७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

काठमाडौं - मलेसिया नेपालबाट जाने कामदारको सबै खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला हुने सहमति दुई देशका अधिकारीबीच भएको छ । मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य मुलुक हो।

मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली तथा मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको हो। सोही सहमति कार्यान्वयनमा ल्याउन दुई सातापछि मलेसियाका मानव संसाधनमन्त्री नेपाल आएर श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने बताइएको छ।

मन्त्रालयका अधिकारीका अनुसार मलेसिया सरकार स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायतका शीर्षकमा कामदारले बुझाउँदै आएको रकम बेहोर्न राजी भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला हुने सहमति दुई देशका अधिकारीबीच भएको छ।

मन्त्रालयले गत जेठ २ गते कामदारसँग अतिरिक्त शुल्क लिएको भन्दै स्वास्थ्य परीक्षण गर्दै आएको बायोमेट्रिक, भिसा प्रोसेसिङ गर्दै आएको भिएलएन, ओएससी, आइएससीलगायतका संस्थालाई खारेज गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयपछि मलेसिया रोजगारी ठप्प छ। मलेसिया रोजगारी बन्द भएपछि दुई देशबीच श्रम समझदारी गर्नुपर्ने पहल भएको थियो।

विगत एक दशकदेखि मलेसिया र नेपालबीच श्रम समझदारी हुने प्रयास गरिए पनि सफल हुन सकेको थिएन। मन्त्रालयका अधिकारीका अनुसार विगतमा मलेसिया सरकारले गम्भीर रूपमा चासो नदिएका कारण दुई देशबीचको श्रम समझदारीले मूत रूप लिन सकेको थिएन।

कामदारसँग अतिरिक्त शुल्क लिने संस्था खारेज गरिएपछि भने मलेसियाले कामदार अभाव महसुस गर्दै श्रम समझदारीको मस्यौदा काठमाडौं पठाएको थियो । सोही मस्यौदा तीनपटक आदानप्रदान भएपछि दुवै देश मस्यौदालाई अन्तिम रूप दिन तयार भएका हुन्।

मन्त्रालयले दुवै देशका मन्त्रीहरूले हस्ताक्षर गर्नेबित्तिकै मलेसिया रोजगारी खुल्ने र समझदारी कार्यान्वयनमा आउने जनाएको छ । जेठ २ गतेअघि रोजगारीका लागि मलेसिया जाने युवाले म्यानपावरबाहेक प्रतिव्यक्ति करिब १८ हजार रुपैयाँ खर्च गर्नुपथ्र्यो । सरकारले मलेसिया जाने कामदारका हकमा तीन वर्षअघि निःशुल्क भिसा र टिकटको निर्णय गरेको थियो । तर, म्यानपावरहरूले कामदारसँग आफूखुसी रकम असुल गर्थे।

मन्त्रालय स्रोतका अनुसार मलेसिया नेपालले गरेको निःशुल्क भिसा र टिकटको निर्णयसमेत मान्न तयार भएको छ। ‘मलेसिया जाने कामदारलाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउने अनि कामदारको स्वास्थ्य परीक्षण, भिसा प्रक्रियामा लाग्ने खर्चसमेत रोजगारदाताले उपलब्ध गराउने भएपछि युवालाई कुनै आर्थिक भार पर्नेछैन,’ मन्त्रालयका एक अधिकारीले भने।

कामदारलाई मलेसिया लैजानुअघि स्वास्थ्य परीक्षण, भिसा प्रक्रियालाई भने मलेसियाले आफ्नै मापदण्डमा गर्ने अडान त्यागेको छैन। रोजगारीका लागि मलेसिया जाने कामदारले यसअघि उसले निर्धारण गरेको प्रक्रिया पूरा गर्नुपर्नेछ। ती प्रक्रिया पूरा गर्नका लागि आवश्यक शुल्क मलेसियाका रोजगारदाताले उपलब्ध गराउन सहमति भएपछि नेपाल समझदारी पत्रलाई अन्तिम रूप दिन तयार भएको बताइएको छ।

भर्ना प्रक्रियालाई शून्य लागतबाहेक नेपालले कामदारको २४ घन्टे बिमा, सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने प्रस्ताव गरे पनि त्यसमा भने मलेसियाले सहमति गरेको छैन। मलेसियाले अन्य मुलुकबाट लैजाने कामदारका हकमा २४ घन्टे बिमाको व्यवस्था नगरेका कारण नेपालसँग तत्काल त्यस्तो गर्न नसकिने बताएको थियो।

रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारमध्ये सबभन्दा बढी ज्यान गुमाउने गन्तव्य मलेसिया हो। दुई साताअघि मदिरा सेवनका कारण नौ युवाले ज्यान गुमाएका थिए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नौ सय १६ मध्ये तीन सय १८ युवाको मलेसियामा मृत्यु भएको थियो।

जेठ २ गतेअघि दैनिक करिब चार सय युवा रोजगारीका लागि मलेसिया जाने गर्थे। हाल मलेसियामा वैध र अवैध गरी करिब पाँच लाख युवा रहेको अनुमान छ।

प्रकाशित: १४ आश्विन २०७५ ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App