८ वैशाख २०८१ शनिबार
समाज

प्रकोपको पीडा : एकैदिन १० को मृत्यु

काठमाडौं- देशका विभिन्न भागमा भएका प्राकृतिक प्रकोपका घटनामा सोमबार १० जनाको मृत्यु भएको छ। मोरङमा चट्याङ लागेर तीन, कैलालीमा नदीमा डुबेर तीन र बाग्लुङमा पहरो फुटेर खसेको ढुंगाले च्यापिएर चार जनाको ज्यान गएको हो।

विराटनगर संवाददाताका अनुसार मोरङको कोसी हरैंचा नगरपालिका–१ स्थित बाघझोडामा सोमबार मध्याह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। चट्याङले घाइते पाँच बालकमध्ये तीन जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, वेलवारीका अनुसार मृत्यु हुनेमा कोसी हरैंचा–१ का १३ वर्षका चिराग खुलाल (बस्नेत), १२ वर्षका राहुल सुब्बा र १३ वर्षका सन्देश उराव छन्। घाइते ९ वर्षीय  रोशन भट्टराई र ११ वर्षका आनन्द भट्टराईको प्रतिष्ठानमा उपचार भइरहेको छ।

सिसौ र बा“स ‰याङबीचको चौरमा खेलिरहेका  बेला पाँचै जनालाई सोमबार दिउँसो १ः४५ बजे चट्याङ लागेको प्रहरीले जनाएको छ। घाम लागिरहेका बेला परेको चट्याङले करिब एक सय फिट अग्लो सिसौको रुखसमेत लछारेको  घटनास्थल पुगेका एक प्रहरीले बताए।

संविधान दिवस अवसरमा विद्यालय छुट्टी भएकाले बालक जम्मा भएर गाउ“ नजिकैको खाली चौरमा खेल्न गएका थिए। स्थानीय खगेन्द्र रिजालका अनुसार घाम लागे पनि गड्याङगुडुङ भइरहेको थियो। यत्तिकैमा सिसौको रुखमा आगोको झिल्का  देखियो। चौरमा खेलिरहेका ५ बालकलाई  चट्याङ लागेछ। स्थानीय दौडेर घटनास्थल पुग्दा तीन जना अचेत थिए। तत्काल  पाँचै जनालाई सुकुना सामुदायिक अस्पताल पुर्‍याइएको रिजालले बताए। उनका अनुसार सामान्य जा“चपछि धरान लगिए पनि तीन जनालाई बचाउन सकिएन। घाइते २ जनाको अवस्था सामान्य रहेको रिजालले बताए। 

मृतक चिराग सिद्धार्थ बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्थे।  राहुल कुसुना उच्चमाविमा कक्षा ७ र सन्देश कक्षा ६ मा पढ्थे। घाइते आनन्द सिदार्थ बोर्डिङमा कक्षा ३ र रोशन कक्षा ४ मा पढ्छन्। घाइते खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

चिरागका बुबा चन्द्रबहादुरका अनुसार स्कुल बिदा भएकाले केटाकेटी दिउँसो बाँस ‰याङ्नेरको चौरमा खेल्न गएका थिए। पानी पर्ने वा भयंकर चट्याङ पर्ने कुनै छेकछन्द थिएन। तर, एक्कासि जमिनै हल्लिने गरी चट्याङ परेको उनले सुनाए।

घाइते बालक आनन्दका अनुसार आर्मी बन्न तालिम लिने भनेर लाममा उभिएका बेला ठूलो आबाज आयो। 'बाँसघारीमुनि आर्मी ट्रेनिङ खेल्दै थियौं, लाममा उभिएका थियौं,' प्रतिष्ठानमा उपचाररत उनले भने, 'ड्याम्म पड्केको सुनें। केही बेरपछि त मेरो खुट्टै चलेन।'

डुबेर तीन किशोरको मृत्यु

धनगढीस्थित नागरिक संवाददाताका अनुसार कैलालीको अत्तरिया नगरपालिका– १३, बाँसघारी टोलका तीन किशोरको सोमबार गोदावरी नदीमा डुबेर ज्यान गएको छ। अत्तरिया– १३ स्थित पुष्पाञ्जली बोर्डिङ स्कुल कक्षा ७ मा अध्ययनरत १३ वर्षीय उमेश विक, घण्टेश्वर प्राविमा कक्षा ३ मा अध्ययनरत १४ वर्षीय निराजन विक र जिके उच्चमाविमा कक्षा ९ मा पढ्ने १५ वर्षीय विशाल कार्कीको मृत्यु भएको हो।

दिउँसो २ बजेतिर घरबाट नुहाउन निस्केका उनीहरू अत्तरियादेखि ५ सय मिटर पश्चिमतर्फ गोदावरी नदीमा साँझ ५ बजेतिर डुबेका थिए। चार किशोर नदीमा नुहाउन गएका थिए। सँगै गएका किशोर सुमित जयगढीले डुबेको जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा गएका थिए। तीनै जनालाई बालुवामा गाडिएको अवस्थामा फेला पारेको उमेशका बुवा लाली लुहारले बताएका छन्। सोमबार साँझ ६ बजेतिर नदीबाट उद्धार गर्नेबेला तीनैजनाको श्वास चलिरहेको उनले बताए। 'अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गयो,' गला अवरुद्ध पार्दै लुहारले भने। उनीहरु घरमा कसैलाई नभनी नदीमा नुहाउन गएको उनले बताए। बिहान खाना खाएर दिउँसो २ बजेसम्म घरमै भएको छोरो नदीमा नुहाउन गएको थाहा नपाएको उमेशकी आमा मानमतीले बताइन्।

