७ वैशाख २०८१ शुक्रबार
अन्य

परालको त्यान्द्रोबाट आकर्षक सामग्री

आफूले बनाएका हस्तकलामा सामग्री देखाउँदै चिरीमै महर्जन। तस्बिर : उपेन्द्र/नागरिक

परम्परागत सुकुल बुनेर जीविका चलाउँदै आएका साना गाउँका किसानले परालको आफ्नो कामलाई आधुनिक रूप दिन थालेका छन् । सुकुल गाउँले समेत चिनिने ललितपुरको महालक्ष्मी नगरपालिका–६, स्थित साना गाउँका किसानले परम्परागत कामबाट मात्र जिविका चलाउन नसकेपछि पुख्र्यौली कामलाई आधुनिकीकरण गरेका हुन्। 

लामो समयदेखि परालको त्यान्द्राको डोरी बाटेर पुरानै तरिकाबाट सुकुल बुन्दै आएका उनीहरूले पछिल्लो समयमा  बजारमा माग हुने हस्तकलाका आकर्षक सामाग्री बनाउन थालेका छन् । पराललाई प्रसोधन गरेर आकर्षक सुकुल बनाउनुको साथै सजावटका सामाग्री बनाउन थालेपछि उनीहरूमा उत्साह थपिएको छ । यसको लागि उनीहरूले जेठको अन्तिम साता एक महिने तालिम लिएका थिए । ‘विभिन्न कारणले पछिल्लो समय  यो पेशा नै संकटमा पर्न थालेको थियो,’ प्रशिक्षक रामचन्द्र महर्जनले भने,  ‘त्यसैले हामीले महिलाहरूलाई तालिम दिएका हौं।’ 

लामो समयदेखि सुकुल व्यवसायमा लागेका महर्जनले स्थानीय ३५ महिलाले सुकुलको अलावा अन्य हस्तकलाका सामाग्री बनाउने सीप सिकेको उनले सुनाए। 

सुकुल गाउँले समेत चिनिने ललितपुरको महालक्ष्मी नगरपालिका–६, स्थित साना गाउँका किसानले परम्परागत कामबाट मात्र जिविका चलाउन नसकेपछि पुख्र्यौली कामलाई आधुनिकीकरण गरेका हुन्। 

‘तालिमबाट सर्वसाधारण थप उत्साहित बनेका छन्,’  उनले थपे, ‘रोकिँदै लागेको परालका त्यान्द्रा फेरि चलमलाउन थालेका छन्।’ 

उनी उत्साहित छिन्, ५६ वर्षीय रत्नमाया महर्जन । लामो समयदेखि सुकुल बुन्दै आएकी उनी यतिबेला परालको मुढा बनाउन व्यस्त छिन् । बजारमा पाइने सामान्य मुढालाई परालको डोरीले चारैतिरबाट बुनेर आकर्षक रूप दिएपछि यसको मूल्य पनि बढ्ने उनले सुनाइन् । ‘काम परालकै हो, उनले भनिन्, ‘तर कमाई राम्रो हुन थालेको छ।’ 

उनीसँगै रहेकी ७२ वर्षीय चिरिमै महर्जनले त कामलाई आधुनिक रूप दिन थालेको एक दशक भइसक्यो । अन्यले परम्परागत सुकुल बुन्दै गर्दा उनी पराले सोफा तयार गर्थिन् ।  ‘अहिले वडाले नै तालिमको व्यवस्था मिलाएपछि सबै जाना सहभागी भएका छन्, उनले भनिन्, ‘नयाँ काम सिक्न र सिकाउन पाउँदा खुसी मिलेको छ।’ 

गाउँका अधिकांश महिला सुकुल बुन्नमा व्यस्त हुँदा चिरिमाया महर्जनले एक दशक अगाडि नै परालबाट सोफालगायत अन्य घरायसी सामग्रीको निर्माणमा गर्दै आएको  सुनाइन् । पराले सामग्रीलाई अलिकति आधुनिक रूप दिँदा आम्दानी ह्वात्तै बढ्ने उनको बुझाइ छ। 

लामो समयदेखि परालको त्यान्द्राको डोरी बाटेर पुरानै तरिकाबाट सुकुल बुन्दै आएका उनीहरूले बजारमा बिक्री हुने हस्तकलाका आकर्षक सामाग्री समेत बनाउन थालेका छन् । पराललाई प्रसोधन गरेर आकर्षक सुकुल बनाउनुको साथै सजवाटका सामग्री बनाउन थालेपछि उनीहरूमा उत्साह थपिएको छ ।

