चाडबाडको नारीतन्त्र

सोमबार, १५ असोज २०७५, ०९ : ३९ शुभेच्छा विन्दु तुलाधर

हिन्दू महिलाहरूको महान् चाड तीज सदाझैँ  यस पटक पनि अनेक प्रश्नहरू छोडी समाप्त भयो । नेपालमा मनाइने सयौँ पर्वहरूमध्ये तीज नै एउटा त्यस्तो पर्व हुनुपर्छ जसको हरेक वर्ष बहस सुरु हुन्छ, फेरि सेलाउँछ र फेरि अर्को साल पुनः बहस आरम्भ हुन्छ । यस पटक पनि त्यस्ता धेरै बहसहरू सतहमा आएको देखियो जसको उत्तर यदि खोज्ने हो भने समाजको रूपान्तरणलाई धेरै हदसम्म सहयोग पु-याउने निश्चित छ । यो बहस किन पनि आरम्भ हुन्छ भने वर्षमा एक दिन मात्र मनाइने पर्व भनिए पनि महिना दिन अघिदेखि नै यसको रमझम सुरु भइसक्छ र सामाजिक सञ्जालका भित्ताहरू रंगिन थालिसक्छ । यति मात्र होइन, सरकारी एवं गैर सरकारी कार्यालयहरू पनि यही बेला काम गर्ने थलो भन्दा पनि नाचगान गर्ने डबली बन्न पुग्छन्।

सरकारी एवं गैरसरकारी कार्यालयहरूमा समेत महिनौँ अघिदेखि मच्चिने तीजको रहरमाथि पनि अहिले प्रश्न उठ्ने गरेको छ । सबैभन्दा पहिले त सरकारी एवं गैरसरकारी संस्था यसरी तीज जस्तो धार्मिक सांस्कृतिक गतिविधि गर्न मिल्ने ठाउँ हो कि होइन ? तीज एउटा धार्मिक सांस्कृतिक पर्व भएको कारणले यो कहाँ र कसरी मनाउने भन्ने स्थान र समय पनि निर्धारण गरिएको छ । यो धार्मिक सांस्कृतिक स्थानहरूमै मनाउने पर्व हो । पशुपतिमा नाच्नुपर्ने नाच कुनै सरकारी कार्यालयमा नाचिन्छ भने त्यो पक्कै पनि अशोभनीय नै देखिन्छ । तीजमा पनि त्यस्तै भएको छ। कार्यालयहरूमा तीज मनाउनु कुनै पनि हिसाबले राम्रो लाग्दैन । कार्यालय त कार्य गर्ने थलो हो । त्यहाँ कसरी नाचगान गर्न मिल्छ ? तीज मनाउने कार्यले कार्यालय बिदा त हुँदैन तर बिदा नभए पनि काम भने हुँदैन । कार्यालय खुल्नु तर काम नगर्नु, के कुनै पनि कार्यसम्बन्धी आचारसंहिताले यसो गर्न अनुमति दिन्छ ? कति सेवाग्राहीको त्यही बेला काम गराउनुपर्ने हुन्छ । भोलि भन्न नमिल्ने अवस्था परेको हुन सक्छ । अहिले जमाना कति द्रुत भइसक्यो भने एकदिनको ढिलाइले जीवनकै गाडी छुट्नसमेत बेर लाग्दैन । तीजको लहरले सेवाग्राहीको त्यो गाडी पनि छुटाइदिन सक्छ।

अर्को कुरा, तीज मनाउन महिलाहरूले त्यसरी कार्यालय नै कब्जा गर्दा पुरुष सहकर्मीको मनमा कस्तो भावना उत्पन्न होला ? त्यसबारे पनि कहिल्यै सोचेको देखिएन । तीजका बेला कहिले पर्व मनाउने त कहिले दर खाने भन्दै नाचगान गर्नुलाई महिलाहरूले आफ्नो अधिकार ठान्छन् । महिलालाई अधिकार नपुगेको त हो । तर उनीहरूलाई चाहिएको अधिकार भने तीजमा नाच्नु होइन । अधिकार नपुगेको कार्यालयमा नाच्नलाई होइन । यसले गर्दा महिलाले अनावश्यक ठाउँमा पनि सुविधा र सहुलियत लिइरहेको देखिन गएको छ, खास गरी पुरुषलाई।

तीज मनाउने नाममा महिनौँदेखि महिलाहरू यसरी व्यस्त हुँदा एकातिर  सहकर्मीहरूले प्रश्न उठाउने त छँदै छ अर्काेतिर आफ्नो व्यावसायिक जीवनमा पनि असर परिरहेको हुन्छ । यतिकै त हरेक क्षेत्रमा महिलाका कार्यक्षमतामाथि प्रश्नचिन्ह खडा गरिरहेको हुन्छ भने यसरी महिलाले एकदिनको चाडपर्वलाई महिनौँदेखि उत्सवका रूपमा मनाइरहँदा कार्यक्षमताको विकास गर्नेमा ह्रास आउने निश्चित छ । कार्यक्षमतामाथि प्रश्न खडा गर्नेहरूलाई पनि मलजल नै पु-याउँछ । तीज आउने एक डेढ महिना अघिदेखि नै कतिपय कार्यालयहरू, चाहे सरकारी कार्यालय होस् चाहे निजी तीजमय नै भएको देखिन्छ । यतिसम्म कि समाजमा रूपान्तरण चाहने मिडिया हाउसहरूले समेत यसलाई प्रश्रय दिइरहेको छ । आफूहरू नै प्रत्यक्ष रूपमा यस्ता क्रियाकलापमा सहभागी भएर प्रोत्साहन दिइरहेका छन् । पराम्परागत चाडपर्वलाई उत्सवका रूपमा महिनौँदेखि मनाउन थालेपछि प्रत्येक वर्ष विवाद चुलिए सँगसँगै चाडपर्वप्रति नै नकारात्मक धारणाको विकास पनि बढिरहेको छ।

