coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाली बुलेटलाई ग्यास ढुवानी दिन भारत सहमत

तस्बिरः रासस

काठमाडौ–अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्न पाउने भएका छन्। नेपाल र भारतमन्त्रीस्तरीय बैठकमा नेपाली बुलेटलाई ग्यास ढुवानी गर्न दिने सहमति भएको हो।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो। सहमति अनुसार नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन्।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी गराए। उनले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने जनाए ।

मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम दू्रतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउँदै शिघ्र परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए। नेपाल र भारतबीच २०७२ भदौ ७ गते उक्त परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो।

भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्यासको पाइपलाइन बिछ्याएको र नेपाललाई त्यसबाट कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार विमर्श भएको बताए। मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण गरेका छन्।

बैठकमा दुवै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी पनि सहभागी थिए। काम शुरु भएको ३० महीनाभित्र पाइपलाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ ६८.९ किलोमिटर लामो उक्त पाइपलाइन निर्माणको काम दू्रतगतिमा भइरहेको छ। परियोजना पूरा भएपछि नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले प्रतिघण्टा १९१ किलोलिटर इन्धन आयात गर्न सक्नेछ।रासस 

 

प्रकाशित: १२ आश्विन २०७५ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App