coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'देश डुब्दैन, म छु'

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू केही दिन बाहिर हुँदैमा देश नडुब्ने बताएका छन्। बिहीबार संसद्मा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बोलेको कुराको जबाफ दिँदै ओलीले यस्तो बताएका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका ओलीले त्यहाँ एक नेपाली टेलिभिजन ‘यु स्टार्ट अगेन’ लाई अन्तर्वार्ता दिँदै देश समृद्धिको बाटोमा अघि बढिसकेको बताए।

नेता नेपालले संसद्मा सम्बोधन गर्दै ‘देश डुब्न लाग्यो, माझी छौ कि कोही किनारा लगाइदेऊ’ भन्दै सरकारको कामको चर्काे आलोचना गरेका थिए। त्यसैको जबाफमा ओलीले भनेका छन्, ‘यो त राम्रो कुरा हो, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ, बचाऊ भनेको सुनियो। म फर्केर गइहाल्छु, त्यो ठूलो समस्या होइन।’ ओलीले आफू नहुनेबित्तिकै कसैलाई शून्यता हुन लाग्यो, देश डुब्न लाग्यो भन्ने लागेको हुनसक्ने बताएका छन्। नेता नेपाललाई व्यंग्य गर्दै ओलीले भनेका छन्, ‘देश डुब्न लाग्यो भनेर उहाँले साहित्य वा कविता वाचन गर्नुभयो होला, देश अत्यन्त सही ढंगले सही बाटोमा अघि बढिरहेको छ। ‘ल्यान्डक’बाट नेपाल मुक्त भएको छ, सार्वभौम र समृद्धितर्फ अघि बढिसकेको छ।’ ओलीले गुटबन्दी भयो भन्ने कुरा विरोधका लागि विरोध गर्ने कुरा मात्र भएको भन्दै प्रदेश पदाधिकारी र संसदीय समितिका सभापति योग्यता र क्षमताका आधारमा नियुक्त गरिएको बताएका छन्। ‘म पार्टी अध्यक्ष भइसकेको छु, प्रधानमन्त्री भइसकेको छु, कसैलाई किन पेल्नुप-यो र? भ्रष्टाचार गर्नु छैन, पैसा कमाउनु छैन।’

ओलीले सरकारको आलोचनाका लागि कृत्रिम परिस्थिति निर्माण गर्न खोजिएको आरोप लगाउँदै विरोधको खासै अर्थ नभएको बताएका छन्।

ओलीले सरकार बनेपछि भ्रष्टाचार रोकिएको, सुशासनका लागि विभिन्न कानुन बनिरहेको तर मुलुकी फौजदारी संहिता बनाउनेहरूले नै संहितामा बखेडा झिकिरहेको आरोप लगाएका छन्। उनले कतिपयले सरकारमाथि तानाशाहीको आरोप लगाइरहेको भन्दै केही मानिसले कुण्ठा पोख्न विभिन्न कुरा गरिहेको बताएका छन्।

सामाजिक अपराध निन्दनीय र निकृष्ट खालका घटना भएको भन्दै ओलीले यो निकै चिन्ताजनक विषय भएको बताएका छन्। ‘यसले हाम्रा सामाजिक मूल्यमान्यता र समाज कहाँ जाँदैछ भन्ने प्रश्न उठाएको छ,’ ओलीले भनेका छन्। ‘हरेक व्यक्तिका पछाडि प्रहरी कुनै पनि समाजमा हुँदैन। अपराध कर्म मनोवृत्तिलाई कमगर्न सकिएन भने त्यो गलत हुन्छ,’ ओलीले भनेका छन्। कतिपय घटनाका दोषी पत्ता लाग्न १२ वर्षसम्म लाग्ने भन्दै ओलीले सरकारले अपराधीलाई ढाकछोप नगरेको बताए।

ओलीले पार्टी बजारमा माछा किन्ने र साग किन्ने बेच्ने मान्छेको भीड नभएकाले एउटा उद्देश्य, आदर्श र एउटा बाटोबाट अघि बढ्नुपर्ने बताएका छन्।

प्रकाशित: १४ आश्विन २०७५ ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App