coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

परम्परा टुटेको इन्द्रजात्रा

‘देवता र राक्षसरूपी शृंगारमा राजाको अघि नाच्दा आङै सिरिङ्ग हुन्थ्यो, राजाको सामुन्ने उभिएर नाच देखाउनु भनेको चानचुने पनि थिएन,’ इन्द्रजात्राका कलाकार राजेन्द्र श्रेष्ठले करिब ३० वर्ष अघिको इन्द्रजात्राको सम्झना गरे, ‘अहिले जात्रा झुर बन्दै गयो, समाजले यसलाई महत्व दिनै छाड्यो।’

उनको भोगाईमा आजभन्दा ३० वर्षअघिको इन्द्रजात्रा निकै मौलिक र सांस्कृतिक बन्थ्यो । राजाको उपस्थिति भएपछि वसन्तुपर पूरै गुञ्जायमान हुन्थ्यो । अरुबेला राजाको समीप नपरेका जनताको लागि राजासँगै बसेर रमाइलो गर्ने अवसर मिल्थ्यो । राजाको नजिक पर्ने हैसियत नभएका जनताले इन्द्रजात्रामा राजासँग दुखेसो पोख्थे । राजाले दिनभर जात्रा हेर्थे । र, जनताका समस्या सुन्थे।

‘नाच देखाउने बेला राक्षसको पहिरनमा सजिएको बेला राजाको नजिक गएर नाच देखाउने हामी थोरै थियौं,’ श्रेष्ठले भने, ‘राजा आएपछि वसन्तपुरको कुमारी घर अगाडिको डबलीमा मंगल धुन बज्थ्यो । सबैतिर रमाइलो देखिन्थ्यो, एकातिर सर्वसाधारण र अर्कातिर उच्च तहका व्यक्ति बस्थे । राजाको नजिक बस्न चाहनेका लागि पनि त्यो अवसर थियो।’

उनका अनुसार राजा त्रिभुवन, महेन्द्रको पालामा पनि राजाहरू इन्द्रजात्रामा सहभागी हुने गर्थे । २०४४ सालपछि राजा वीरेन्द्रले जनतासँगै बसेर जात्रा नियाल्ने मनसाय देखाएपछि इन्द्रजात्राको रौनक झनै बढेको थियो।

उक्त समय डबलीमा राजालाई देख्नेबितिकै जनताको अनुहार जोसिलो देखिन्थ्यो । राजाको उपस्थिति कति बेला होला भनेर कोही लालाहित भएर बसेका हुन्थे । राजा भित्रिएपछि जनताले धुमधाम रमाइलो गर्थे।

अनेक बाजाहरूको तालमा कोही नाचिरहेका हुन्थे । राजालाई देख्नेबित्तिकै आफ्नो संस्कृति देखाउन आतूर हुन्थे । राजाको उपस्थिति भएपछि वसन्तपुर क्षेत्र पूरै भरिभराउ हुन्थ्यो।

अर्को कलाकार राजन शाहीका अनुसार रातिको जात्रा हेर्न आउनेहरूको संख्याले कृष्ण मन्दिर क्षेत्र दिउँसै भीडभाड देखिन्थ्यो । इन्द्रजात्रालाई भगवान विष्णुको रूपमा पनि लिने चलन छ । राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको पालामा कुमारीको हातबाट पहिलो टीका राजालाई लगाइदिने चलन थियो । टीका लगाएपछि राजाले गद्दी बैठकबाट बसेर दश अवतार नाच हेर्थे । उनीसँग विदेशी पाहुना पनि हुन्थे । जात्रा हेर्न सार्क मुलुकका प्रमुखहरू आउँथें।

‘पहिलेको परम्परा र इन्द्रजात्राको माया टुटेको छ । यसले हाम्रो संस्कृतिलाई नकारात्मक असर पारेको हुन्छ,’ कलाकार शाहीले भने, ‘अहिले नाच खल्लो भएको छ, कसैले पनि नाचलाई हेरेनन् । निर्वाह र संस्कृति धान्न केहीले मात्रै इन्द्रजात्राभित्रका नाचलाई सहयोग गरेका छन् ।’ उनको भनाईमा राजाहरूको पालाका जात्रा चलाउन आर्थिक सहयोग हुन्थ्यो । राजाहरूले जात्रा पर्वलाई चासो दिन्थे । तर, समाज र राज्य फेरिँदै जात्रा त्यसप्रतिको आस्था र मोह हराउनु राम्रो नभएको अर्का कलाकार नवीन शाहीको भनाई छ । उनका अनुसार राजा गद्दी बैठकमा बस्नुपूर्व राष्ट्रिय धुन बज्थ्यो, आर्मी र गर्जुको पल्टनबाट सलामी दिइन्थ्यो । नायखी बाजा, पुलुकिसी, लाखे, दश अवतार लगायत कला राजासामु देखाउने चलन थियो । अहिले अन्य नाच नदेखाए पनि दश अवतार नाच राष्ट्रपतिसामु देखाउने चलन छ । ‘हामीले जानकारी पाए अनुसार इन्द्रजात्राको बेला नयाँ चाँदीको पैसा बनाइन्थ्यो, त्यसको सुरुवात राजाबाटै हुन्थ्यो । तर, यो चलन पनि हरायो,’ कलाकार शाहीले भने । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार राजाहरूको पालामा राजाका सव–परिवार आएर नाच हेर्ने गर्थे । गद्दी बैठक अघि रहेको माजुदेग मन्दिरमा सञ्चारकर्मीलाई राखिन्थ्यो । ‘अहिले जात्राका केही महत्वपूर्ण नाच र परम्परा हराएका छन्,’ शाक्यले भने, ‘माथिल्लो तहले चासो नदिँदा पछिल्लो समय जात्रा पर्व भत्कने अवस्था छन्।’

प्रकाशित: १५ आश्विन २०७५ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App