८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल र खनालद्वारा बहिष्कार

काठमाडौं- नेकपा एमालेले संविधान जारी भएको पहिलो वर्ष पुगेको अवसरमा वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहिष्कार गरेका छन्। पार्टीको स्थायी कमिटीको निर्णय र काठमाडौं संगठन कमिटीको आयोजनामा भएको कार्यक्रम खनाल र नेपालसहित उनीहरूनिकट नेताले बहिष्कार गरेका हुन्।

एमालेभित्र काठमाडौं जिल्ला संगठनको कमिटी गठन विषयमा विवाद रहँदै आएको छ। 'काठमाडौं जिल्ला संगठन कमिटीको गठन विवाद छ, विवादास्पद कमिटीलाई मान्यता दिनका लागि आयोजना बनाउने काम भएको छ,' काठमाडौं जिल्लाका सहइन्चार्ज रहेका एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले नागरिकसँग भने, 'कार्यक्रम आयोजना पूरै पेलेर लैजाने रूपमा गर्न खोजिएको छ। त्यसैले नेताहरूसहित हामीले असन्तुष्टि व्यक्त गर्न कार्यक्रममा सहभागी भएनौं।'

अष्टलक्ष्मी शाक्य, काठमाडौं जिल्ला इन्चार्ज जीवनराम श्रेष्ठसहितका नेता कार्यक्रममा सहभागी भएनन्। कार्यक्रममा उपाध्यक्ष वामदेव गौतम, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायतले सम्बोधन गरेका थिए। तर, काठमाडौं जिल्ला संगठन कमिटीका संयोजक कृष्ण राईले भने बहिष्कारबारेमा आफूलाई थाहा नभएको बताए।

'त्यस्तो बहिष्कार गर्नुभएको होला भन्ने लाग्दैन। हामीले वक्ताको रूपमा अध्यक्ष केपी शर्मा ओली र प्रदेश नम्बर तीनको संयोजक अष्टलक्ष्मी शाक्यलाई बोलाएका हौं,' राईले नागरिकसँग भने, 'शाक्य अरु नै काम परेर नआउनुभएको हो।' अहिलेको अवस्थामा धेरैले अध्यक्ष ओलीको भाषण सुन्ने चाहना राख्ने भएकाले दुई जना मात्रै वक्ता राखेको बताउँदै संयोजक राईले भने, 'अध्यक्ष आउन ढिलो गर्नुभयो, त्यसैले उपस्थित नेतालाई बोल्न दिएका हौं।'

गत पुस २२ गते भएको बैठकमा उपत्यका समन्वय कमिटी बैठकले पहिलेको जिल्ला कमिटीलाई संगठन कमिटी बनाउने निर्णय गरेको बताउँदै आएका छन्। तर, त्यस्तो कुनै निर्णय नभएको र सो विषय पनि पछि माइन्युटमा थपिएको आरोप खनाल नेपाल पक्षको छ।

'हामीले यस विषयमा पार्टीको संगठनमा पनि उजुरी हालिसकेका छौं' मानन्धरले भने, 'बैठकमा कुनै छलफल नै नभएको विषयलाई पछि माइन्युटमा थप्ने काम भएको छ।' राईले भने संगठनभित्र ठूलो विवाद नभएको बताए। 'नयाँ मानिस थपेर कमिटी बनाएको होइन, पहिले जिल्ला कमिटीमा रहेकै सदस्यलाई बनाएको हो। यसमा विवाद गरिरहनु आवश्यक छैन,' राईले भने।

प्रकाशित: ४ आश्विन २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App