coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिडिओले खारेज गरे मन्त्री महासेठको निर्णय! सार्वजनिक यातायातमा पुरानै भाडादर कायम

यातायातको भाडा दर निर्धारणका लागि प्रशासनमा आयोजना गरिएको बैठकमा सहभागी ।

खोटाङ– मुलुकभर १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बृद्धि गरिएकोबेला खोटाङमा भने पुरानै भाडा दरलाई कायम राखिएको छ। १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बृद्धि गरिएसँगै असोज ९ गतेदेखि भाडा बढाइएको जिल्लामा केही समयपछि पुरानै भाडा दरलाई कायम गरिएको हो।

नजिकिँदै गरेको दशैं, तिहार र छठमा आवत–जावत गर्ने यात्रुलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले आइतबार बोलाएको यातायात व्यवसायी र प्रशासनको बैठकले केही समयअघि लागू गरिएको १० प्रतिशत भाडा बृद्धिलाई कायम नगरी पुरानै भाडा दरलाई यथावत राख्ने निर्णय गरेको हो। सरकार र यातायात व्यवसायीबीचमा मुलुकभर १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बढाउने सहमति भए पनि चाडपर्वलाई मध्यनजर गर्दै जिल्लामा साबिककै भाडा कायम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पाण्डेले बताए। 

असोज ९ गतेदेखि १० प्रतिशतले भाडा बढाएका यातायात व्यवसायी प्रशासनको पहलमा पुरानै भाडा दर कायम गर्न सहमत भएका हुन्। कतिपय यातायात व्यवसायीले भने पुरानो भाडा दरभन्दा पनि कम दरमा यात्रुलाई ओसार–पसार गर्न तयार रहेको बताएका छन्। सरकार र यातायात व्यवसायीबीचमा सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने सहमति भए पनि जिल्लामा सो अनुसार भाडा नबढाउने निर्णयले यात्रुलाई केही राहत मिलेको छ। दशैंतिहारको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि गरिएको भन्दै चौतर्फी बिरोध भइरहेको छ। 

प्रशासन र यातायात व्यवसायीको बैठकको निर्णय अनुसार बसबाट दिक्तेल–काठ्माडौं आवतजावत गर्न साविककै भाडा दर १ हजार २ सय, दिक्तेल–कटारी ८ सय, दिक्तेल–इटहरी १ हजार १५०, दिक्तेल–धरान १ हजार १७५, दिक्तेल–बिराटनगर १ हजार १७५ र दिक्तेल–काँकडभिट्टाका लागि १ हजार ३५० रुपैयाँ कायम भएको छ। जिल्लाका आन्तरिक सडकमा चल्ने सवारी साधनको भाडा दर पनि पुरानै कायम गरिएको पुर्व हलेसी रुपाकोट यातायात प्रालिका सञ्चालक राजकुमार राईले बताए। 

यस्तै, जीपबाट दिक्तेल–काठमाडौं गर्नका लागि साबिकको भाडामा पनि ५० रुपैयाँ घटाएर एक हजार ४ सय कायम गरिएको छ। दिक्तेल–धरानका लागि एक हजार ६ सय, दिक्तेल–इटहरीका लागि १ हजार ५५०, दिक्तेल–बिराटनगरका लागि १ हजार ६५०, दिक्तेल–कटारीका लागि एक हजार, दिक्तेल–लहानका लागि १ हजार २ सय, दिक्तेल–बाक्सिलाका लागि ८ सय, दिक्तेल–ऐसेलुखर्कका लागि ८ सय, दिक्तेल–हलेसीका लागि ४ सय र दिक्तेल–निर्मलीडाँडाका लागि ४ सय भाडा निर्धारण गरिएको साझा खोटाङ यातायात प्रालिका व्यवस्थापक मिलन चामलीङले बताए। 

बैठकमा टाइम कार्डलाई समय सान्दर्भिकरुपमा लागू गर्ने, दिक्तेलबजारमा जथाभावी पार्किङ गर्नुकोसट्टा बसपार्कमा मात्र सवारी साधन पार्किङ गर्ने, रुट इजाजत लिएर मात्र सवारी साधन सञ्चालन गर्ने, सबै यातायात प्रालिले तीन दिनभित्र दर्ता तथा इजाजत सम्बन्धी कागजात बुझाउने, परिचयपत्र खुल्ने कागजात वा परिचयपत्र प्रयोग गरेर मात्र सेवा प्रवाह गर्ने लगायतका निर्णय भएको छ। 

प्रकाशित: १४ आश्विन २०७५ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App