coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठूला चाडपर्वमा रेमिटेन्सको ओइरो

काठमाडौं– दसैं, तिहार, छठ लगायत ठूला चाडपर्वमा सरदरभन्दा निक्कै बढी रेमिटेन्स आउने गरेको छ । विदेश बस्नेले चाडवाडमा घर खर्चका लागि परिवारलाई बढी खर्च पठाउने भएकाले पनि रेमिटेन्स बढ्ने गरेको रेमिटेन्स कम्पनीहरु बताउँछन् ।

ठूला चाडपर्वमा अन्य महिनाको तुलनामा झन्डै दोब्बर रेमिटेन्स भित्रने बेस्ट रेमिट नेपाल प्रालिका बिजनेस डेभलपमेन्ट तथा अपरेसन मेनेजर प्रदिप श्रेष्ठले बताए । ‘ठूला चाडपर्वमा बढी खर्च हुने भएकाले रेमिटेन्स पनि त्यसबेला बढी पठाउने गर्छन्,’ उनले भने, ‘दसैं, तिहार र छठ जस्ता ठूला पर्वमा धेरै रकम घरायसी (नाना, खाना) मा खर्च हुने गरेकाले पनि विदेशमा बस्ने आफन्तले बढी रकम पठाउने गरेका हुन् ।’
विशेषगरी चाडपर्वमा रेमिटेन्स बढी भित्रिने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । दसंैको पूर्वसन्ध्यामा रेमिटेन्सको बाढी नै आउने गरेको उनको भनाइ छ ।

असोज र कात्तिकमा नेपालीको ठूलो पर्व दसैं, तिहार, छठ तथा इद जस्ता पर्व पर्ने भएकाले पनि रेमिटेन्स बढ्ने अर्थविदको भनाइ छ ।
जेएमई रेमिटका अध्यक्ष दिपेन्द्र जोशी पनि ठूला चाडपर्वमा बढी रेमिटेन्स आउने गरेको स्वीकार्छन् । उनले भने, ‘अन्य महिनाभन्दा ठूला चाडपर्वमा बढी रेमिटेन्स भित्रिन्छ ।’ चाडपर्व मनाउन बढी नेपाली आउने भएकाले उनीहरूले वर्षभर कमाएको रकम पनि ल्याउने गरेको अर्थविदहरूको भनाइ छ ।

हुन्डीलगायत अनौपचारिक माध्यमबाट पनि रकम भित्रिने गरेको छ । अनौपचारिक माध्यमबाट आउने रकम जोड्ने हो भने ठूला चाडपर्वमा अझै धेरै रकम भित्रने अर्थविद बताउँछन् ।

विदेश बस्ने आफन्तले चाडपर्वमा मात्रै होइन, आपतविपतमा पनि रेमिटेन्स पठाउने गरेका छन् । २०७२ वैशाखको विनाशकारी भूकम्पपछि रेमिटेन्स निकै बढेको राष्ट्र बैंकको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएकाले घरपरिवारलाई रकम पठाउन थालेपछि भूकम्पपछि रेमिटेन्स परिमाण बढेको थियो । भूकम्पका कारण क्षति पुगेका जिल्लाका अधिकांश पीडित परिवारका सदस्यले घर मर्मत तथा नयाँ निर्माणका लागि पैसा पठाएका थिए ।

भूकम्पपछि युवा विदेशिने क्रम बढेसँगै केही महिनामा रेमिटेन्समा पनि वृद्धि भएको थियो । तर, त्यो क्रम अहिले क्रमशः कम हुँदै गएको छ ।
भूकम्पपछि भित्रिएको रेमिटेन्स धेरैजसो पुनर्निर्माणमा खर्च भएको वैदेशिक रोजगारीमा गएकाका आफन्त बताउँछन् । केहीले भने विदेशमा कमाएको पैसाले व्यापार, व्यवसाय समेत गर्दै आएका छन् ।

काम गर्ने उमेरका सर्वसाधारण स्वेदशमा भनेजस्तो काम र दाम नपाइने भन्दै रोजगारीको विकल्पको रुपमा विदेश जाने गर्छन् । मुख्य गरी दक्षिण कोरिया र हङकङबाट हुन्डीबाट बढी रकम भित्रिने गरेको छ । कोरियामा काम गर्ने कामदारले वैधानिक रेमिटेन्स कम्पनीबाट पैसा पठाउँदा महँगो पर्ने भएको हुनाले हुन्डीको प्रयोग गर्नुपरेको रेमिटेन्स कम्पनीहरु बताउँछन् ।

हाल नेपालमा ४७ भन्दा बढी रेमिटेन्स कम्पनी छन् । त्यसमध्ये १५ वटाले विभिन्न देशबाट रेमिटेन्स भिœयाइरहेका छन् । तीमध्ये पनि इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) अग्रस्थानमा छ । त्यस्तै प्रभु, सिटी एक्सप्रेस, बेस्ट रेमिट, संसारा, वेस्टर्न युनियन, जेएमई, मनिग्राम लगायत कम्पनीले बढी रेमिटेन्स भिœयाउने गरेका छन् ।

रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ । अहिले रेमिटेन्स कम्पनीले मात्रै होइन, वाणिज्य बैंकले पनि रेमिटेन्स भिœयाइरहेका छन् । २८ वाणिज्य बैंकमध्ये अधिकांशले नेपालमा रेमिटेन्स भिœयाइरहेका छन् । नेपालमा वाणिज्य बैंकमध्ये हिमालयन बैंकले पहिलोपटक हिमाल रेमिट सुरु गरेको थियो ।

अहिले प्रायः सबै वित्तीय संस्थाको रेमिटेन्स मुख्य कारोबार बनिसकेको छ । रेमिटेन्समा वाणिज्य बैंकको बढ्दो उपस्थितिसँगै सेवा र सुविधामा तीव्र प्रतिस्पर्धा छ । यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ ।

कामदारको कमाइ सुरक्षित रूपले परिवारसम्म पुगेको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट आएको पैसा लिन सहज भएको छ ।

सन् २००८ यता कोरियाले कृषि, पशुपालन र निर्माणका लागि नेपाली कामदार लैजान सुरु गरेको हो । आम्दानी बढी हुने भएकाले कोरियाबाट बढी रेमिटेन्स नेपाल भित्रिने प्रवक्ता पंगेनीको भनाइ छ ।

नेपालले युवायुवतीलाई श्रम स्वीकृति दिएर २०४२ सालदेखि विदेश पठाउन थाले पनि दोस्रो आन्दोलनपछि बिदेसिनेको संख्या तीव्र रुपले बढेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।

स्वदेशमा रोजगारीको अवसर नहुँदा यतिखेर श्रम स्वीकृति लिएर मलेसिया, खाडी लगायत मुलुकमा दैनिक सरदर १५ सय युवायुवती जाने गरेका छन् । श्रम स्वीकृति नलिई चोर बाटो हुँदै विदेश पस्नेको संख्या जोड्ने हो भने बिदेसिनेको संख्या अझै बढ्छ ।

 

प्रकाशित: ४ आश्विन २०७३ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App