सुदूरपश्चिम राजधानी विवाद

तेघरी वनक्षेत्र खतरामा

सोमबार, १५ असोज २०७५, ०७ : १४ दिलबहादुर छत्याल/पुष्पराज जोशी

धनगढी - सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी–२ को जंगल मासेर भौतिक संरचना बनाउँदा समस्या हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। प्रदेशसभाले गोदावरी नगरपालिकाको चुरे फेददेखि तेघरीको भावर क्षेत्रसम्म तीन सय ५० हेक्टर जंगल फँडानी गरेर राजधानी बनाउने निर्णय पारित गरेपछि भूगोल र वातावरणविद्ले राजधानीका लागि सो क्षेत्र क्षेत्र उपयुक्त नभएको बताएका हुन्।

विज्ञहरूका अनुसार तेघरी जंगल चुरे, तराई र भारतको दुधुवा नेसनल पार्कसम्म विभिन्न प्रजातिका जनावर ओहोरदोहोर गर्ने जैविक मार्ग हो। त्यस्तै चुरे र तराई बीचमा पर्ने भावर क्षेत्र पानीको मुहान भएको क्षेत्र हो। वनविज्ञ रमेश चन्द सुदूरपश्चिमको राजधानी गोदावरीमा बनाउँदा भविष्यमा ठूलो संकट र समस्या आउने बताउँछन्। ‘जैविक मार्ग अवरुद्ध हुन्छ, भावर क्षेत्रमा जंगल मासिँदा पानी भण्डारण सुक्छ र बाढीले कटान गरेर जमिन बगरमा बदलिन सक्छ’, उनी भन्छन्। भारतको दुधुवा नेसनल पार्कसँगै जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गोदावरी करिडोर (तेघरी जंगल) भएरै वन्यजन्तुहरू आवतजावत गर्छन्। ‘पहाडका जीवजन्तु यही बाटो भएर तराई झर्ने र भारतका जीवजन्तु पनि शुक्लाफाटा निकुञ्ज भएर तेघरी जंगल हुँदै पहाड उक्लने गर्छन्,’ उनले भने। उनका अनुसार यो मार्गमा मृग, चितुवा, घोरल, नीलगाई, स्याल, ब्वाँसा आवतजावत गर्छन्। ‘यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग भएकाले पनि निकै महत्वपूर्ण छ,’ उनले भने, ‘त्यसैले जैविक मार्ग छुनु हुँदैन।’ चन्दका अनुसार चुरे फेदमा रहेको भावर क्षेत्र मान्छेको पेटजस्तै हो। ‘भावर क्षेत्रमा भण्डारण रहेकाले तराईमा कुवा खन्दा पानी आउँछ,’ उनी भन्छन्।

‘जैविक मार्ग अवरुद्ध हुन्छ, भावर क्षेत्रमा जंगल मासिँदा पानी भण्डारण सुक्छ र बाढीले कटान गरेर जमिन बगरमा बदलिन सक्छ। त्यसैले यो क्षेत्र मास्नु हुँदैन।’

चुरे र भावर क्षेत्र संकटमा परेको डोटी बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा भूगोलविद् दिलानन्द जोशी बताउँछन् । उनले भने, ‘चुरे र भावर क्षेत्रमा संरचना बनाउनु भौगोलिक दृष्टिले उपयुक्त हुँदैन।’ चुरे र भावर क्षेत्र अतिक्रमण हुँदा तराई क्षेत्रमा अनिष्ट निम्तने खतरा बढी हुने उनी बताउँछन्। ‘गोदावरीको फेद चुरेको जरा हो, त्यसपछिको जंगल भनेको भावर हो,’ उनले भने, ‘त्यहाँ भौतिक संरचना बनाउँदा भूकम्पीय जोखिमसँगै कमजोर धरातल भएकाले अत्यधिक जोखिम हुन्छ ।’ चुरे र भावर क्षेत्र बचाउनुपर्ने ठाउँमा प्रदेश सरकारले चुरे र भावर मासेर संरचना बनाउनु गलत भएको उनी बताउँछन्। ‘त्यहाँ राजधानी बन्दा सातआठवटा मन्त्रालय, विभाग, मन्त्री र कर्मचारीका निवास बन्लान्,’ उनले भने, ‘यति संरचना बनाउँदा चुरे र भावर क्षेत्र नासिन्छ, जसले गर्दा दीर्घकालीन रूपमा कैलाली–कञ्चनपुरको वातावरणमा असर पर्न जान्छ।’ यी दुई जिल्लाको चुरे र भावर क्षेत्र नजोगाए आगामी १०/१५ वर्षमै तराईमा तापक्रम उच्च भएर बस्नै नसकिने स्थिति आउन सक्ने उनले बताए । गर्मी मौसममा धनगढी र अत्तरिया क्षेत्रमा हेन्ड पम्पमा पानी सुक्न थालेको छ। उनले भने, ‘चुरे र भावर क्षेत्र विनाश भयो भने अझै खडेरीका साथै भूमिगत जलस्रोतको समस्या पर्ने निश्चित छ।’ उनले कैलालीको खानीडाँडादेखि गोदावरीको भावर क्षेत्र राजधानीका लागि उपयुक्त नभएको बताए।

