४ वैशाख २०८१ मंगलबार
समाज

सडक निर्माणमा ठेकेदार र इन्जिनियरको लापरवाही

पिपलभन्ज्याङ–हायुटार–नेत्रकाली सडकको एक खण्डमा नाला नाप्दै प्रदेश सांसद विनोद खड्का सहितको टोली ।      तस्बिर: अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीदेखि घ्यालेख गाउँपालिकाको बस्तिपुर नेत्रकाली जोड्ने सडकमा भ्रष्टचार भएको पाइएको छ। २०७२ सालको भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा एसियाली विकास बैंक एडीबीको झन्डै ४४ करोड अनुदानमा बन्न लागेको सडकको काम नै नभइ भ्रष्टाचार भएको पाइएको हो।

विगतका वर्षमै बनाइएको सडकलाई सामान्य मर्मत सम्भार मात्रै भएको र बजेट पचाउने काम मात्र हुन लागेको देखिएको हो। स्थानीयले ठेकेदारको चरम लापरवाहीले सडक निर्माण हुन नसकेको भन्दै गुनासो गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधार कार्यालयका प्रमुख सहित केही प्रदेश सांसदले स्थलगत अनुगमन गर्दा काम नभएको पाइएको हो।

काम केही नभएपनि जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख श्यामसुन्दर मिश्र र इन्जिनियर मानबहादुर मगरले भने ठेकेदारकै ढाकछोप गरेका थिए। लामा एण्ड अमर कन्ट्रक्सनले जिम्मा पाएको उक्त काम स्थानीय केही युवाहरूलाई पेटी ठेकेदारको रुपमा कामको जिम्मा लगाएको थियो। विपी राजमार्गमा अत्याधिक सवारी चाप भएको भन्दै बैकल्पिक राजमार्गको रुपमा निर्माण गर्ने भनिएको उक्त सडकमा ठेकेदार इन्जिनियरको गम्भीर लापरबाहीका कारण सडक बन्न नसकेको स्थानीयको आरोप छ। 

सडक अनुगमन गर्न पुगेका प्रदेश सभाका सांसदलाई स्थानीयले ठेकेदारले काम भन्दा बढी कुरा गरेको र काम केही नगरेकाले लागत विल पास नगरिदिन आग्रह गरे। पहिलानै चार मिटरको ट्याक खोलिसकेको उक्त सडकमा हाल सडकको चौडा बढाउने नाला निर्माण गर्ने तथा ग्राभेल गर्ने भनी ठेकेदार कम्पनीलाई जिम्मा लगाइएको भएपनि केही स्थानबाहेक सडक नाला समेत बनेको छैन। जताततै पहिरै पहिरो भएपनि त्यसको उचित व्यवस्थापन गर्न तर्फ ठेकेदारले कुनै चासो नदिएको र विल मात्र बढाउने तर्फ लागेको स्थानीय प्रकाश कार्कीले आरोप लगाए।

सडक नाला बनाउने कटिङ गर्ने र ग्राभेल गर्ने कामको जिम्मा लिएका हुन् तर बनेको नाला समेत कमजोर ढलान रहेको छ, कटिङ ग्रेड नमिलाई जथाभावी काम हुँदा पहिरै पहिरो भएको छ, उनले भने। एडिबीले आर्थिक सहयोग रहेको उक्त सडकको डिजाइन एसडिसीले गरेको हो। आयोजना कार्यान्वयन इकाई प्रमुख श्यामसुन्दर मिश्र प्राविधिक मानबहादुर मगर, सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं. २ का प्रदेश सभा सांसद बसन्त माझी र बिनोद खड्का सहित पुगेका टोलिमाथि सडक राम्रो नबनेको र करोडौ पैसा सकेको भन्दै स्थानीयले आक्रोस पोखेका थिए। 

नियम अनुसार १ बोरा सिमेन्ट बराबर ४ बोरा बालुवा राख्नुपर्ने हो, तर एक बोरा सिमेन्टमा १० बोरा बालुवासमेत मिसाएको भन्दै स्थानीय रामकुमार गौतम आक्रोसित भए। प्रदेश सांसद विनोद खड्काले ठेकेदारको काममा चरम लापरवाही भएको बताए। माटो मिसिएको बालुवा प्रयोग गरेको, सिमेन्ट र बालुवाको मात्रा नमिलाएको र कमाउ धन्दामा लागेको उनको आरोप छ। तर जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुलीका प्रमुख मिश्रले भने ५० प्रतिशत काम भएको भन्दै ढाकछोप गरे।

भद्रकालीको पिपलभन्ज्याङदेखि अमलेको सिमानासम्मको रेखदेखको जिम्मा पाएका इन्जिनियर मानबहादुर मगरनै ठेकेदासँग मिलेर कमिसनको खेलमा लागेको स्थानीयको आरोप छ। यो टिमको सेटनै परिवर्तन गरी इन्जिनियर सहित अर्को टिमले काम गर्नुपर्छ, एक स्थानीयले भने, इन्जिनियर र ठेकेदार मिलेर काम नगरी पैसा सक्ने अवस्था आएको छ। उनका अनुसार वडाध्यक्षले समेत कामको निगरानी गर्नुको साटो उल्टै ठेकेदारलाई बचाउ गर्दा सडकको हालत कमजोर भएको हो। 

प्रकाशित: १४ आश्विन २०७५ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App