८ वैशाख २०८१ शनिबार
अर्थ

नमूना पर्यटकीय गन्तव्य बनाउने उद्घोष

काठमाडौं – विश्व पर्यटन दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा वक्ताहरुले नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेका छन् । राजधानीमा बिहीबार आयोजना गरिएको कार्यक्रममा पर्यटन व्यवसायीदेखि पर्यटन बोर्डका पदाधिकारी हुँदै पर्यटनमन्त्री रविन्द्र अधिकारीसम्मले नेपाललाई नमूना पर्यटकीय गन्तव्य बनाउने उद्घोष गरेका हुन्। 

नेपाल पर्वतारोहण संघको (एनएमए) २८औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले १० वर्षभित्र नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने बताए । 
‘सरकारले १० वर्षको अवधिमा नेपालको राष्ट्रिय गौरवका पूर्वाधार निर्माण गरी सक्छ । भौतिक पूर्वधारमा उल्लेख्य विकास गर्ने सरकारको रणनीति नै हो,’ पर्यटन मन्त्री अधिकारीले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने मितिमात्रै तोक्न बाँकी छ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठोस योग्दान पुग्नेछ।’ 

गौतमबुद्ध विमानस्थल सञ्चालनपछि पर्यटकलाई नेपाल भिœयाउन सहज वातावरण बन्ने मन्त्री अधिकारीको भनाइ थियो । विश्वको शीर सगरमाथा मात्र नभएर अधिकांश अग्ला हिमाल नेपालमा भएका कारण पनि नेपाल विश्वको पर्यटकीय नमूना गन्तव्य रहेको उनले बताए। 

उनले नेपालको पर्यटन क्षेत्र १२ महिनै खुला रहेको बताए । ‘नेपाल पर्यटकीय हिसाबले सिजन र अफ सिजन भन्ने नै छैन,’ मन्त्री अधिकारीले भने, ‘टुरिजम एन्ड द डिजिटल ट्रान्सफर्मेसनको नारा लिएर विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सामाजिक सञ्जालमा उच्च गुणस्तरीय सामग्री समावेश गरौं । यस्ले नेपालको प्रमोट गर्छ।’ 

२०२० मा २० लाख पर्यटक भिœयाउन ठूलो रकम खर्चेर मार्केटिङ नगर्न मन्त्रीको सुझाव थियो । ‘सामाजिक सञ्जालमा नेपालको उत्कृष्ट र गुणस्तरीय तस्बिर र भिडियो अपलोड गरौं जस्ले नेपाललाई थप चिनाउँछ,’ मन्त्री अधिकारीले भने । २७ वर्षदेखि बिग्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको काम भइरहेको उनले बताए। 

संघका अध्यक्ष सन्तवीर लामाले नेपाललाई विश्वमा नमूना बनाउन धेरै काम गर्नु नपर्ने बताए । ‘पारदर्शी समन्वय र एकताले नेपाललाई नमूना गन्तव्य बनाउन सक्छौं । पर्यटन व्यवसायी र सरकारले यसमा हातेमालो गर्नुपर्छ,’ अध्यक्ष लामाले भने, ‘प्रभावकारी समन्वय गर्न सक्यौं भने २०२० मा २० लाख पर्यटक ल्याउनु कुनै चुनौती होइन।’ 

यस्तै, नेपाल पर्यटन पत्रकार महासंघले पर्यटन मन्त्रायलयमा आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भ कार्यक्रममा समेत नेपाललाई नमूना गन्तव्यकै रुपमा विकास गर्नुपर्नेमा जोड दिइयो। 

उक्त कार्यक्रममा युएनडिपीका देशीय निर्देशक आइस्यानी लाबेले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई सार्थक तुल्याउन र नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन मूल आधार भएको बताए । नेपालमा पर्यटन प्रवद्र्धनका क्षेत्रमा गतिविधि विकासका लागि शान्तिको स्थायित्व, आकर्षक वातावरण, मनोरञ्जन र सहज पहुँच अनिवार्य रहेको उनले औंल्याए। 

होटल एसोसिएसन नेपाल (हान)का कार्यकारी प्रमुख टेकबहादुर महतले नेपाललाई कृषि तथा अर्गानिक पर्यटनमा जोड दिए । उनले भौगलिक विविधता अनुसारको संस्कृति, जीवनशैली भएका कारण नेपाल आकर्षक गन्तव्य रहेको बताए।

 

प्रकाशित: १२ आश्विन २०७५ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App