८ वैशाख २०८१ शनिबार
कला

चितवनमा ‘बहुलाकाजीको सपना’

बहुलाकाजीको सपना नाटकमा अभिनय गर्दै कर्मी नाट्य समूहका कलाकार। तस्बिरः सविता

चितवन - काठमाडौं बाहिर नाटकको माहौल खासै छैनन् । पोखराले भर्खरै नियमित मञ्चनको प्रयास गरिरहेको छ। तर अरु ठाउँमा नाटक देखाउने र हेर्ने संस्कार बाक्लिन सकेको छैन। यद्यपि काठमाडौं बाहिर पनि रंगमञ्चमा युवाको चाख र सक्रियता बढ्दै गएको छ । चितवनमा पनि रंगमञ्चतर्फ युवाको आकर्षण र सक्रियता बढ्दै गएको छ । करिब पाँच वर्षअघि नारायणी कला मन्दिरमा नाटककार पुष्प आचार्यले लेखन र निर्देशन गरेका नाटक ‘सकस’ मञ्चन गरिएको थियो । त्यसयता चितवनले यदाकदा नाटक गर्दै नाटकको तलतल मेटाउँदै आएको छ। चितवनका युवाले गत वर्ष रामलाल जोशीको ‘ऐना’ कथासंग्रह भित्रको एउटा कथा ‘श्रीमान् वीरबहादुर’लाई नाटकमा रुपान्तरण गरेर प्रस्तुत गरेका थिए । अहिले सोही समूह विजय मल्लद्वारा लिखित नाटक ‘बहुलाकाजीको सपना’ लिएर मञ्चमा उक्लिएको छ । कक्षा ११ को पाठ्यपुस्तकमा रहेको नाटक विद्यार्थीलाई नै लक्षित गरेर तयार गरिएको कर्मी नाट्य समूहका अध्यक्ष भीम राईले बताए। 

नाटकमा सहरमा भरियाको काम गरेर जीविका चलाउने माने र भक्तेको कथा मार्मिक रुपमा प्रस्तुत गरिएको छ। ‘बहुला काजी’ बाट पाएको प्रेरणा र देखेको सपनाले भक्तेले छोरा वीरबहादुरलाई पढाउन थाल्छन् । वीरबहादुरले पनि पढेर ठूलो मान्छे बन्ने सपना देख्छ । तर सामान्य ज्वरो आउँदासमेत पैसाको अभावमा उपचार नपाइ वीरबहादुर थला पर्छ। केही दिनमा उपचार अभावमा उसको मृत्युु हुन्छ । बहुला काजी, भक्ते, माने सबैले देखेका सपनाको अन्त्य हुन्छ। नाटकले आर्थिक अभाव र गरिबीमा बाँचेका नेपाली समाजको तीतो यथार्थ पस्कने नाटकको विषय आज पनि उत्तिकै सान्दर्भिक छ । तत्सम आर्टस्मा कार्यरत रंगकर्मी अर्जुन न्यौपानेको निर्देशनमा नाटक तयार गरिएको हो। 

नाटकमा अञ्जान ढुंगाना, विवेक तिवारी, भीम राई, मुकुन्द खलपात्र, सन्दीप परियार, गोविन्द अधिकारी, प्रकाश अर्याल, तीलक पौडेल, ध्रुव पौडेल, सुमित आचार्य सुनिल ढुंगाना, माधव अर्यालको अभिनय रहेको छ । करिब एक महिना लामो अभ्यासपछि नाटक तयार गरिएको कलाकार मुकुन्द खलपात्रले बताए । पाठ्यक्रममा रहेको नाटक विद्यार्थी लक्षित गरेर तयार पारिएकाले स्कुल तथा विद्यार्थीको आग्रहमा समेत देखाउन सकिने उनी बताउँछन्। 

नाटक मञ्चन गरेर जिल्लामा रंगमञ्चको माहोल बनाउनु मात्र नभई रंगमञ्चमा नयाँ कलाकार उत्पादन गर्नसमेत मञ्चन थालेकोे अध्यक्ष राईले बताए । समूहले नाट्य प्रशिक्षणसमेत सञ्चालन गर्ने तयारी गरिरहेको छ। यसबाहेक समूहमा आबद्ध युवा रंगकर्मीले जिल्लामा नै नाटक घर (थियटर) बनाउने सपना देखेका छन् । ‘हाम्रो प्रमुख लक्ष्य नै यहाँ थियटर बनाउने हो’ उनले भने, ‘जिल्लामा नै रंगमञ्च भयो भने नयाँ कलाकार उत्पादन र स्थापित हुने बाटो खुल्छ।’

प्रकाशित: १४ आश्विन २०७५ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App