८ वैशाख २०८१ शनिबार
अन्य

बिमस्टेकमा टालिएका सडकक फेरि उस्तै

सरकारी निकायको कमजोर कार्यशैलीका कारण राज्यको ढुकुटी कसरी स्वाहा हुन्छ भन्ने प्रमाण केही समयअघि कालोपत्रे गरिएको सातदोबाटो सडकखण्डले देखाएको छ । गत भदौ १४ र १५ गते भएको बिमस्टेक सम्मेलनका लागि यो सडक रातारात कालोपत्रे भएको थियो । जिल्ला सडक डिभिजन कार्यालय ललितपुरले कालोपत्रे गरेको यो सडकको रूप त्यतिबेला चिल्लो देखिन्थ्यो । तर, मुख्य सडकको त्यो चिल्लोपना धेरै समय टिकेन । भदौ ४ मा कालोपत्रे गरेको सडक १६ गते भत्किएर पुरानै अवस्थामा पुगेको थियो । गुणस्तरीय सडक मर्मत नभएपछि एक महिनामै सडक भत्किएको हो।

कोटेश्वर–कलंकी सडकखण्डमा पर्ने यो सडकलाई उपत्यकाको नमुना सडक पनि भनिन्छ । डिभिजनले सम्मेलनका लागि भनेर मर्मत गर्दा करिब ६ लाख रकम खर्च भएको जनाएको छ।

त्यतिबेला हतारमा काम गर्नुपर्ने अवस्था थियो। सडक विभागको आदेश अनुसार काम गर्नुपरेकाले त्यसमा हामीले कुनै गृहकार्य गर्न पाएनौं।

कालोपत्रे उप्किएपछि सातदोबाटो चोकको अवस्था बेहाल छ। चारैतिरका सवारी लाम लाग्ने उक्त चोकको बीचमा बडेमानका खाल्डा छन् । खाल्डाका कारण जाम बढेको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेंथुले जानकारी दिए । उनका अनुसार सडक बिग्रिएपछि सवारी जामको समस्या पनि बढ्छ । ‘सडक बनाउँदा ध्यान नदिएका कारण त्यसको केही दिनमै बिग्रियो,’ उनले भने, ‘यसले ट्राफिक जाम हल गर्न समस्या भएको छ ।’ उनका अनुसार सडक खाल्डाखुल्डी भएपछि गोदावरी, लगनखेल, ग्वार्को, एकान्तकुना हुँदै आउने सवारी चोकमा आएपछि केही समय जाममा पर्छन् । ट्राफिक प्रहरीले मात्रै चाहेर मात्रै ट्राफिक जाम कम नहुने उनको भनाई छ । उनले गोदावरी जाने सडक पनि बिग्रिएर ट्राफिक व्यवस्थापनमा कठिनाई आउने गरेको जानकारी दिए।

सम्मेलन नजिकिँदै गर्दा वर्षाको प्रवाह नगरी खाल्डाखुल्डी पुरिएका थिए । सडक कालोपत्र गर्दा पानी परिरहेको थियो ।
डिभिजन सडक कार्यालयका प्रमुख प्रकाशचन्द्र भण्डारीले उतिबेला हतार भएकाले काम गुणस्तरीय नभएको स्वीकारे । उनले पानीमाथि टाल्दा र कालोपत्रे गर्दा बिग्रिएको बताए । ‘त्यतिबेला हतारमा काम गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘सडक विभागको आदेश अनुसार काम गर्नुपरेकाले त्यसमा हामीले कुनै गृहकार्य गर्न पाएनौं।’

उनका अनुसार बिमस्टेकको बेला कालोपत्रे भएका सडकको मापदण्ड पनि कमजोर नै छ । त्यतिबेला २० एमएमको पीच गरिएको छ।

सम्मेलनका बेला पुलदेखि एकान्तकुना, पुल्चोक, मंगलबजार, राजदूतावास वरिपरि, झम्सीखेल, शशिभवन जाने सडकम पनि पिच गरिएका थिए । यी सडक पनि अहिले खाल्डाखुल्डीमा परिणत भएका छन् । ‘खाल्डाखुल्डी र भ्वाङमा पाहुना नपरून् भन्ने हिसाबमा काम भएको थियो,’ भण्डारीले भने, ‘त्यसैले पनि छिटो बिग्रिएको हो ।’ उनका अनुसार बिमस्टेकको बेला डिभिजन सडकले सात हजार स्क्वायर मिटर सडक टाल्न र केही ठाउँ कालोपत्रे गर्ने काममा करिब ६० लाख बजेट खर्च गरेको थियो।

प्रकाशित: १५ आश्विन २०७५ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App