भावर क्षेत्र मासिँदा तराई मरुभूमि बन्ने खतरा
कैलाली र कञ्चनपुरको चुरे र भावर क्षेत्र वातावरणका दृष्टिले निकै संवेदनशील रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यायका वातावरण विज्ञानका उपप्राध्यापक तथा वातावरणविद् तर्कराज जोशीले बताए। उनले भने, ‘तराई क्षेत्रको ‘ग्राउन्ड वाटर रिचार्ज’ हुने भनेकै चुरे र भावर क्षेत्र हो, त्यसैले चुरे र भावर क्षेत्र चलाउनु हुँदैन।’ चुरे र भावर भौगर्भिक दृष्टिले पनि अत्यन्तै संवेदनशील रहेको उनले बताए।

चुरे र भावर क्षेत्र नयाँ तथा कमजोर धरातल भएकाले त्यहाँ भौतिक संरचना बनाउनु उपयुक्त नहुने कैलाली बहुमुखी क्याम्पसका भूगोल विषयका प्रा.डा. लोकराज बिष्ट बताउँछन्। ‘चुरे र भावर क्षेत्र भनेको नयाँ र ढल्नै लागेको माटोको ढिस्को हो,’ उनले भने, ‘त्यस्तो धरातलीय अवस्था एकदमै कमजोर भएको स्थानमा भौतिक संरचना बनाइनु आफैंमा जोखिमपूर्ण हो ।’ वातावरणीय प्रभाव मूल्यांकन नगरी हचुवाका भरमा चुरे फेद र भावर क्षेत्रमा तोकिनु गलत भएको उनको भनाइ छ । प्रदेश सरकारले प्रदेश राजधानी बनाउने भनेको गोदावरी नदी किनार र जंगल क्षेत्र आफैंमा जोखिम रहेको अर्का भूगोलविद् तिलक पाण्डेय बताउँछन्। उनले भने, ‘अहिले पनि गोदावरी नदीको पानी ‘अन्डर ग्राउन्ड’ भइसकेको छ। भित्रभित्रै खोक्रो हुँदा प्रदेश राजधानी बन्ने स्थल भोलिका लागि निकै जोखिमपूर्ण हुन्छ।’ चुरेको फेद र भावर क्षेत्रको माटो कमजोर भएकाले गोदावरी नदीले भित्रभित्रै खोक्रो बनाइसकेको उनले बताए।

प्रदेश सरकारले तोकेको स्थायी राजधानी स्थल वातावरणीय हिसाबले जंगल क्षेत्र भएको पूर्वडिएफओ चन्द बताउँछन् । उनले भने, ‘वातावरणीय सामञ्जस्य नल्याई चुरेफेद र भावर क्षेत्र विनाश गर्दै लैजाने हो भने भोलिका दिनमा त्यसले नराम्रो स्थिति ल्याउने निश्चित छ।’ नेपालको भौगोलिक अवस्था सबैभन्दा माथि हिमाल, त्यसपछि महाभारत, चुरे क्षेत्र, भावर क्षेत्र हुँदै तराई क्षेत्र आउने भएकाले पनि सबै क्षेत्रको व्यवस्थापन गर्न भावर क्षेत्र जोगाउनु उपयुक्त भएको उनको तर्क छ। ‘तराईमा भूमिगत जलस्रोत र बाढीपहिरो नियन्त्रणका लागि चुरे फेद र भावरले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भने, ‘चुरे र भावरलाई हामीले सखाप गर्न थाल्यौं भने भोलि तराई मरुभूमि बन्ने निश्चित छ।’

‘जंगल मास्न हुँदैन’
तेघरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मदनराज शर्माले जैविक करिडोर रहेको तेघरी जंगल मासिँदा यहाँका बासिन्दालाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा घाटा हुने बताए। उनले भने, ‘हामीले २०५० सालदेखि यो जंगल जोगायौं । अहिले रातारात कटानी गर्ने कुरा आएपछि हामी दुःखी छौं।’ आफूहरूसँग प्रदेश सरकारले छलफल नगरेको जानकारी दिँदै अध्यक्ष शर्माले भने, ‘स्थानीय उपभोक्तासँग छलफल नगरी एकलौटी रूपमा वन फाँडेर राजधानी बनाउँछु भन्नु गलत हो।’

जंगलमा साल, सिसम, खयर, हल्दु, अमला, जामुन र रुइनाका रूख प्रशस्त रहेको अध्यक्ष शर्माले बताए। उनले भने, ‘अमला, हर्रो र बर्रो पनि यही जंगलमा पाइन्छ ।’ अहिले तराई क्षेत्रमा पाइने खयर विनाश भइरहेका बेला आफूहरूले तेघरी जंगलमा खयरका रूख जोगाएको जानकारी उनले दिए। उनले भने, ‘खयर महँगोमा बेचिने जडीबुटीअन्तर्गतकै एक प्रजाति हो, यो यहाँ प्रशस्त मात्रामा छ।’ तीन सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको जंगल प्राकृतिक विविधतासँगै जैविक करिडोर भएकाले संरक्षण गर्नुपर्ने उनले बताए।

वर्षाैंदेखि तेघरी जंगल जोगाएकै कारण गोदावरी नदीको कटानबाट तेघरी गाउँ जोगिएको उनले बताए। उनले भने, ‘यो जंगल मासिने हो भने तेघरी मात्रै हैन अत्तरियाको महेन्द्रनगर रोडका केही क्षेत्र कटानको उच्च जोखिममा हुन्छ।’ उनका अनुसार एक हजार घरधुरी तेघरी जंगलमै आश्रित छन्।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad