८ वैशाख २०८१ शनिबार
अन्य

शाकाहारी परिकारको मज्जा

कीर्तिपुरकी बिजेता महर्जन (२७) साकाहारी हुन् । उनले सानै उमेरदेखि मांसाहारी परिकार खाएकी छैनन् । ‘म आफूले थाहा पाउने भएदेखि साकाहारी भएकी हु,’ उनी भन्छिन् । साकाहारीलाई खानाका परिकार नै हुँदैन भन्ने सोच निकै गलत रहेको उनी बताउँछिन्।

आफूले साकाहारी हुँ भन्दा सबै जना दंग पर्ने उनले सुनाइन् । उनी भन्छिन्, ‘नेवारी भएर पनि कसरी साकाहारी भएकी भनेर नसोध्ने कोही छैनन्।’

नेवारी समुदायमा हुर्के पनि साकाहारी बन्न सकिन्छ भन्ने उनी उदाहरण हुन् । उनी रेस्टुरेन्टमा फ्रेन्च फ्राई, मस्रुम पिजा, भेज मःमः, भेज चिाउमिन, भेज बर्गरलगायत परिकार खान रुचाउँछिन्।

नेवारी समुदायमा हरेक क्रियाकलापमा माछा, मासु, अन्डालाई अनिवार्य रूपमा प्रयोग गरेको पाइन्छ । यस समुदायमा हुर्केर पनि आफूलाई मांसाहारी खानाको परिकारबाट टाढा राखेकी बिजेता साकाहारी खानाका परिकारले शरीरलाई निकै फाइदा गरेको उनले बताइन्।

जीवन शर्मा प्राइभेट कलेजमा पढाउँछन् । उनी साकाहारी भएको ६ वर्ष भयो । त्यसअघि उनी मांसाहारी भए पनि त्यत्ति खान रुचाउँदैनथे । अहिले भने पूर्णरूपमा साकाहारी भएको उनी बताउँछन्।

अमानविय ढंगबाट काटमार गरेको देखेपछि खान नसकेको उनले सुनाए । उनी भन्छन्, ‘मलाई खासमा हाम्रो संस्कृतिले पशु वली गर्ने प्रथा नै मन पर्दैन, साकाहारी खानाले शरीर मात्र नभएर मस्तिस्कमा पनि शान्ति बनाउँछ।’

सर्वश्रेष्ठ प्राणीले पशुपन्छी मारेर खानु गलत भएको उनको भनाइ छ । मांसाहारी परिकार नभए चाडपर्व रमाइलो हुन्न भन्ने सोच गलत रहेको उनी बताउँछन् । ‘साकाहारी परिकार खाएर पनि चाडपर्वमा रमाइलो गर्न सकिन्छ,’ उनी भन्छन् । चाडपर्वको रमाइलोलाई माछा, मासुसँगै तुलना गर्नु निकै लज्जास्पद रहेको उनले बताए । ‘चाडपर्व हाम्रो सम्बेदनासँग जोडिएको हुन्छ, माछामासुसँग होइन,’ उनले भने।

‘साकाहारी परिकार लाभदायक’
डा. अरुणा उप्रेती, पोषणविद्

पोषणविद् डा. अरुणा उप्रेती साकाहारी भएको २५ वर्ष भइसक्यो । उनी आफै पोषणविद् भएकाले पनि स्वास्थ्यप्रति निकै ध्यान दिन्छिन् । आफू साकाहारी हुँदा शारीरिक फाइदा हुने भएकाले सकेसम्म साकाहारी हुन उनी सुझाउँछिन् । साकाहारी हुदा शरीर कमजोर हुने, शरीरमा आवश्यक प्रोटिन, खनिज पदार्थ कम हुन्छ भन्ने सोच गलत रहेको उनी बताउँछिन् । ‘साकाहारी परिकारलाई सन्तुलित रूपमा मिलाएर खान सकियो भने कुनै पनि प्रकारको शारीरिक समस्या आउँदैन,’ उनले भनिन्।

शरीरमा प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम, मिनिरल, आइरनको मात्रा मिलाउन सकियो भने साकाहारी बन्नु स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘शरीरमा प्रोटिनको लागि भटमास, तोफु, टुसा उमारेको गेडागुडी, गहतको दाल, भुटेको मकै भटमास, पनिर, ड्राई फुड खान सकिन्छ ।’ शरीरलाई जस्तो बनायो त्यस्तै बन्छ, तसर्थ हामीले खाइने खानाले हाम्रो व्यवहार निर्धारण गर्ने उनी बताउँछिन्।

