७ वैशाख २०८१ शुक्रबार
अन्य

जीके रोयलाई सम्झेर

साताको साहित्य पुरस्कार अर्पण गर्न विराटनगर यात्रा गर्नु एक दिन अगाडि एउटा पसलमा एलबिसरसँगै भेटिए कालो वर्णका एकजना भारतीय । देख्दा साधारण तर अस्वभाविक । उनका मनमा धेरै कुरा मडारिरहे जस्तो । मैले अभिवादन गरें, उनले पनि । उनका बारेमा केही जानकारी एलबि सरले त्यसै बखत दिनु भयो र भन्नु भयो, ‘जीके नेपालमै  बसेर केही लेख्न चाहन्छ ।’ उनको नेपालमा बस्ने भन्दा पनि नेपालमै बसेर लेख्ने कुराले मलाई अझ धेरै तान्यो।

‘गाडीमा सिट मिल्यो भने ऊ पनि हामीसँग सर्लाहीसम्म जान्छ’, सरले भन्नुभयो । त्यही मेसोमा नेपाली पनि बुझ्ने’, जीके भन्दै थिए, ‘मिलेसम्म त म बिराटनगरनै जान चाहन्छु अनि तपाईहरुको साहित्यिक कार्यक्रममा सहभागिता पनि जनाउँछु।’ 

बिहान हामी सबैजना एक ठाऊँमा भेट भयौं तर जीके देखिएनन् । मैले एलबि सरलाई सोधें, ‘खोई त जीके रोय ।’ उनले आफ्ना पुराना समकालिन साथीहरुलाई भेट्ने ईच्छा गरे त्यही भएर बीरेन्द्र क्याम्पसमा छाडेको छु’, एलबि सरले भन्नु भयो। 

तर मलाई आजको यात्रामा उसको मुखबाट उसका कथा सुन्न मन थियो । यो पुरा हुने पाएन । ऊ नभए पनि मैलेनै यात्राको थालनीसँगै धेरै कुरा उनका बारेमा सोध्न थालें । म जान्न चाहन्थे उनको नेपाल आगमन, उनको नेपालमा कर्म र आफ्नै देश फर्कनुका कारण।

यात्रामा सुनेका जीके रोयका कथाहरु अचम्मका थिए । जीके भारतिय मुलका प्रोफेसर रहेछन् । कुनै समय चितवनमा रहेका क्याम्पसहरुमा पढाउँथे तर विस्तारै उनी यहाँबाट विस्थापित भएर भारततिरै लागेछन् । यो दौरानमा उनलाई धेरै पीडा आईपरेको रहेछ । त्यसैले उनी अभागी हुन् । भनिन्छ केही कामको सफलता पन्चानब्बे प्रतिशत आफ्नो कर्ममा निहित हुन्छ अनि बाँकी पाँच प्रतिशत भाग्यमा । यिनी यही पाँच प्रतिशतले ठगिएका आम समाजका एक प्रतिनिधि पात्र थिए।

साताको साहित्य डट कमले हरेक वर्ष प्रदान गर्ने पुरस्कार अर्पण समारोहको लागि विराटनगर जाने क्रममा हाम्रो कारमा यात्रा भरी गीत बजेनन् बरु हामी एलबि सरका जीके सम्बन्धी रोचक कथा सुन्दै अघि बढ्यौं । एलबि सरको कथा भन्ने शैली पनि एकदमै रोचक छ । आखिर उनी परे सेवा निवृत्तप्रोफेसर । उनले पढाएको कक्षामा त म कहिले सहभागी हुन पाईन तर उनका खास विद्यार्थीलाई पक्कै थाहा होला त्यो रोचकता । म गाडी हाँक्दै अनि सुन्दै थिएँ ती रोचक प्रसंगहरु। पछाडि सिटमा थिए उदय अधिकारी, लेखराम सापकोटा र मनोज कुमार अधिकारी। 

हामीले यात्रामा धनराज सरलाई धेरै मिस गर्यौं । धनराज सरलाई पनि यो यात्राको कुतुहुलता थियो त्यही भएर उनको ६५८१५ नम्बरबाट बारम्बार बजिरहेको थियो हाम्रो मोबाईलहरुको घण्टी। 

कवि मनु मन्जिलले एउटा गम्भिर कुराको उठान गरे, हामी कति आफ्नोे मात्रै कविता बोकेर हिँड्ने ? हामीले कविता वाचन कार्यक्रममा आफुलाई मन परेका कविको कविता वाचन गर्ने कि नगर्ने ? उनले आफ्ना प्रश्नको आफैं जवाफ दिए,–बोक्नु पर्दछ, वाचन गर्नु पर्दछ। 