‘दश कल्ली परालको सुकुलले भन्दा ३ कल्लीबाट बनेको सोफा कुर्सीले आम्दानी बढी दियो,’ उनी सुनाउँछिन्, ‘थोरै परालबाट धेरै आम्दानी हुन थालेको छ ।’ पछिल्लो समय  किसानको जमिनमा कमी आएको र भएको पराल पनि खेतबाटै च्याउ खेती गर्ने किसानले किनेर लैजान थालेपछि परम्परागत परालको काममा संकट आएको थियो। 

सीपलाई नयाँ रूप दियो भने आम्दानी बढ्ने उनको बुझाई छ । तीन रोपनी खेतकी धनी चिरिमायाले खेतबाट आउने धानभन्दा परालबाट बढी कमाउने गरेकी छन्।

सानागाउँका झण्डै दुई हजार घरधुरी मध्ये अधिकांशले फुर्सदको समयमा सुकुल बुन्ने गरेको स्थानीय जयराम नेमकुलले बताए । पछिल्लो समय धेरैले यो काम छाडेको उनको बुझाई छ ।  नयाँ सीप र तालिमले फेरि कामले नयाँ गति लिने आशा छ,’ उनले भने, ‘त्यसो भयो भने यो ठाउँको मौलिकता जोगिने छ।’ 

परालको ‘गलैंचा’ 
सानागाउँकी तारा महर्जन आधुनिक तरिकाले बुनेको सुकुलले बजारमा बिक्री हुने गलैचाको जस्तै मूल्य पाउने सुनाउँछिन् । उनले केही वर्षअगाडि आफैंले बुनेको ‘पराले सुकुल’ सात हजार रूपैयाँमा बिक्री भएको सुनाइन् । ९ फिट लम्बाइ र ६ फिट चौडाइको उक्त सुकुल कुनै गलैंचाभन्दा कम्ता नरहेको उनले बताइन्। 

यस्तो सुकुल बनाउन केही बढी मेहेनत गर्नुपर्ने उनको बुझाई छ । मनतातो पानीमा सर्फले धोएर निलोतुथो र फिटकिरी मिसाएर तयार भएको उक्त सुकुल निकै मुलायम रहने  उनले सुनाइन् । ‘उक्त सुकुलमा हामीले बीचबीचमा बुट्टा पानी काटेका थियौं,’ उनले थपिन्, ‘ग्राहकले खुसी हुँदै लगे ।’  त्यसरी निर्माण गरिएको सुकुल पछिसम्म पनि ढुसी र कीरा नलाग्ने गरी बुनिएको जानकारी उनले दिइन्।

त्यसैले होला ‘लाज्या’(फुर्सद)को काम भनेर चिनिएको यो पेसा व्यावसायिक बन्दै गएको रामचन्द्र महर्जन सुनाउँछन् ।  परालबाट सुकुलसँगै जुत्ता–चप्पलदेखि थुप्रै सामग्री बन्न थालेको छ । अहिले त विभिन्न रेष्टुरेन्ट, होटल तथा घरबाट समेत अर्डर आउन थालेको उनी सुनाए । ‘अर्डर अनुसारको सामान उलपब्ध गराउन सकेका छैनौं,’ उनले भने, ‘तालिम पछि यो माग पूरा हुने आशा छ।’ 

नगरपालिकासँग सहकार्य गरेर कामलाई अगाडि बढाउने उनको योजना छ । उनले गाउँका उत्पादन संकलन गरेर सो रुम खोल्ने योजना भएको समेत सुनाए । ‘हामी उत्पादित सामग्री उचित मोल तिरेर किन्ने छौं,’ उनले भने, ‘त्यहाँबाट हामी बजारमा पु-याउने छौं।’ 

यस क्षेत्रका किसानले पुरानो पेसालाई आधुनिकीकरण  गर्दा स्थानीय सबै रमाएका छन् । उनीहरू सुकुलमा बुट्टा भर्ने मात्र होइन, पराले सोफा, ब्याग, मन्दिरलगायत कलात्मक सामग्री बनाएर आम्दानी गर्न थालेका छन् । ‘अब परालको त्यान्द्रोको मोल पनि बढेको छ,’ प्रेममाया महर्जन भन्छिन्, ‘नयाँ कामले नयाँ खुसी दिएको छ।’ 

प्रकाशित: १३ आश्विन २०७५ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App