coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

अनशनकारीको स्वास्थ्य नाजुक

महोत्तरी- जर्जर अवस्थामा रहेको भिठामोड–जलेश्वर–जनकपुर सडक खण्ड ६ लेन बनाउनुपर्ने माग राख्दै सातादेखि आमरण अनशन बसेका चार जनाको स्वास्थ्य अवस्था नाजुक बनेको छ। भिठामोड–जलेश्वर–जनकपुर सडक खण्ड ६ लेन निर्माण गर्नुपर्ने माग राख्दै अनशन बसेका धनुषा–महोत्तरी संयुक्त संघर्ष समितिका संयोजक रामकुमार शर्मा, सत्तारुढ दल माओवादी केन्द्रका नेता सत्येन्द्र यादव, तमलोपाका रमणकुमार ठाकुर (आरके रोशन ) र स्वतन्त्र मधेसी गठबन्धनका रन्जितराज मधेसीको स्वास्थ्य गम्भीर बनेको उनको उपचारमा खटिएका चिकित्सकले जनाएका छन्।

स्वास्थ्य अवस्था बिग्रिएपछि चारै जनालाई सोमबार अनशनस्थलमै सलाइन चढाएको छ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोलीले अनशनकारीको अवस्था बुझेर तत्काल माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। चारै जनाले भिठामोड–जलेश्वर–जनकपुर सडक खण्डको मध्यमा पर्ने पिपराचोकमा भदौ २८ गतेदेखि आमरण अनशन थालेका हुन्।

नेपाल सरकारले आफ्नै लगानीमा सडक चार लेन बनाउने गरी शिलान्यास गरिसकेको छ। तर, ६ लेन बनाउनुपर्ने आफ्ना माग पूरा नभएको भन्दै उनीहरू अनशन बसेका हुन्। 'सात दिन आमरण अनशन बस्दा पनि सरकार गम्भीर भएन,’ अनशनरत शर्माले भने, 'पत्यारिलो सम्झौता नभएसम्म अनशन तोड्दैनौं।'

प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले भने अनशनकारीलाई सडकमा आमरण अनशन नबस्न आग्रह गरिसकेको बताएका छन्।  अनशनकारीको अवस्थाबारे जानकारी लिन सडक डिभिजन कार्यालय र हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई आग्रह गरेको उनले जानकारी दिए। उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जिल्ला स्वास्थ्य कार्यालयलाई समेत निर्देशन दिइसकेको प्रजिअ यादवले बताए।

हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रले पनि उक्त सडकमा भइरहेको आन्दोलनको कुनै तुक नरहेको बताएका छन्। 'सडक कालोपत्रे गर्न शिलान्यास भई काम सुरु भइसकेको अवस्थामा अनशन बस्नु गलत हो,' उनले भने, 'देशले धान्न सक्नेसम्मको सडक बनाउन थालेका छौं। आन्दोलनरत पक्षले त्यो कुरा बुझिदिनुपर्‍यो।'

आफ्ना व्यक्तिगत राजनीतिक अभिष्ट पूरा गर्न सडकमा आन्दोलन गर्न नहुने जिकिर गर्दै उनले स्थानीय प्रशासनले अनशनकारीलाई सडकबाट हटाउनुपर्ने बताए। 'हामीले उनीहरूको माग एडे्रस गरिसकेका छौं, अब थप कुरा गर्ने पक्षमा छैनौं,' उनले भने।

वर्षाको बेला भएकाले माटोको काम सुरु हुन समय लाग्ने र वर्षा सकेलगत्तै सडकमा माटो भरेर चौडा गर्ने काम सुरु हुने भएकाले यसमा सबैको सहयोग अपरिहार्य रहेको मिश्रले बताए।

भदौ १२ गते सडक निर्माण  माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई एकहप्ते अल्टिमेटसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन घोषणा गरेको संर्घष समितिले दुई चरणमा धर्ना जुलुस प्रर्दशन, यातायात बन्द र मानव साङ्लो प्रर्दशन गरेको थियो।

नेपाल सरकारले भिठामोड–जलेश्वर–जनकपुर सडक ९३ करोड ४३ लाख, ९३ हजार ५ सय ८१ रुपैयाँ लागतमा कालोपत्रे गर्ने भन्दै शिलान्यास गरी सर्वेको कामसमेत सुरु गरिसकेको छ।

संघर्ष समितिले सरकारबाट शिलान्यास भएको ४ चार लेन सडक निर्माण यथाशिघ्र सुरु गर्न, दसैंअगावै पूर्ण मर्मत गर्न, ३० महिनाको साटो १५ महिनामा निर्माण सम्पन्न गर्न, पेटी निर्माणकर्ताबाट नभई प्रमुख कन्सट्रक्सनद्वारा नै सडक बनाउन, ऐतिहासिक, धार्मिक तथा अन्तर्राष्ट्रिय एवं पर्यटकीय महŒवको सडक ६ लेन बनाउन स्थानीयको सहभागितामा सर्वदलीय/सर्वपक्षीय अनुगनमन समिति गठन गर्नुपर्ने लगायत माग राखेको छ।

प्रकाशित: ४ आश्विन २०७३ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App