यात्रामा मलाई माईलस्टोन हेर्दै हिँड्न असाध्यै मन पर्दछ । माईलस्टोनले गन्तव्यको बाँकी दुरी देखाउँदै, सँगसँगै घटाउँदै पनि जान्छ । माईलस्टोनले गाडीको रफ्तारसँगै छुटेका बस्तीहरुको नाम पनि बताईदिन्छ । माईलस्टोनकै कारण मैले थुप्रै सहर र गाउँ चिनेको छु । हाम्रो पूर्वको यात्रामा माईलस्टोनमा हेटौंडा देखाउँदा निमेष निखिल, साम्ब ढकाल, सुवास खनाल, आर आर चौलागाई, छवि अनित्यलाई सम्झ्यौं । माईलस्टोनले चन्द्रनिगाहापुर देखाउँदा हाम्रो दिमागमा आयो कवि मनु मन्जिल अनि सर्लाहीको हरिवन देखाउँदा याद आयो कवि गीतकार दिनेश अधिकारी । हामीले चिनेका कति कविहरुको गाउँलाई माईलस्टोनले देखाउँदा पनि हामी नचिनेरै अघि बढेका थियौं । माईलस्टोनहरु यात्रुलाई गन्तव्यमा छाडेर आफु भने दुर दुरसम्म पुग्छन्। 

दुःख आई पर्याे भने मानिस धेरै आतिन्छन् । यो भएन, त्यो भएन भनेर विचलित हुन्छन् । जीकेको जीवनलाई हेर्ने हो भने हामीलाई स्वभिमानी बन्न सिकाँउछ । जीकेको किताब मोहको किस्सा पनि रोचक छ । एक दिन उनलाई पैसा निकै अप्ठ्यारो परेछ अनि जीके एलबि सरकोमा पुगेछन् । किताबहरु बोकेर । किताबको बदला पैसा लिएछन् । उनले पैसामा किताब बेचे । अनि गन्तव्यतिर लागेछन् । केहि महिनाको अन्तराल पछि जीकेले एलबि सरसँगपैसा बोकेर आफ्ना किताब फिर्ता गरिदिन आग्रह गरेछन्।

हामी बिराटनगर पुग्दा साँझ परिसकेको थियो । कवि सुमन पोखरेलको नाम धेरै सुनेको तर नभेटेको । आज उनी सँग भेट हुने निश्चित थियो । साथमा थिए कवि विवश पोखरेल र कवि लक्ष्मण । पोखरेल अध्यक्ष रहेको संस्थालेनै साताको साहित्य पुरस्कार वितरण सहआयोजना गरेको थियो । स्वागतम होटलको कोठाभित्र बसेर हामी कस्सियौं कविता र साहित्यका  कुरा गर्न। 

‘कविले पो कविता लेख्ने मान्छेले लेखेको कविता बन्दैननी’ विराटनगर पुग्दा कवि सुमन पोखरेल यस्तो भन्दै थिए । साथै रहेका एलबि सर मुसु मुसु हाँसे अनि म तिर हेरें । मैले मौन समर्थन जनाएँ । एलबि सर पनि सधैं यस्तै भन्नु हुन्छ म कविता कोर्छु, लेख्दिन । कविता लेख्न साधना चाहिन्छ । कविता बन्न के के चाहिन्छ त ? कविताको हरफहरु कसरी र किन छुट्टिन्छन ? एउटा राम्रो कविता बन्न निकै लामो समय लाग्छ’,  कवि सुमन पोखरेल नालीबेली बताउँदै थिए । साथैमा रहेका कविहरु विवस पोखरेल लगायत आआफ्ना तर्कहरु गर्दै थिए।

सामान्यत हामी भन्ने गर्छौ, ‘मान्छेहरु जन्मजात कवि हुन् फरक यति हो कोही लेख्छन् अनि कवि हुन्छन कोही लेख्दैनन अनि आफु भित्रको प्रतिभालाई आफ्नो देहसँगै त्याग गर्छन । तर आज उनका यि प्रश्नले सोच्न बाध्य बनायो कि कतै हामी कविता लेखेको छु भन्दै अरु केही वा आख्यानै त लेखेका छैनौं । कवितालाई हामी सामान्य रुपमा लिन्छौं । तर यस्तो होइन भनेर उनले पटक पटक जिकिर गरे । कविता कला हो, कला भर्न कलाकारनै चाहिन्छ, मान्छेहरुले कोर्दैमा त्यो कला हुने भए कविता पनि त्यस्तै हुन्थ्यो । एउटा बहसको विषय बन्यो यो बसाईमा वास्तवमा कविता कस्तो हो त ?