नदीमा कहिल्यै नुहाउन नजाने छोरा सोमबार मात्रै गएको मृतक निराजनका बुवा पदम विकले बताए। 'घरमा कसैलाई नभनी नुहाउन गएछ, कहिल्यै नजाने उसलाई पौडी खेल्न पनि आउँदैनथ्यो,' उनले भने, 'पानी गहिरो छैन भनेर नदीमा जाँदा डुबेछ।' गोदावारी नदीमा मान्छे बगाउने र डुबाउने पानी नभए पनि उनीहरू नुहाएको ठाउँमा गहिरो र खुट्टा धसिने बालुवा भएको उनले बताए।

चार जना नुहाउन गएका थिए, तीन जना सँगैको नदीमा नुहाउदाँ डुबेको देखेपछि डरले भाग्दै सुमित फर्केका थिए। 'तीन जना तालमा गएपछि डुबेको देखेपछि म डरले फर्केर खबर गरेको हुँ,' उनले भने।

कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले किशोर डुबेको जानकारी आएपछि प्रहरीले नदीबाट तीन किशोरलाई बेहोस अवस्थामा उद्धार गरेको बताए। पानी निकाल्ने तरिका अपनाएर प्राथमिक उपचार नदीकै किनारमा गरेर बेहोस अवस्थामा रहेका उनीहरुलाई सेती अञ्चल अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको उनले बताए। एकै टोलका तीन किशोरको मृत्यु भएपछि टोल नै शोकमा डुबेको छ।

ढुंगाले च्यापेर चारको ज्यान गयो

पहरो फुटेर खसेका दुईवटा ठूला ढुंगा घरमा बजि्रँदा बाग्लुङको दुर्गम गाउँको एकै परिवारका चार जनाको ज्यान गएको छ।

आइतबार रातिको घटनामा बुंगादोभान– ४ की भीमकुमारी रोका, उनकी २४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजित र ९ वर्षीया छोरी मायादेवी रोकाको मृत्यु भएको हो। सुतिरहेका बेला माथिबाट खसेका ठुल्ठूला ढुंगाले घर भत्किएपछि च्यापेर आमासहित दुई छोरी र एक छोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका प्रमुख चक्रबहादुर सिंहले बताए। 'सुतिरहेको अवस्थामा एकैपटक च्यापिएर चारजनाको ज्यान गयो,' सिंहले भने, 'रोकाका श्रीमान्को यसअघि नै मृत्यु भएकाले परिवारै सखाप भएको छ।'

घटना रातमा भएकाले समयमै उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। 'बिहानीपखको घटना भएकाले उज्यालो भएपछि स्थानीयले खबर गरे,' सिंहले भने, 'प्रहरी घटनास्थल पुग्दा सबैको मृत्यु भइसकेको थियो।' घर पूर्ण रूपमा पुरेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी बोंगादोभानबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घरमाथि रानीवनको पहरो फुटेर ढुंगा खसेको स्थानीयले बताए। पहरोमा पहिरो गएको नभई दुई ठूला ढुंगा पल्टिँदै आउँदा खरले छाएको छानोसहित घरको पछाडिपट्टिको पर्खाल भत्किएको स्थानीय गोविन्द बुढाले बताए। 'भीमकाय ढुंगाले घर कच्याकुचुक भएको छ,' बुढाले भने, 'रातको समयमा एक्कासि ढुंगा आएर घर भत्किएकाले कोही पनि भाग्न पाएनन्।'

घटनास्थल बाग्लुङ सदरमुकादेखि सवा सय किलोमिटर पश्चिममा पर्छ। घटनाबारे बिहानमात्र थाहा पाएको मृतकका आफन्त धनबहादुर रोकाले बताए। राति ढुंगा खसेको आवाज सुने पनि घर भत्किएर भाउजु र छोराछोरी च्यापिएको सोमबार बिहान मात्र थाहा पाएको उनले बताए। 'बेलुका खाना खाएर सुत्नुभएको हो,' मृतकका देवर थापाले भने, 'उज्यालो भएपछि घर भत्किएको थाहा पायौं।' त्यसपछि गाउँका सबै भेला भएर पुरिएको ठाउँबाट सबैको शव निकालेको उनले बताए। 'सुरुमा भाउजुको खुट्टा देखेपछि खोस्रन थाल्यौं,' थापाले नागरिकसँग टेलिफोनमा भने, 'सबै जना सुतिरहेको ठाउँमा मृतअवस्थामा भेट्टायौं।' यसअघि नै दाजु गुमाएका थापाको परिवारमा एकपछि अर्को बज्रपात परेको छ। 'दैवले दाजुको परिवार नै सखाप पार्‍यो,' थापाले दुःख व्यक्त गरे।

भीमकुमारीका पतिको मुत्यु आठ वर्षअघि नै भएको थियो। एकै परिवारका चार जनाको मृत्युले आफन्त शोकमा डुबेका छन्। मृतकको शवलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा पोस्टमार्टम गरी सोमबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ। एकै घरका चार जनाको मृत्यु भएपछि जिल्ला दैवी प्रकोप तथा उद्धार समितिले काजकिरिया र राहत स्वरुप १ लाख १० हजार रुपैयाँ आफन्तलाई दिने निर्णय गरेकोे बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए।

(विनोद सुवेदी/विराटनगर, रोहित राई/धरान, दिलीप पौडेल/काठमाडौं, दिलबहादुर छत्याल/धनगढी)

प्रकाशित: ४ आश्विन २०७३ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App