coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीका सरकारी कार्यालयमा दैनिक धर्ना र अवरोध

खानेपानी तथा सरसफाई  डिभिजन कार्यालयको गेटमा धर्नामा बसेका स्थानीय ।   तस्बिरः अनिल/नागरिक

सिन्धुली – लामो समयदेखि सिन्धुलीमा रहेका सरकारी कार्यालयहरू स्थानान्तरण गर्न लागेको भन्दै सिन्धुलीका स्थानीयले सरकारी कार्यालयमा दिनैपिच्छे धर्ना दिन थालेका छन्। गत बुधबारबाट सुरु भएको आन्दोलन निरन्तर जारी राखेपछि सिन्धुलीमा रहेका सरकारी कार्यालयमा दैनिक धर्ना र अवरोध गर्न थालेका हुन्।

डिभिजन कार्यालयहरू धमाधम केन्द्रले सार्ने निर्णय गरेको भन्दै ऐतिहासिक महत्व बोकेको सिन्धुलीमा रहेको सबै कार्यालय नसार्न स्थानीयले विरोध सहित स्थानान्तरण गर्ने भनिएका कार्यालयमा पालैपालो धर्ना दिन थालेका हुन्। बिहीबार एक घण्टा शहरी विकास तथा भवन डिभिजन कार्यालयमा धर्ना दिएका स्थानीयले शुक्रबार पुन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा धर्ना दिनुका साथै आधा घण्टा बिपी राजमार्ग अवरोध गरी सवारी अवातजावतमा रोक लगाएका थिए। राज्य पुर्नसंरचनाको नाममा जिल्लामा रहेका कार्यालय अन्य जिल्लामा सार्ने भएपछि यहाँका आम नागरिले चरणबद्ध आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनका कार्यक्रमनै सार्वजानिक गरी स्थानीयले सरकारी कार्यालयमा दैनिक धर्ना दिन थालेका हुन्। हाम्रा माग पुरा नभएसम्म हामी दैनिक सरकारी कार्यालयमा धर्ना दिन्छौ, नागरिक समाजका अगुवा तथा संयोजक प्रल्हाद पोखरेलले भने,‘आन्दोलनका कार्यक्रम अनुसार आइतबार सिचाई डिभिजन कार्यालय र भु–संरक्षण कार्यालयमा धर्ना दिने र १ घण्टा विपी राजमार्गमा अवरोध गर्ने कार्यक्रम तय भएको छ।’ उनका अनुसार सोमबार जिल्लाबाट स्थानान्तरण हुने भनिएकै जिल्ला जनस्वास्थ्य कार्यालय र प्राविधिक कार्यालयमा धर्ना दिने र १ घण्टा विपी राजमार्ग अवरोध गर्ने निर्णय भएको छ। यस्तै माग पुरा नभए मंगलबार स्थानान्तरण हुने भनिएका कार्यालयहरुमा प्रदेशको संरचना अनुसारका प्रादेशिक होडिङ बोर्ड राख्ने कार्यक्रम तय भएको तरुण दल सिन्धुलीका अध्यक्ष विजय कुवरले जानकारी दिए। 

धर्नामा राजनीतिक दल उद्योगी व्यापारी तथा जनप्रतिनिधिको पनि बाक्लो उपस्थिति छ।   जिल्लाबाट निर्वाचित प्रदेश सांसद तथा संघका सांसदले अगुवाइ नगरेको भन्दै नागरिक समाजलनै चरणबद्ध आन्दोलनको अगुवाई गरेको स्थानीयले जनाएका छन्। राज्य पुर्नसंरचना र संघियतापछि  सिन्धुलीमा रहेका शहरी विकास तथा भवन डिभिजन कार्यालय, सिचाई डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, भु–संरक्षण कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय तथा प्राविधिक कार्यालयहरू सिन्धुलीबाट रामेछाप स्थानान्तरण गर्ने निर्णय भएको र सो निर्णय सिन्धुलीबासीलाई मान्य नहुने नेपाली काँग्रेसका नेता माणिक ढकालले जानकारी दिए। 

ऐतिहासिक महत्व रहेको सिन्धुलीबाट कार्यालय सार्न नमिल्ने स्थानीयको माग छ। हामीले रामेछापमा कार्यालयनै जानुहुँदैन भनेका होइनौं, तर सिन्धुलीमा रहेका कार्यालय सिन्धुलीमै हुनुपर्छ यहाँ प्रशस्त कार्यालयका भौतिक संरचना छन्, नेता ढकालले भने,‘जहाँ रहेका छन् ति कार्यालय त्यहि आवश्यक हुन्छ। त्यो राज्यले सरकारले बुझ्नुपर्छ।’ तत्कालिन राजाहरू रणबहादुर शाह गिर्वाणयुद्ध विरविक्रम शाह लगायत राणाकालिन प्रशासन पञ्चायती प्रशासन र प्रजातान्त्रिक प्रशासनको प्रमुख प्रशासनिक केन्द्रको रुपमा सिन्धुलीलाई राखेको र संघिय गणतान्त्रिक पछिको प्रशासनले यस जिल्लाको महत्व र मर्मलाई नबुझेर यो जिल्लामा कायम भएका सरकारी कार्यालयहरू अन्य जिल्लामा स्थानान्तरण गरी सिन्धुलीमा अपमान गर्ने कार्य अगाडि बढेको र यो निर्णय फिर्ता नभए कडा आन्दोलनमा जाने स्थानीय बताउछन्।      

प्रकाशित: १२ आश्विन २०७५ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App