कुराहरु अरु धेरै विषयमा उठे तर अर्को गहकिलो कुरा उठेको थियो सम्पादनको । हाम्रो नेपाली साहित्यमा कुशल सम्पादक को त ? कविता मान्छेले लेख्ने होइन कविले लेख्ने भने जस्तै सम्पादन सम्पादकले मात्र गर्न सक्छ, मान्छेले गर्न सक्दैन भन्न मिल्ने कि नमिल्ने ? कवितामा सम्पादन हुन जरुरी हुन्छ कि हुँदैन वा कविको मौलिक कवितानै सर्वमान्य । यि विषयमा बहस भईरहँदा कविहरु कवितामा सम्पादन चाहँदैनन् भन्ने कुरा आयो । कविले गरेका शब्द चयन लगायत बनावट जे छ त्यही हुन पर्दछ । कवि सुमन पोखरेलले एउटा घटना सुनाए । उनलाई एउटा अनलाइनले उनको कविताको शीर्षक फेरेर छाप्न पर्ने भयो भन्दा उनी मानेनन् । र कविता छापिएन । उनी भन्दै थिए त्यो शीर्षककै आडमा कविता जन्म भएको हो, त्यो नै मर्याे भने के अर्थ। 

साहित्यले जोड्ने काम गर्दछ । अष्ट्रेलियाबाट सञ्चालित साताको साहित्यले चितवनहुँदै पूर्वका साहित्यकारलाई जोड्दै थियो । साहित्यको सेवा कसरी गर्न सकिन्छ ? लेखेर मात्र हो त ? होइन, साहित्यको सेवा लेखेर मात्र होइन साँघु बनेर पनि गर्न सकिने रहेछ, यो यात्रामा प्रमाणित भएको थियो। 

साताको साहित्यका लागि चितवनका साहित्यकारहरु विराटनगर पुगेर कवि बोनाम प्रतापलाई पुरस्कार दिइरहँदाको क्षण निकै मर्मस्पर्शी थियो । पुरस्कृत कविलाई आफ्नै गृहस्थानमा गएर पुरस्कार प्रदान गर्नु कदरयोग्य थियो । साहित्य सेवा गर्नेहरुमा प्रकाशन गृहहरु पहिलो नम्बरमा पर्छन भने प्रिय पाठकहरु दोसो्र नम्बरमा । अनि म भन्छु ती पुस्तकहरु पाठकसम्म पुर्याउने पुस्तक पसलहरुको भूमिका पनि महत्वपूर्ण छ। 

भोलिपल्ट विराटनगरमा आयोजित साताको साहित्य कार्यक्रमको प्रमुख अतिथि रहेका कवि मनु मन्जिलले एउटा गम्भिर कुराको उठान गरे । उनले प्रश्न गर्दै थिए, हामी कति आफ्नो मात्रै कविता बोकेर हिड्ने ? हामी अरु कविको कविता बोकेर हिँड्न किन सक्दैनौ ? हामीले कविता वाचनको कार्यक्रममा आफुलाई मन परेका कविको कविता वाचन गर्ने कि नगर्ने ? उनले आफ्नो प्रश्नको उत्तर दिए –बोक्नु पर्दछ, वाचन गर्नु पर्दछ। 

मलाई पनि उनको त्यो विशाल सोच माथि होमा हो मिसाउन मन लाग्यो । कुनै कार्यक्रममा कविता वाचनलाई बोलाईदा आफ्नो नभनेर त्यहाँ पुग्न नसकेका कविको कविता वाचन गर्दा कस्तो होला ? के हामी हृदयदेखि अरुलाई माथि उठाउन सक्छौं ? वा अरुको चर्चा भएको हेर्न सक्छौं ? नेपाली कविताको धारमा यो कुरा निकै गम्भिर छ र छलफलका लागि उपयुक्त पनि छ। 

हामी बाटो छोट्टयाउने क्रममा ईटहरी पुग्दा कवि मनु मन्जिल, बद्रि भिखारी त्यतै चोकतिर भेटिए । केही बेर गफ गर्न पर्दछ भन्दै मनु दाईले हामीलाई लगे पाथीभारा होटल जहाँ हामी रात बिताउन गईरहेका थियौं । हेमन यात्री, देवन किँराती अनि बिराट अनुपम पनि थिए साथमा । हिजो विराटनगरमा कविता र सम्पादनको कुरा उठ्यो, र यहाँ आज बहस चल्दै थियो, स्तरिय लेखनको। 

