coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा खेल्दै गरेका कृत्रिम गर्भाधानबाट जन्मिएका सिंहका बच्चाहरु । तस्बिर : एजेन्सी

ब्रिट्स (एजेन्सी) – दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुइवटा बच्चा फुर्तिका साथ खेलिरहेको देख्न पाइन्छ। तर यी बच्चा विशिष्ट किसिमका छन्। ‘यी बच्चा कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,’ प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ। सो विश्वविद्यालयका वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन् प्रणालीबारे अध्ययन गरिरहेका छन्।

‘सिंहले गत अगस्ट २५ मा दुइवटा बच्चा जन्मायो, एउटा भाले र अर्को पोथी । दुवै बच्चा स्वस्थ र सामान्य छन्,’ विश्वविद्यालयका अनुसन्धान निर्देशक आन्द्रे ग्यान्सविन्टले बताए। उनको टोलीलाई १८ महिनाको गहन परीक्षणपछि यस्तो सफलता प्राप्त भएको हो । ‘हामीले सुरुमा स्वस्थ सिंहबाट विर्य संकलन गरेका थियौं,’ ग्यान्सविन्टले भने।

त्यसपछि पोथी सिंह गर्भाधानका लागि योग्य भएपछि कृत्रिम रूपबाट गर्भाधान गराइएको थियो । ‘भाग्यवस, यो सफल भयो,’ ग्यान्सविन्टलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।‘ विगतमा पनि धेरैपटक प्रयत्न गरिएका थिए, तर यस पटक आश्चर्य भयो, धेरै मिहिनेत गर्नुपरेन,’ उनको भनाइ छ । उनले यो सफलतालाई विस्तार गर्न सकिने समेत बताएका छन् । वैज्ञानिकले यो विधिलाई प्रयोग गरी अन्य शंकटमा रहेका बाघ, सिंह, चितुवाजस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन्।

अफ्रिकाका २६ वटा मुलुकबाट सिंह बिलुप्त भइसकेका छन् र सिंहको संख्या दुई दशकभित्रै करिब ४३ प्रतिशतले घटेको छ । अहिले विश्वभर करिब २० हजार सिंह मात्र बाँकी रहेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । संघले अफ्रिकी सिंह सबैभन्दा जोखिममा रहेको बताएको छ।

‘हामीले अहिल्यै केही गरेनौं भने यहाँका सिंह बिलुप्त हुन्छन्,’ ग्यान्सविन्टलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उनले सिंहलाई नै एक ठाउँबाट अर्को ठाउँमा प्रजनन्का लागि लैजानुपर्ने अवस्थाको अब अन्त्य भएको बताए । नयाँ प्रविधिको प्रयोगमार्फत् अब सिंहको विर्यमात्र एक ठाउँबाट अर्को ठाउँमा लगे पुग्ने अवस्था सिर्जना भएको छ।

उत्तरी अमेरिका र युरोपमा समेत हात्तीको प्रजनन् गराउन यस्तै प्रविधि प्रयोगमा आउन थालिसकेको छ । सिंहमाथिको यो परीक्षण राजधानी प्रिटोरियाभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिमको उकुटुला संरक्षण केन्द्रमा गरिएको थियो । तर जीवजन्तुका क्षेत्रमा क्रियाशील संघसंस्थाले यो अनुसन्धानप्रति त्यति चासो दिएका छैनन् । ‘दक्षिण अफ्रिकी यो प्रविधिले नाफामुखी प्रवृत्ति निम्त्याउने खतरा देखिन्छ,’ बोर्न फ्री फाउन्डेसनका मार्क जोन्सले बताए । ‘यो विधिले सिंह जन्माउने, सिंहको शिकार खेल्ने तथा सिंहका हाडखोरको व्यापार हुने मात्र हो र यसले सिंहको संरक्षणमा केही पनि योगदान दिँदैन,’ उनले आरोप लगाए । १८ वटा अन्तर्राष्ट्रिय तथा अफ्रिकी संरक्षण संस्थाले वैज्ञानिकलाई एक पत्र लेखी अध्ययनप्रति विमती जनाएको एएफपीले उल्लेख गरेको छ।

प्रकाशित: १५ आश्विन २०७५ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App