coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

घट्न थाले चितवन निकुञ्ज घुम्ने पर्यटक

चितवन– चैतमा आसलाग्दो देखिएको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या वैशाखबाट ओरालो लाग्न थालेको छ । चैतको तुलनामा वैशाख र जेठमा पर्यटक संख्या क्रमशः घढिरहेको छ । गत वर्ष वैशाखमा आएको भूकम्पपछि सुस्ताएको पर्यटन असोजमा संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीले थप मारमा परेको थियो ।

भूकम्प र नाकाबन्दीको असर हटे पनि पर्यटन आवागमनमा उल्लेख्य सुधार हुन सकेको छैन । अघिल्ला वर्ष महिनामा कम्तीमा १० हजार पर्यटक आउने गरेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ । यो आर्थिक वर्षको ११ महिनामा जम्मा दुई महिनामा मात्रै निकुञ्ज घुम्ने पर्यटक संख्या १० हजार नाघेको छ ।

अघिल्ला आर्थिक वर्षमा महिनामा बढीमा २५ हजार पर्यटकले चितवन निकुञ्ज घुमेको तथ्यांक छ । तर यो आर्थिक वर्षमा अहिलेसम्म निकुञ्ज घुम्ने सबैभन्दा धेरै पर्यटकको संख्या त्यसको आधा पनि पुगेको छैन । चितवन निकुञ्ज काठमाडौं र पोखरापछि सबैभन्दा धेरै पर्यटक घुम्न आउने देशको महह्वपूर्ण गन्तव्य हो । निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा र पाटे बाघ हेर्न पर्यटक यहाँ आउँछन् ।
चितवन निकुञ्ज मुख्य कार्यालय कसराका अनुसार गएको जेठ महिनामा चितवन घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या ९ हजार १ सय २१ थियो । त्योभन्दा अघिल्लो महिना वैशाखमा ११ हजार ३ सय ९२ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । चैतमा निकुञ्ज घुम्ने पर्यटक संख्या १२ हजार १ सय ४७ रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

यो आर्थिक वर्षको अहिलेमा सबैभन्दा बढी पर्यटक चैतमा आएका छन् । सामान्य अवस्थामा कात्तिक महिनामा निकुञ्ज घुम्ने पर्यटकको संख्या सबैभन्दा धेरै हुन्थ्यो । योभन्दा अघिल्लो आर्थिक वर्षको कार्तिकमा २५ हजारभन्दा धेरैले निकुञ्ज घुमेका थिए । यो वर्षको कात्तिकमा निकुञ्ज घुम्ने पर्यटक ८ हजार ७ सय ५३ मात्रै रहेको निकुञ्ज कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

कात्तिकभन्दा अघिका महिनामा पर्यटक संख्या पाँच हजार पनि थिएन । त्यसपछिका महिनामा पर्यटक संख्या पाँच हजारभन्दा धेरै नै रहेको छ । सामान्य अवस्थामा पनि जेठ असार लागेपछि पर्यटक संख्या कम हुन्छ । तर नाकाबन्दी हटेपछिका सामान्य देखिएका पछिल्ला महिनामा पर्यटक संख्या १० हजारभन्दा कम हुनु भनेको सोचनीय विषय भएको पर्यटन व्यवसायी बताउँछन् ।

‘भूकम्प, नाकाबन्दीजस्ता असामान्य अवस्थाले यो वर्ष पर्यटन सामान्य अवस्थामा फर्कन सकेन भन्ने देखियो । भदौदेखि भने केही सुधार होला भन्ने आस छ,’ क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेले भने । भदौदेखि नयाँ पर्यटकीय याम सुरु हुन्छ ।

चितवन निकुञ्ज घुम्न चिनियाँ पर्यटक आउने क्रम बढेसँगै बाह्रै महिना पर्यटकको चहलपहल हुन्थ्यो । तर भूकम्पपछि चिनियाँ पर्यटक आउन निकै कम भएको सुमन घिमिरेले बताए । त्यसैले पर्यटकको संख्यामा सुधार नदेखिएको उनको भनाइ छ । यो आर्थिक वर्षको ११ महिनामा कुल ८१ हजार ८ सय १३ पर्यटकले निकुञ्ज घुमेका छन् । अघिल्लो आर्थिक वर्षमा निकुञ्ज घुम्ने १ लाख ७८ हजार थिए ।

चीनबाट चितवन निकुञ्ज घुम्न आउने चिनियाँ पर्यटक हात्ती सफारीमा रमाउँदै गरेको फाइल फोटो । यो वर्ष चिनियाँ निकै कम आएको व्यवसायी बताउँछन्।
 

 

प्रकाशित: १० असार २०७३ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App