महिनौँदेखि व्यस्त रहेर विभिन्न कोणबाट मनाइरहेको तीज पर्वमा पञ्चमीको दिन पाप पखाल्नेसम्मको क्रिया गरिन्छ । तर कुनै पनि रूपान्तरण चाहनेहरूले महिलाको रजस्वलालाई पापको रूपमा व्याख्या गरिरहँदा पञ्चमीलाई पनि बहिष्कार गरौँ या यसलाई बन्द गर्नुपर्छ भन्ने आवाज कहीँकतै सुनिँदैन। यसपटक पहिलोचोटि नेपाल सरकारले पञ्चमीको दिन बिदा कटाएर अग्रगामी निर्णय ग-यो । तर कसैले यो पर्व अब हामी मनाउँदैनौँ भनेर भन्न सकेनन् । उही बिरालोको घाँटीमा घन्टी बाँध्ने कामले निरन्तरता नै पायो।

वास्तवमा तीज पर्व भनेको उनीहरूको घरमा गएर महिलाको अवस्था बुझ्नका लागि र माइती ल्याएर समस्या अझ नजिकबाट महसुस गर्नका लागि मनाइएको पर्वका रूपमा बुझ्न सकिन्छ । न कि श्रीमान्को आयु वा अरु कसैको आयुका लागि बस्ने व्रत हो । गम्भीर रूपमा हेर्ने हो भने देशको रूपान्तरण चाहने र महिलाको हरेक क्षेत्रमा महिलाको दु्रत गतिमा विकास चाहने महिलाहरू स्वयं चाहे सांसद होस्, महिला अधिकारकर्मी होस्, सञ्चारकर्मी होस् सबै सबै उही परम्परागत भूमिकामा यो पर्वलाई मनाउन उत्साहित भइरहेको छ । उनीहरूले तीजका नाममा  विभिन्न नेताहरूलाई बोलाएर कार्यक्रमहरू गरी नाचगान गर्ने र फेसबुकका भित्ताहरूमा राखिएका तस्बिरहरूले यही पुष्टि गर्छ।

तीजको सांस्कृतिक पक्षलाई हेर्ने हो भने आफ्ना वेदना पोख्न विभिन्न लोकभाकामा आफ्ना वेदना पोख्ने पर्वका रूपमा पनि व्याख्या गरिएको छ भने अहिले आएर तीजलाई महिला स्वतन्त्रताको दिवसका रूपमा पनि लिन थालिएको छ । यदि यो मान्यतालाई मान्ने हो भने महिनौँदेखि विभिन्न होटल तथा पार्टी प्यालेसमा जम्मा भएर आधुनिक र हिन्दी गीतमा नाचगान गर्ने र दर खाने प्रचलन व्यापक रूपमा बढ्दै गइरहेको अवस्थामा कसरी वेदना पोख्ने वा स्वतन्त्रता दिवस भनेर मान्न सकिन्छ ? दर खाने र खुवाउने नाममा गरिने ठूला भोजहरूमा हुने खर्चले के सन्देश दिइरहेको छ ? साँच्चै यसले महिलाको नेतृत्व विकास गरेकै छ त ? वा महिलाको व्यक्तित्व र व्यावसायिक विकास?

यसरी तीज मनाइरहँदा न यसले सांस्कृतिक रूपान्तरण गर्न सक्छ न महिलाको नेतृत्व विकास नै । संस्कृति भन्ने कुरा पुस्तान्तरण हो । तर जुन रूपमा अहिले तीज पर्व मनाइरहेको छ, के साँच्चै यसले नयाँ पुस्तामा नयाँ सन्देश र रूपान्तरण भइरहेको छ त ? आमाले रातो साडी लगाउँदा, ओठमा लाली, हातमा रातै चुरा र टाउकोमा रातो धागो लगाउँदा आठ नौ वर्षको छोरीले पनि त्यही सिको गरेर त्यसरी नै पहिरनमा उभिने बाहेक अरु के कुरा सिक्न सक्लान् ? के यसैलाई हामीले रूपान्तरण भएको भनेर मान्ने हो वा पुस्ता पुस्तान्तरण भनेर मान्ने ? यदि तीजलाई पुरातन शैलीमा मनाइन्छ भने यसले नयाँ पुस्तालाई पनि त्यही पुरातन कुरा मात्रै सिकाउँछ । अर्को पुस्तालाई समेत अग्रगामी बनाउन नसकिने संस्कार बोकेर नारा मुक्तिको गाथा गाउनुको के अर्थ ? नारी मुक्ति अघि बढ्नलाई हो । पुरानो कुसंस्कार बोक्नलाई होइन । कुसंस्कार बोक्न कोही पनि मुक्त हुनु पर्दैन । त्यसका लागि बन्धन नै पर्याप्त छ।

संस्कृतिले आजको युगलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम गर्छ । निर्णय हामी आफैं गरौँ, तीजलाई अग्रगामी युग हस्तान्तरण गर्ने अवसर बनाऔँ वा कुपोषणयुक्त युग पुस्तालाई बोकाएर  आफू पलायन हुने बाटो बनाऔँ !





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad