८ वैशाख २०८१ शनिबार
प्रविधि

प्रविधिमा जोड दिँदै रत्ननगर नगरपालिका

रत्ननगर नगरपालिकाको कार्यालय। तस्बिरः सविता/नागरिक

चितवन - प्रविधि प्रयोगले जीवनयापनलाई सजिलो बनाएको छ। दैनिक गरिने काम, कारबाही र जानकारी लिनसमेत सहज हुने भएको भन्दै रत्ननगर नगरपालिकाले प्रविधि प्रयोगलाई जोड दिन थालेको छ। नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकाका काम, कारबाही र गतिविधिलाई प्रविधिमैत्री बनाउने प्रयास सुरु गरेको नगरपालिकाका मेयर नारायण वनले बताए।

नरपालिकाले इन्टरनेट र प्रविधि प्रयोग गरी सर्वसाधरणलाई दिने सेवा प्रभावकारी बनाउन लागेको उनले बताए । ‘सूचनाको क्षेत्रमा भइरहेको परिवर्तनले प्रविधि प्रयोग गर्न अनिवार्य सिक्नुपर्ने समय आएको छ,’ उनले भने, ‘नगरपालिकालाई प्रविधिमैत्री र पेपरलेस बनाउने योजनामा अघि बढिरहेका छौं।’ नगरपालिकाले बकुलरको बसपार्क, पिठुवाको पारिजात चोक, सौराहाको चरा चोक र ड्याम साइट, जिरौनाको धर्मधाममा ‘फ्रि वाइफाई’ सुविधा दिन सुरु गरेको छ । यो सुविधाले सर्वसाधरण र पर्यटकलाई इन्टरनेटका माध्यमबाट सूचना लिन सहज हुने उनी बताउँछन्।

इन्टरनेट र प्रविधि प्रयोग गरी सर्वसाधरणलाई दिने सेवा प्रभावकारी बनाउन लागेको नगरपालिकाका मेयर नारायण वनले बताए।

नगरपालिकालाई प्रविधिमैत्री बनाउन ‘रत्ननगर म्युनिसिपालिटी’ मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। प्रविधि प्रयोगलाई प्राथमिकता दिन नगरपालिकाले मोबाइल एप्लिकेसन तयार गरेको मेयर वनले जानकारी दिए। रत्ननगरपालिकाको परिचय, गृह नक्सा, सामाजिक सुरक्षा, कर्मचारी विवरण, सेवा प्रवाह कार्यविधि, वार्षिक कार्यक्रम लगायतका बारेमा एपबाट जानकारी लिन सकिने नगरपालिकाले जनाएको छ । नगरपालिका बोर्डका निर्णयहरू, योजनाहरू, सूचना, नगरपालिकाभित्र फोहोरमैला संकलन कार्यतालिका लगायतका बारेमा जानकारी एपमा राखिएका छन् ।

नगरपालिकामा रहेको कर तथा शुल्कहरू, नियम–कानुनबारे पनि जानकारी लिन सकिने सुविधा एपमा जोडिएको छ । नगरपालिकाका मेयर, उपमेयर तथा कर्मचारीहरू कार्यालयमा रहे नरहेको जानकारी एपबाटै लिन सकिन्छ । यसले कर्मचारी कार्यालयमा नरहेका बेला कार्यालयमा गएर पर्खेर बस्नुपर्ने बाध्यता हट्ने मेयर वनको भनाइ छ । नगरपालिका भित्रका पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, स्वास्थ्य क्षेत्र लगायतका बारेमा जानकारी दिने ४० वटा फिचर्स एपमा समावेश गरिएको छ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउन यस आर्थिक वर्षमा ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मेयर वनले जानकारी दिए । नगरपालिकाका प्रत्येक वडालाई अनलाइन सिस्टमसँग जोडिने उनले बताए।

प्रकाशित: १५ आश्विन २०७५ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App