मनु मन्जिललाई आफ्नो नाम स्थापित गराउन निकै समय लाग्यो रे। उनी भन्दै थिए, कति पटक उनी पहिला सम्पादककहाँ पुगेर कविता दिन्थे, कविता छापिँदैनथ्यो । उनलाई मनमा लाग्थ्यो मेरो कविता राम्रो भएन कि ? उनी अझ मेहेनत गर्दथे । उत्कृष्ट बनाउने प्रयास गर्दथे । समय पछि बदलियो । उनका कविताले विभिन्न राष्ट्रिय अखबारमा स्थान पाउन थाले । उनले जोड दिदैं भन्दै थिए, हामी उत्कृष्ट लेखौं न, कसले नछाप्ला र ? अहिले मनु मन्जिलका कविता अखबारहरु माग्छन् । कहिले काहीँ त अहिले छैन, पछि दिउँला भन्छन् मन्जुल । स्तरिय लेखन जरुर छ । हामी मेहेनत कम गर्छौ, अनि छापिएन भन्छौं । मेहेनत गरेर लेखिएको कुनै पनि सृजना उत्कृष्ट हुन्छ, शंकै छैन। 

लेखकहरुलाई संरक्षण र वातावरण दिलाई दिनु पनि साहित्य सेवामा लेख्नु भन्दा कम होइन । एलबि सरले यात्राको अन्त्य अन्त्यमा भन्नु भयो सुमन ‘जीकेमा केही लेख्न सक्ने शक्ती छ । जीके नेपालमै बसेर केही लेख्न चाहन्छ, त्यही भएर यदि ऊ मान्यो भने म उसलाई मेरै घरमा राख्छु । ऊ त्यहाँ बसेर हरेक दिन साहित्यको सृजना गर्छ । मलाई मेरो घरमा उसले लेखेर बसेको हेर्न मन छ । त्यो दिन मलाई सबै भन्दा हर्ष हुनेछ।’ 

मान्छेलाई अभावले कतिसम्म सताउँछ भन्ने जीकेको जिन्दगीमा मिल्न जान्छ । उसको जिन्दगीलाई हेर्ने हो भने मानिस अभावकै कारण के के गर्छन् भन्ने कुराको प्रमाण हुन्छ । मर्नु भन्दा बौलाउनु नै ठिक । जीकेको जिन्दगी अभावै अभावले भरिएको छ । ऊ त्यही अभाव मेटाउन पेशालाई गोलचक्र लगाईरह्यो । पैसालाई उसले चिनेको पनि छ । अटोलाई ३० रुपैयाँ दिए २० मिनेटमै पुग्ने स्थान ऊ तीन घण्टामा हिँड्छ । बाटाहरु अल्मलिन्छ तर पनि हरेश नखाई ऊ दुई चार ठाऊँमा च्यातिएको सुटकेश गुडाउँदै क्यान्सर हस्पिटलबाट कविडाँडा पुग्छ। 

कुनै समय सर्लाहीको सकिया पोखरियामा पढाउँदा स्कुलले दिन बाँकी ५ हजार लिन तीन पटकसम्म धाउँछ ऊ । सायद पाँच हजार उसको आउने जाने यात्रामै सकियो होला तर उसको मन पटक्कै त्यो पैसा नलिई मान्दैन । त्यही भएर हरेक पटक नेपाल आउँदा सकिया पोखरी सम्झन्छ । आफ्नो पसिनाको पैसा असुल गर्न यो पटक पनि सर्लाहीको यात्रा गर्दै थियो । उसँग अभाव छ । मीना म्याम बुझ्नुहुन्छ उसको अभाव।

मायाले,दयाले मिना म्यामले शुभाशिष सहित दिनु भएको ५ हजार उसले लिन ईन्कार गर्याे । अभाव हुँदैमा स्वभिमान हुन्न भन्नु गलत हो भन्ने उनले प्रमाणित गरे । मलाई अहिले पनि मनमा एउटै त्रास छ उनको यो पटकको सकिया पोखरियाको यात्रा सार्थक रह्यो कि रहेन? अब फेरि भेट भयो भने जीके रोयलाई यही कुरा सोध्न मन छ। 

 

प्रकाशित: १३ आश्विन २०७५ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App