७ वैशाख २०८१ शुक्रबार
अन्य

कैलाश डाँडामा व्यायाम गर्नेको घुँइचो

गत शनिबार कैलाश डाँडामा शारीरिक व्यायाम गर्दै सर्वसाधारणहरू। तस्बिर : श्याम राई/नागरिक

कोही दौडिँदै थिए त कोही ब्याटमिन्टन खेल्दै । एक हुल फुटबल खेलेर आनन्द लिँदै थिए । युवादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्ति त्यहाँ देखिन्थे । भुइँ वा बेन्चमा बसेर योग अभ्यास गर्नेको पनि भीड उस्तै थियो।

पशुपतिनाथ मन्दिर नजिकैको कैलाश डाँडामा गत शनिबार देखिएका दृष्य हो यो । यस क्षेत्रमा बिहान–बेलुका व्यायाम गर्नेको भीड लाग्ने गरेको छ।

शरीर फूर्तिलो बनाउन हरेक दिन यहाँ आउने गरेको चावहिल बस्दै आएका २० वर्षीय कुशल सापकोटाले बताए । ‘पैसा तिरेर जिम गर्न जानुभन्दा यहाँ व्यायाम गर्नु नै राम्रो लाग्छ,’ उनले भने, ‘प्रकृतिको काखमा बसेर व्यायाम गर्नुको बेग्लै मज्जा छ।’

यहाँ ब्रिटिस सेनामा भर्ना हुन चाहने युवा पनि देखिन्थे । तीनैमध्येका एक थिए– १८ वर्षीय कैलाश मगर।

एक वर्षदेखि ब्रिटिस आर्मीको तयारी गरिरहेका उनी हरेक दिन दौड्न यहाँ आउने गरेका छन् । ‘लाहुर ट्रेनिङको लागि सधैं यही डाँडामा आउने गर्छु,’ उनले भने । ट्रेनिङ पास गरी लाहुरे बन्ने लक्ष्य रहेको उनी बताउँछन् । पछिल्लो समय यो व्यायाम स्थल बनेको उनले बताए।

व्यायाम गर्न आउनेको चाप बढेपछि यहाँ ठेला व्यापार पनि चलेको छ । उक्त ठाउँमा गौरीघाटकी ३२ वर्षीय सुनिता चौधरी चटपटे बेच्छिन्।

‘भीडभाड बढेकाले चटपटेको व्यापार पनि बढेको छ,’ उनले सुनाइन् । ‘यस ठाउँमा दिनको १५ सय जति कमाई हुन्छ,’ उनले भनिन्, ‘पैसा कमाउनलाई विदेश जानुपर्छ भन्ने छैन, सीप भए नेपालमै जति नि पैसा कमाउन सकिन्छ।’

उनका अनुसार त्यही ठाउँको ठेला व्यापारले उनको परिवार धान्न सकेको छ । उनको तीन जनाको परिवार छ । दिनको १५ सयको दरले महिनामा उनी ४५ हजार रूपैयाँसम्म कमाउँछिन्।

नेपालमै यति धेरै पैसा कमाउन सकेपछि अरुले पनि यसरी नै पसल गरेमा सजिलैसँग जीवन निर्वाह गर्न सकिने उनको भनाई छ । डाँडाको बीचबीचमा ५ भन्दा बढी शिवलिंग देखिन्छन् । यहाँको प्राकृतिक सौन्दर्यले जो कोही पनि आकर्षित हुने गरेको स्थानीय बताउँछन्।

यो क्षेत्र करिब ७० रोपनीमा फैलिएको छ । कैलाश डाँडामा बाला चतुदर्शीका दिन मेला लाग्ने गर्छ । यस दिन छोराछोरीले दिवंगत भएका आमाबाबुको आत्माको चीर शान्तिको कामनाको लागि सतबिज छर्ने गर्छन्।

प्रकाशित: १५ आश्विन २०७५ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App