७ वैशाख २०८१ शुक्रबार
कला

अविश्रान्त उपन्यास लोकार्पण

काठमाडाैं- अम्बिका अर्यालको पहिलो उपन्यास ‘अविश्रान्त’ काठमाडौँको सर्वनाम नाटकघरमा सार्वजनिकीकरण भएको छ। गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा, गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक र लेखक स्वयम्ले उक्त उपन्यास सार्वजनिक गरेका हुन्।

अन्तरक्रियात्मक शैलीमा भएको उक्त कार्यक्रममा साहित्यकार धराबासी र कुमारी लामाले यसका विषय र शैलीका पक्षका आ–आफ्नो विचार प्रस्तुत गरेका थिए। मोहन बास्तोलाले सहजीकरण गरेको उक्त कार्यक्रममा धराबासीले समाजका यथार्थ पात्रहरुको जीवन्त घटना प्रस्तुत गरिएको विचार व्यक्त गर्दै यसमा प्रयोग गरिएको इ–प्रविधि, सर्जरीजस्ता नयाँ प्रविधिले उपन्यासलाई नयाँ विषयतिर उन्मुख बनाएको विचार व्यक्त गरे।

त्यसैगरी उनले लेखक र पाठक तथा चरित्रलाई समेत संवाद गराएर उपन्यासभित्रै प्रस्तुत गरिएको उक्त उपन्यासमा उत्तरआधुनिक शैलीको प्रयोग गरिएको विचार प्रस्तुत गरे। मानवजीवनका विखण्डित र अपूर्णताहरुजस्तै उपन्यासमा पात्रका जीवनका रिक्ततालाई छाडिनु नवीन प्रवृत्ति भएको उनको टिप्पणी थियो।

कुमारी लामाले यो उपन्यास नारीवादको वैचारिक दृष्टिले सबल भए पनि पुरुषप्रतिको परम्परागत समपर्णलाई परित्याग गर्न नसकेको धारणा व्यक्त पनि व्यक्त गरिन। उनले नारी स्रष्टाका कलमबाट नारीका विचार तथा भावलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको बताइन।

उपन्यासकार अर्यालले उपन्यासमा पात्रहरु स्वतन्त्र रहेकाले तिनीहरुको भूमिकाअनुसार आफ्नो चरित्र निर्माण गरेको विचार व्यक्त गरिन्। वर्तमान समयमा शून्यता, अपूर्णता र अस्थिरता रहेकाले एउटा उपन्यासमा व्यक्तिको समग्र पक्षलाई अटाउन नसकिने तथा रिक्तता पनि उत्तरआधुनिक शैली भएकाले उपन्यासमा उत्तरआधुनिक प्रवृत्तिलाई समाहित गरिएको भावसमेत उनले प्रस्तुत गरिन्।

यस्तै नारीका उपन्यासहरुमा नै विद्यावारिधि अनुसन्धान गर्दै गरेकी अर्यालले नारीस्रष्टाका धेरैजसो उपन्यासहरु परम्परागत शैलीको भएकाले आफूले यसमा नयाँ प्रयोग गरेको दाबी गरिन।

गुञ्जनका अध्यक्ष पाठकले नारी साहित्यकारहरुको यस संस्थामार्फत् कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै पहिलो प्रयासमा नै यस प्रकारको सशक्त उपन्यास प्रकाशन गर्न सकेकोमा बधार्इ ज्ञापन गरिन् । उक्त उपन्यास साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो।

प्रकाशित: १४ आश्विन २०७५ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App