८ वैशाख २०८१ शनिबार
कला

फिल्म अवार्डमा 'क्लासिक'को वर्चश्व

काठमाडौं- राष्ट्रिय चलचित्र पुरस्कार २०७२ वितरण समारोहमा नेपाली फिल्म ‘क्लासिक'ले चार अवार्ड जितेर वर्चश्व कायम गर्‍यो भने ‘ड्रिम्स' र ‘प्रेमगीत'ले तीन/तीन अवार्ड जिते। दृष्टीविहीन जोडीको प्रेमकथामा निर्मित ‘क्लासिक'ले चार अवार्ड जितेर बाजी मार्‍यो। युवापुस्ताको प्रेम अभिव्यक्त गरेको 'प्रेमगीत' र 'ड्रिम्स'ले तीन/तीन विधामा अवार्ड जितेका हुन्।

राजधानीको होटल हयात रिजेन्सीमा आइतबार नेपाल चलचित्र विकास कम्पनीले आयोजना गरेको पुरस्कार वितरणमा सर्वोत्कृष्ट फिल्म निर्देशक ‘क्लासिक'का दिनेश राउत, सर्वोत्कृष्ट अभिनेता ‘क्लासिक'बाटै आर्यन सिग्देल र सर्वोत्कृष्ट अभिनेत्री ‘क्लासिक'बाटै नम्रता श्रेष्ठले अवार्ड जिते। ‘क्लासिक'बाटै सर्वोत्कृष्ट सम्पादकको अवार्ड सुरेन्द्र पौडेलले जिते।

सर्वोत्कृष्ट पार्श्व संगीत ‘प्रेमगीत'बाट एलिस कार्की, सर्वोत्कृष्ट नृत्य निर्देशक रेनाशा राई र सर्वोत्कृष्ट संगीतकार अर्जुन पोखरेलले अवार्ड जिते। ‘हरेक युवा युवतीले आफ्नो गीत सम्झोस भन्ने आकांक्षा बोकेर गीत बनाउन चाहन्थे,' पोखरेलले अवार्ड थापेपछि भने ,‘त्यो प्रेमगीतबाट साँच्चै सफल बन्यो।'

सर्वोत्कृष्ट फिल्म अवार्ड भने सर्वसाधारणको कथामा बनेको ‘पशुपतिप्रसाद'को पोल्टामा पर्‍यो। ‘पशुपतिप्रसाद'बाटै उत्कृष्ट पटकथा अवार्ड खगेन्द्र लामिछानेले हात पारे। सर्वोत्कृष्ट व्यावसायिक फिल्म अवार्ड फिल्म ‘ड्रिम्स'ले जित्यो। ‘ड्रिम्स'कै हिरो अनमोल केसीले मह जुरी अवार्ड हात पारे भने ‘ड्रिम्स'कै नायिका स्राम्राज्ञी राज्यलक्ष्मी शाहले सर्वोत्कृष्ट नवअभिनेतृको अवार्ड जितिन्। ‘ड्रिम्स'बाटै सर्वोत्कृष्ट छायाँकार अवार्ड पुरुषोत्तम प्रधान र संजय लामाले पाए।

सर्वोत्कृष्ट नवअभिनेताको अवार्ड भने 'होस्टल रिटर्न्स'बाट सुशील सिटौलाले जिते। सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड 'रेशम फिलिलि'का कामेश्वर चौरसियाले पाए। त्यस्तै सर्वोत्कृष्ट सहअभिनेतृको अवार्ड 'अधकट्टी'की अशिश्मा नकर्मीले थापिन्।

सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड 'भैरव' फिल्मबाट हिमाल केसीले जिते। सर्वोत्कृष्ट ध्वनी मुद्रण अवार्ड पनि 'भैरव'बाटै मुकेश शाहले जिते।  सर्वोत्कृष्ट पार्श्व गायनको अवार्ड भने यस वर्षको सर्वाधिक हिट गीत 'वडा नम्बर ६' फिल्मबाट अन्जु पन्तले जितिन्। सर्वोत्कृष्ट फिल्म पत्रकारको पुरस्कार डा. प्रदीप भट्टराईले पाए।

उज्वल पौडेलले फिल्म क्षेत्रमा काम गरिरहेकालाई प्रोत्साहन गर्न अवार्ड आयोजना गरिएको बताए। नेपाली कला, भेषभूषा, रहनसहन संरक्षण फिल्मले गरिरहेको उनले उल्लेख गरे। समारोहमा विभिन्न कलाकारले नृत्य तथा गायन प्रस्तुत गरेर मनोरन्जन दिएका थिए। २०७२ सालभित्र प्रदर्शन भएका फिल्ममध्ये छनोट गरि अवार्ड वितरण गरिएको थियो।

प्रकाशित: ४ आश्विन २०७३ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App