८ वैशाख २०८१ शनिबार
राजनीति

'संविधान संशोधन क्षणिक स्वार्थ'

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दल क्षणिक स्वार्थ हेरेर संविधान संशोधनमा लागेको बताएका छन्। संविधान दिवस अवसरमा सोमबार एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले संविधान संशोधन भावनामा बगेर र क्षणिक स्वार्थ हेरेर गर्न नसकिने बताएका हुन्। 

ओलीले संशोधन विषयमा कसैले पनि आफ्नो पार्टीसँग प्रस्ताव राख्ने आँट नगरेको बताए। उनले भने, 'संशोधन गर्नका लागि एमालेलाई भन्ने आँट नगरी अँध्यारो कुनामा बसेर सम्झौता गर्ने! हामी त्यस्ता सम्झौतालाई वास्ता गर्दैनौं।'

संविधान हेरफेर हुनसक्ने दस्तावेज भएकाले नेपालको समृद्धिका लागि र जनताको भलाइका लागि मात्र संशोधन हुन सक्ने उनको भनाइ थियो। उनले भने, 'विदेशीलाई चाहिएर, अरुका लागि हामी संविधान संशोधन गर्दैनौं।' पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गरे, 'संसारमा सबैलाई मान्य संविधान कुन देशमा छ?' 

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट फर्केपछिको प्रसंग कोट्याउँदै उनले प्रश्न गरे, 'भारतको विदेश नीति नेपालको हुने कि नहुने?' उनले असंलग्न तटस्थ नीति नै नेपालको तटस्थ विदेश नीति रहेको बताए। नेपालले कायम राखेको स्वतन्त्र परराष्ट्र नीति तलमाथि हुन नहुने उनको भनाइ थियो। उनले संविधान कार्यान्वयनका लागि राष्ट्रहितलाई ध्यानमा राखेर सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

ओलीले छिमेकीलाई इनारमा पानी छुन नदिने तराईका दुईचार जना जातिवादी सामन्तीले त्यहाँका जनताका नाममा साम्प्रदायिक भावना भड्काउन खोजेको आरोप पनि लगाए। उनले भने, 'साम्प्रदायिक भावना भड्काउन खोजिएको छ। संविधानले कसैको पक्षमा, कसैको विरुद्धमा विभेद गरेको छैन।' उनले संविधान कार्यान्वयन जरुरी भएका बेला संशोधनको कुरा गरिएको बताए।

ओलीले एक प्रसंगमा आफूलाई प्रधानमन्त्रीबाट हटाउन अविश्वास प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्र दाहिने हातको खुकुरी नदेखेर, देबे्र हातको हरियो घाँस पछि दौडिएको भन्दै व्यंग्य गरे।

कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले संविधान अपूर्ण नभएको बताए। उनले सिंगो नेपाल भनेको संविधान भएकाले यसको रक्षा गर्नुपर्नेमा जोड दिए। विदेशीले स्वागत गरुन या नगरुन् सार्वभौमसत्ता सम्पन्न देशका जनताले जारी गरेको संविधान कार्यान्वयन हुने दाबी गौतमले गरे। उनले वर्तमान गठबन्धन सरकार नेपालको हितमा नभएको पनि बताए।

एमाले नेतासत्यनारायण मण्डलले भारतको इसारामा चलेका केही नेताले संविधानको विरोध गरेको आरोप लगाए। उनले भने, 'संविधान अपूर्ण छ भने कुन, कुन बुँदामा हो, त्यो स्पष्ट हुनुपर्छ।'

प्रकाशित: ४ आश्विन २०७३ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App