प्रशस्त मात्रामा सागपातको प्रयोग गर्न सके शारीरिक मात्र नभएर मानसिक रूपमा पनि निकै फाइदा हुने उनको भनाइ छ।

साकाहारी मानिसले सागसब्जी टन्न खाने भएकाले शरीरमा रेसादार पदार्थ पर्याप्त हुने र कब्जियत जस्तो रोगबाट मुक्त हुने उनी बताउँछिन् । रेसादार खानेकुराले खाना पचाउन सहज गर्ने उनले बताइन् । ‘मांसाहारी खान रुचाउने साथीहरूले जिब्रोको मिठो स्वादको लागि चिल्लो, पिरो, मसला हाल्ने चलन छ, जसले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ,’ उनले भनिन् । अहिलेको नेपालीको समस्या मोटोपन र युरिक एसिड जसको लागि मांसाहारी खानाका परिकारले बढ्न अझ सघाउ पुर्याउने उनी बताउँछिन् । युरिक एसिड र मोटोपनको समस्या भएका व्यक्तिहरूले साकाहारी खानाका परिकार नै खाँदा पनि बिशेष ध्यान दिनुपर्ने उनी बताउँछिन्।

अखाद्य अन्न भनी हेपिएको गाउँघरमा सजिलै उपलब्ध हुने कोदो, फापर, बेसन, सातुका परिकारहरू प्रयोग गर्दा शरीरलाई अति आवश्यक सुक्ष्म पोषण तत्व, क्याल्सियम, प्रोटिन प्रशस्त उपलब्ध हुने उनी बताउँछिन्।

मौसम अनुसारका फलफुल वा जुस तथा चुकुन्दर नियमित प्रयोग गर्दा होमोग्लोबिनमा निकै फाइदा हुने उनले बताइन् । ‘हरियो सागमा लट्टेको साग (माटे)ले निकै फाइदा गर्छ, शरीरमा चाहिने आइरन प्रसस्त पाउन सकिन्छ,’ उनले भनिन्।

साकाहारी पनि धेरै प्रकारको देख्न सकिन्छ । एकथरि माछा, मासु, अन्डा, दूध तथा दुधबाट बनेका कुनै पनि पदार्थ तथा जिलाटिन हालिएको खाना समेत खाँदैनन्, जसलाई ‘भेगान’ भनिन्छ । अर्काथरि ल्याक्टो साकाहारी माछा, मासु, अन्डा तथा जिलाटिन हालिएको खाना नखाने तर दूध तथा दुधबाट बनेको पदार्थ खान्छन् । केहि हुन्छन्, अर्ध शाकाहरी जसले मासु खाँदैनन् । तर माछा खान रुचाउँछन् । यी व्यक्तिलाई ‘पेस्काटारियन’ भनिन्छ।

केहीले भने चारखुट्टे जनावारको मासु खादैनन् । तर, कुखुराको मासु खान्छन् । यी व्यक्तिलाई ‘पोलो भेजिटेरियन’ भनिन्छ।

माछा, मासु नखाने तर, अन्डा र दूध तथा दुधबाट बनाइएका पदार्थ खानेलाई ल्याक्टो ओभो शाकाहारी भनिन्छ।

पाटन ढोकास्थित अन्नपूर्ण स्विट्स् एन्ड फास्टफुडमा इन्डो चाइनिज मेन्यु पाउन सकिन्छ । यस रेस्टुरेन्टमा साकाहारीका लागि विभिन्न प्रकारका खानाका परिकारहरू उपलब्ध छन् । अन्नपूर्ण स्विट्स एन्ड फास्ट फुडका संचालक विवेक शर्माले सञ्चालन गर्दै आएको १२ वर्ष भन्दा बढी भइसक्यो । यसले साकाहारी खानाका विभिन्न परिकारका आइटमहरू बनाउँछ । साकाहारीका लागि धेरै परिकारहरू विकल्पको रूपमा उपलब्ध छ । स्वादिलो साकाहारीका परिकारको मज्जा लिन स्वदेशी तथा विदेशी ग्राहकहरूको भिड लाग्ने बताउँछन्, अन्नपूर्ण स्विट्स एन्ड फास्ट फुडका कर्मचारी उमेश आचार्य । साकाहारी परिकारको स्वादमा रमाउनेहरू अधिकांश शाकाहारी भए पनि मांसाहारी पनि उत्तिकै आउने उनी बताउँछन् । अन्नपूर्ण स्विट्स एन्ड फास्ट फुडमा चाटका परिकार, चाइनिज, इन्डियन खाजाका साकाहारी परिकार पाइन्छ।

प्रकाशित: १२ आश्विन २०७५ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App