४ वैशाख २०८१ मंगलबार
राजनीति

‘नेकपाकै नेताले देश डुब्न लाग्यो भन्दै संसदमा गुहार माग्नु सानो कुरा हैन’

दाङ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले वर्तमान सरकारले संघीय प्रणालीलाई ध्वस्त पार्ने खतरा बढेको बताएका छन्। प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा निधिले संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम वर्तमान सरकारले अहिलेसम्म गर्न नसकेका कारण संघीय व्यवस्था नै ध्वस्त पार्ने हो कि भन्ने आशंका कांग्रेसलाई बढ्दै गएको बताए।

‘देश डुब्न लाग्यो माझी कोही छ भन्दै नेकपाका ठूला नेताहरुले संसदमा गुहार माग्नु सानो कुरा हैन’, उनले भने, ‘वर्तमान सरकारको असफलता कम्युनिष्ट पार्टीकै नेताहरुको यो गुहारले अझ प्रष्ट पारिदिएको छ।’ 

‘वर्तमान सरकारको ६/७ महिनाको अवधिमा संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम हुन नसक्नु दुर्भाग्य हो’, उनले भने, ‘वर्तमान सरकारको यो कमजोरीले कतै संघीय व्यवस्थालाई नै ध्वस्त बनाउन लागिएको त हैन? भन्ने आशंका हामीहरुलाई अत्यधिक बढेको छ।’ भर्खरै सकिएको प्रतिनिधि सभाको अधिवेशनबाट समेत प्रदेश सरकारलाई दिइने अधिकार सम्बन्धी कुनै पनि कानुन निर्माण नहुनुले वर्तमान सरकारको नियतमाथि प्रश्न राख्ने ठाउँ प्रशस्त रहेको उनले बताए। ‘अहिलेसम्म प्रदेश सरकारको कन्ट्रोलमा राज्यको कुनै पनि निकाय छैन’, उनले भने, ‘यसको संकेत के हो त? यो गम्भीर प्रश्न हो।’ 

देशमा बढिरहेका आपराधिक घटनाका दोषी राज्यले पक्राउ गर्न नसक्नुमा ति घटनाहरुमा राज्यकै संलग्नता रहेको दाबी समेत उनले गरे। कन्चनपुरकी निर्मला पन्तको हत्याकाण्ड बारे उनले भने ‘अहिलेसम्म हत्यारा पत्ता नलाग्नुको प्रमुख कारण भनेकै त्यो घटनामा राज्यको संलग्नता हुनु हो।’

वर्तमान सरकारको गतिविधीका कारण जनता आजित बनिसकेको भन्दै वर्तमान सरकारको असफलता सत्तारुढ पार्टीकै नेताहरुको आलोचनाले प्रष्ट पारेको समेत बताए। ‘देश डुब्न लाग्यो माझी कोही छ भन्दै नेकपाका ठूला नेताहरुले संसदमा गुहार माग्नु सानो कुरा हैन’, उनले भने, ‘वर्तमान सरकारको असफलता कम्युनिष्ट पार्टीकै नेताहरुको यो गुहारले अझ प्रष्ट पारिदिएको छ।’ 

प्रकाशित: १४ आश्विन २०७५ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App