४ वैशाख २०८१ मंगलबार
अर्थ

सुपथ मूल्य पसल सुरु

काठमाडौं – सरकारी स्वामित्वका संस्थानहरुले शुक्रबारबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेका छन्। चाडपर्वमा उपभोक्तालाई सस्तो र सुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन देशका विभिन्न ४७ ठाउँमा पसल सञ्चालन गरिएको हो।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानले विभिन्न ठाउँमा पसल सुरु गरेको जनाएका छन्। आगामी कात्तिक २७ गतेसम्म सञ्चालन हुने पसलमा विभिन्न वस्तुमा छुट दिइएको छ । बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट दिएको ती संस्थाले जनाएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनमा दुई रुपैयाँ, चिनी किलोमा पाँच रुपैयाँ छुट दिएको छ । खाद्य संस्थालने सोना मन्सुली र जिरा मसिनो चामलमा पाँच–पाँच रुपैयाँ छुट दिएको छ। त्यसैगरी भेडाच्यांग्रा, खसीबोकाको मासु किलोमा १० रुपैयाँ छुट दिने संस्थानको योजना छ। 

यसैबीच, रासस प्रेषित समाचारमा साल्ट ट्रेडिङको चितवन शाखाले नारायणगढमा शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको उल्लेख छ। उक्त पसल कात्तिक २७ गतेसम्म चल्ने शाखाका प्रमुख बुद्धिविनोद दाहालले बताएका छन्। 

मुख्य चाडको दिनबाहेक शनिबार र बिदाका दिनमा पनि पसल खुल्ने उनले बताए । सहुलियत पसल बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालनमा रहने छ। यस्तो पसलले बजार मूल्य नियन्त्रण तथा कालोबजारी रोक्न सहयोग पुग्ने विश्वास लिइएको छ।

 

प्रकाशित: १४ आश्विन २०७५ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App