coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वस्तु आयात ५४.३ प्रतिशतले बढ्यो

काठमाडौं - गत आर्थिक वर्षको साउनमा १०.५ प्रतिशतले बढेको मुलुकको कुल वस्तु आयात चालु आर्थिक वर्षको ५४.३ प्रतिशतले वृद्धि भएको छ । एक महिनामा मुलुकले एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो।

राष्ट्र बैंकका अनुसार भारतबाट भएको आयात सबैभन्दा बढी ४३ प्रतिशतले बढेको छ । यस्तै चीनबाट भएको आयात ३९.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ९४.९ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एमएस बिलेट, सवारी साधन तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, रासायनिक मल, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्यसम्बन्धी उपकरण लगायतका वस्तुको आयात घटेको छ। 

समग्र अवस्था
– कुल आयात १ खर्ब २० अर्ब ६१ करोड
– कुल निर्यात ६ अर्ब ९२ करोड
​– व्यापार घाटा १ खर्ब १३ अर्ब ६९ करोड

आयातमा भएको उच्च वृद्धि र त्यही अनुसार निर्यात बढ्न नसक्दा साउनमा कुल वस्तु व्यापार घाटा ५९.१ प्रतिशतले बढेको छ। चालु आवको पहिलो महिनामै मुलुकको व्यापार घाटा एक खर्ब १३ अर्ब ६९ करोड पुगेको छ । निर्यात–आयात अनुपात ५.७ प्रतिशत छ । यो अघिल्लो वर्षको सोही अवधिमा ८.६ प्रतिशत थियो। 

राष्ट्र बैंकका अनुसार साउनमा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले ह्रास आएकोे थियो। 

भारततर्फको निर्यात ९.६ प्रतिशतले बढे पनि चीनतर्फकोे ४४.८ प्रतिशत र अन्य मुलुकतर्फको २.३ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, जुस, दाल, जडीबुटी, लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोसाक, जुटका सामान, रोजिन, अलैँची, पश्मिना, लगायतका वस्तुको निर्यात घटेको छ। 

भन्सार नाकाका आधारमा भैरहवा, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र मेची भन्सार नाकाबाट निर्यात बढेको छ । अन्य भन्सार नाकाबाट निर्यातमा ह्रास आएकोे छ। त्यसैगरी, आयाततर्फ कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट वृद्धि भएको छ। 

राष्ट्र बैंकका अनुसार साउनमा उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.३ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा वृद्धि भएको कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको हो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति १.० प्रतिशतले ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा मूलतः तरकारी, सुर्तीजन्य पदार्थ, खाद्यान्न तथा खाद्यजन्य पदार्थ लगायतका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो। 

यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.९ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण, विविध वस्तु तथा सेवा लगायत उप–समूहका वस्तु तथा सेवाको मूल्य अघिल्लो वर्षको तुलनामा वृद्धि भएकोले समीक्षा अवधिमा समग्र गैरखाद्य तथा सेवा मुद्रास्फीतिमा वृद्धि भएको हो। 

साउनमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ७३ अर्ब ९५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको थियो। 

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनमा ३३.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले घटेको थियो । मलेसिया जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ। 

आयातमा भएको उच्च वृद्धिका कारण साउनमा चालु खाता घाटा २५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा पाँच अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरको आधारमा अघिल्लो वर्षको पहिलो महिना अमेरिकी डलर पाँच करोड ८३ लाख रहेको चालु खाता घाटा साउनमा अमेरिकी डलर २३ करोड चार लाख पुगेको छ। 

अघिल्लो वर्षको पहिलो महिनामा तीन अर्ब २९ करोडले घाटामा रहेको समग्र शोधानान्तर स्थिति साउनमा २४ अर्ब ७७ करोडले घाटामा रहेको छ । यस्तै, कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको ११ खर्ब दुई अर्ब ५९ करोडबाट ०.९ प्रतिशतले कमी आई साउनमा १० खर्ब ९२ अर्ब ८७ करोड रहेको छ। 

साउनमा नगद प्रवाहमा आधारित सरकारको बजेट ५७ अर्ब ५४ करोड बचतमा छ । अघिल्लो वर्षको यस्तो बचत २८ अर्ब ५२ करोड थियो । साउन मसान्तमा सरकारी ढुकुटीमा एक खर्ब ७८ अर्ब १२ करोड नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७५ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App