल्टमा बुट्टा भरेको, पथ्थर भएको बेल्ट पनि हुन्छ । तर, सादा नै किन्न आउने गर्छन्,’ उनले भने । विदेश जाने युवतीहरूले एकमुष्ठ बेल्ट लिन आउने त्यसमा पनि मेटल बेल्ट मनपराउने उनले बताए । मेटल बेल्ट सेन्तेथिक मेटरियलको प्रयोग गरेर तयार पारिन्छ । बजारमा मेटल बेल्ट चार सय ५० रूपैयाँ पर्ने व्यापारी बताउँछन्।
क्याजुअल बेल्ट
क्याजुअल बेल्टमा प्रायः यही बेल्ट भन्ने छैन । आफूलाई लगाउँदा आरामदायी हुने बेल्टको नै प्रयोग गरेको पाइन्छ । क्याजुअल बेल्टका लागि कालो र खैरो रंगको बेल्ट बढी प्रयोग हुने व्यापारी रितेश बताउँछन् । अफिस, कलेज लगायतका ड्रेसहरूमा यसको प्रयोग गरेको पाइन्छ।
न्युरोडस्थित अमित गार्मेन्टकी सुजाता तामाङका अनुसार सादा रंगको बेल्ट जिन्सको पेन्ट, हाफ पेन्ट, क्वाटरलगायत अफिसका ड्रेसमा बढी प्रयोग गर्ने बताइन् । उनले भनिन्, ‘क्याजुअल बेल्ट प्राय हरेक ड्रेसमा सुहाउँछ, ड्रेस अनुसार राम्रो देखाउँछ ।’ क्याजुअल बेल्टको मूल्य तीन सय ५० रूपैयाँबाट सुरु हुने उनी बताउँछिन् ।
लेदर बेल्ट
बजारमा विभिन्न थरिका बेल्ट पाइन्छन् । ड्रेस अनुसारको बेल्ट लगाउने चलन निकै बढेको छ । विशेष गरेर प्राइभेट कम्पनीमा कार्यरत महिलादेखि कलेज पढ्ने युवतीले ड्रेसमा लगाएको पाइन्छ । कालो र खैरो रंगको लेदरको बेल्ट पुरुषहरूले पनि प्रयोग गर्छन् । लेदरको बेल्ट प्रायः कामकाजी महिलाको रोजाइमा पर्ने अमित गार्मेन्टकी सुजाता तामाङ बताउँछिन् । लेदर बेल्टको मूल्य पाँ सय रूपैयाँबाट सुरु हुने उनी बताउँछिन्।
एनिमल प्रिन्टेड बेल्ट
एनिमल प्रिन्टेड बेल्ट विशेष गरी चितुवाको छालाको प्रिन्टमा बढी चलेको पाइन्छ । प्रायः नाइट पार्टीमा रमाउनेहरू फेसनको रूपमा एनिमल प्रिन्टेड बेल्टको प्रयोग गरेको पाइन्छ । सादा वान पिस, लंग स्विटर, जम्पसुट, स्कार्फलगायतका लुगामा एनिमल प्रिन्टेड बेल्ट लगाउँदा फेसनेबल देखिन्छ । एनिमल प्रिन्टेड बेल्टको मूल्य चार सय ५० रूपैयाँमा उपलब्ध हुने व्यापारी बताउँछन्।
रोप वयभ्स् बेल्ट
रोप वयभ्स् बेल्ट हरेक पहिरनमा लगाउन मिल्ने बताउँछिन्, व्यापारी मनिला महर्जन । ‘अहिले बजारमा चलेको ड्रेसहरूमा यो रोप वयभ्स बेल्ट निकै चलेको छ,’ उनले भनिन् । हलुका र आकर्षक बाटिएको डोरीको आकारको बेल्ट लंग सर्ट, हाइवेस्टेड स्कर्ट, लंग स्कर्ट, सर्ट, आउटरमा प्रयोग गर्दा निकै फेसनेबल मानिन्छ । रोप वयभ्स बेल्ट हलुका हुने भएकाले यसप्रतिको आकर्षण बढेको व्यापारी बताउँछन् । यसको बजार मूल्य ३ सय ५० रूपैयाँ पर्ने व्यापारी बताउँछन्।
हेन्ड मेड बेल्ट
हेन्ड मेड बेल्ट पर्यटकीय स्थलमा देख्न सकिन्छ । कपडा, धागो, अल्लोबाट तयार गरिएको हेन्ड मेड बेल्ट जाडो र गर्मी दुवै मौसममा लगाउन सकिन्छ । हेन्ड मेड बेल्ट सदाबहार फेसनेवल हुने भएकाले यसलाई हरेक डिजाइनका लुगामाथि पनि लगाउन सकिन्छ । नेपालमा तयार पारिएको हेन्ड मेड बेल्ट पर्यटनको विशेष रुचि रहेको व्यापारी बताउँछन् । बजारमा हेन्ड मेड बेल्टको मूल्य ६ सय रूपैयाँ बाट सुरु हुने व्यापारी बताउँछन्।
प्रकाशित: १५ आश्विन २०७५ ०६:४५ सोमबार