coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीले राजीनामा मागेपछि शिक्षा मन्त्रीले भने : विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। व्यस्तताका कारण विधेयक पारित हुन नसकेको उनको भनाई छ। 

विभागीय मन्त्री पोखरेलको अवरोधकै कारण संघीय संसदको दोस्रो अधिवेशनमा संशोधित चिकित्सा विधेयक नआएको भन्दै डा. गोविन्द केसीले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा मागेका थिए। 

डा केसीले राजीनामा मागेपछि शिक्षा मन्त्री पोखरेलले विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको र आउँदो दशैंपछि शुरु हुने हिउँदे अधिवेशनमा पारित गरिने जवाफ दिएका हुन्।

‘अहिले हामी संविधानमा उल्लेख गरिएका मौलिक हकसम्बन्धी ऐन बनाउनका लागि व्यस्त भयौं’, उनले भने, ‘जसले गर्दा चिकित्सा विधेयक पारित हुन सकेन। अब अर्को अधिवेशनमा पारित गराउँछौं।’  

यसअघि डा केसीले चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेको भन्दै विरोध जनाएका थिए। आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गरेर ल्याउनुपर्ने जिम्मेवारीमा रहेका विभागीय मन्त्री पोखरेलले उल्टै अवरोध गरेको केसीले आरोप लगाएका थिए।

‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ’, केसीले भनेका छन्।

प्रकाशित: १२ आश्विन २०७५ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App