coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा आज पुलुकिसी

भक्तपुर- इन्द्रजात्राको अन्तिम दिन मंगलबार भक्तपुरमा पुलुकिसी जात्रा हुँदैछ। जात्रा साँझ भक्तपुर नगरपालिका–१२ लाकुलाछेंबाट सुरु हुन्छ।

जात्रामा पुलुकिसी अर्थात् इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकलाई नगर परिक्रमा गराइन्छ। बाँसलगायत सामग्री प्रयोग गरी हात्तीको स्वरुप दिएर हात्तीको आकृतियुक्त सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराउने प्रचलन छ।

नगर परिक्रमा गराउने क्रममा एक जनाले पुलुकिसीको अगाडि घन्टा बजाउँदै पुलुकिसी आएको संकेत गरिन्छ। यस क्रममा विभिन्न ठाउँ र चोकमा पुलुकिसी ओहोरदोहोर गराउने चलन छ। साथै पुलुकिसीसँग हिँडेका मानिसले छ्वाली बालेर अगाडि बढ्ने प्रचलन अझै छ।

जात्रा हेर्न पुलुकिसी हिँड्ने बाटोमा भक्तपुरमा ठूलो भीड लाग्छ। पुलुकिसी ओहोरदोहोर गर्ने सडकमा हजारौं दर्शकको भीड हुन्छ। विशेष गरी भक्तपुर दरबार स्क्वायर, टौमढी, दत्तात्रयलगायत चोकमा जात्रा हेर्नेको ठूलो भीड लाग्छ।

लाकुलाछेंबाट सुरु हुने जात्रा त्यहीँ पुगेर टुंगिन्छ। लाकुलाछेंबाट पटरी स्क्वायर, नासमना, इटाछें, दरबार स्क्वायरको रुटमा पुलुकिसी परिक्रमा गराइन्छ। दरबार स्क्वायरबाट बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसी दत्तात्रय लगिन्छ। त्यहाँबाट इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइन्छ र लाकुलाछेंमै पुगेर जात्रा सकिन्छ। नगर परिक्रमा गर्न ४/५ घन्टा लाग्छ। साँझ करिब ४/५ बजे सुरु हुने जात्रा राति ८/९ बजे सकिन्छ।

लाकुलाछेंका स्थानीय वृद्ध कुमार छुकांका अनुसार जात्राको आवश्यक सवै तयारी स्थानीयले नै गर्छन्। 'भूकम्प गएको वर्ष सबै सामग्री नयाँ किन्नुपर्ने भएकाले टोलबासीले चन्दा उठाएर जात्रा चलायौं,' उनले सोमबार स्मरण गरे, 'यसपाला भने पोहोर जोहो गरेका सामानबाट पुलुकिसी बनाउँदैछौं।' प्रत्येक वर्ष पुलुकिसी नगर परिक्रमा गरेपछि फेरि ती सामान अर्काे वर्षका लागि पाटीमा सुरक्षित राखिने स्थानीयले बताए।

नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले कसैलाई छुन नहुने जनविश्वास छ। नगर परिक्रमा गराउँदा सुँडले छोए बिरामी हुने वा मृत्यु हुने जनविश्वास छ। तर हिजोआज कतिपय युवा पुलुकिसीको सुँड नै समातेर सँगै हिँड्छन्। नगर परिक्रमा क्रममा तलातुंछी (इनार)मा पुगेपछि पानी खुवाउने चलन छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा जयन्त खोज्न पृथ्वीमा आएर घुमेको अर्थमा यो जात्रा मनाइने गरिएको हो। पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई नसोधी टिपेको आरोपमा बन्धक बनाएपछि उसलाई खोजेर स्वर्ग लैजान आफ्नो वाहन ऐरावतलाई पृथ्वीमा घुम्न पठाएको किम्वदन्ती रहेको  उनले सुनाए। पुलुकिसीसँगै भक्तपुरको आठदिने इन्द्रजात्रा पनि सकिन्छ।

प्रकाशित: ४ आश्विन २०७३ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App