५ वैशाख २०८१ बुधबार
अन्य

रथ तान्न तयार महिला

रथ तान्न टिसर्ट बाँडेपछि संयोजक नानीहेरा महर्जन (बीचमा निलो कुर्ता)समूहका साथीहरूसँग। तस्बिर : नागरिक

काठमाडौं ठमेलकी हसना महर्जन दिनदिनै मर्निङ्गवाक् जान्छिन् । उनलाई मर्निङवाक् जाँदा रमाइलो पनि लाग्छ। तर,गएको १० दिनदेखि उनीमर्निङवाक्कै समयमा नियमित भन्दाअलि बढी हिँड्न थालेकीछिन् । उनको यो हिँडाइ शनिबारबाट फेरि नियमित समयमा झर्नेछ । गएको १० दिन भन्दा बढी हिँड्नुको रहस्य थियो, कुमारीको रथ तान्नु । उनी भन्छिन्, ‘आजकुमारीको रथ तान्नु छ, त्यसैले तयारीको लागिअलि बढी हिँड्न थालेकी हुँ।’

आज शुक्रबार इन्द्रजात्राको अन्तिम दिन । इन्द्रजात्राको अन्तिम दिन पनि श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ जात्रा हुन्छ। यो दिनको विशेषता भनेकै तीनै वटा रथ महिलाले तान्नु हो । इन्द्रजात्रामा महिलाहरू रथ तान्नथालेको यसपटक समेत गरेर सातौं वर्ष हुँदैछ । काठमाडौं नेवाः किन्डर गार्टेनकी संयोजक हसना भने पहिलोपटक रथ तान्न जाँदैछिन्, त्यसैले उनी उत्साहित पनि छिन्।

‘एकदम उत्साहित छुँ, तान्न सक्छु भन्ने पूर्ण आत्म विश्वास छ । धेरै पहिलादेखि जानचाहेकी थिएँ, यसपालि भर्खर साइट जु-यो,’ उनले भनिन्।

हसना जस्तै रथ तान्न जानचाहने महिलाहरू धेरै छन्, तर सबैले यो मौकाभने पाउनेछैन । रथ तान्नको लागि पहिल्यै पास वा टिसर्ट लिइसकेको हुनुपर्छ । पास वा टिसर्ट भएकाहरूले मात्र रथ तान्न पाउँछन् । महिलाहरूले रथ तान्ने समयमा हूलमुलन हुन भन्ने उद्देश्यले इन्द्रजात्रा व्यवस्थापन समितिले नै पास र टिसर्टको व्यवस्था गरेको हो । समिति अन्तर्गत रहेको महिला समूहका सदस्य शान्ता महर्जनकाअनुसार यसपटक रथ तान्नको लागि २०० वटा टिसर्ट र स्वयंसेविकाको लागि ५० वटा पास, टिसर्ट बाँडिएको छ । ‘रथ तान्नचाहनेहरू त धेरै छन्, तर धेरै भयो भने गञ्जागोल हुन्छ, रथ तान्न नै गाह्रो हुन्छ, त्यसलै श्रीगणेश र श्री भैरवको रथ तान्न ५०–५० जनालाई र श्रीकुमारीको रथ तान्न १०० जनालाई पासको व्यवस्था गरेका छौं’ उनले भने।

इन्द्रजात्रामा जम्मा तीन दिन रथ जात्रा हुन्छ। पहिलो दिन ‘क्वःनेयाः’ भनेर परम्परागत नगरको तल्लो लागामा रथ तानिन्छ, दोस्रो दिन ‘थःनेयाः’मा माथिल्लो लागामा रथ तानिन्छ भने, अन्तिमदिन माथिल्लो लागाको मध्यभागमा रथ तानिन्छ। अन्तिम दिनको जात्रालाई ‘नानी चायाः’ भनिन्छ । सात वर्ष अगाडिसम्म यी तीनै दिन पुरुषहरूले नै रथ तान्दथे, तर २०६९ सालदेखि ‘नानीचायाः’को दिन महिलाहरूलाई रथ तान्नलगाइएको थियो। त्यसबेलादेखि रथ तान्न नेतृत्वगर्दै आएकी इन्द्रजात्रा व्यवस्थापन समिति अन्तर्गत महिला समूहकी संयोजकनानी हेरा महर्जनले यसपाली पनि महिलाहरूलाई रथ तान्नदिन सबै तयारी पूरा भइसकेको बताइन्। ‘सबै टिसर्ट, पासहरू वितरण गरिसकेको छौं, रथ तान्न आउनेहरूलाई पालनागर्नु पर्ने केही सुझावहरू पनि दिइसकेका छौं’ उनले भने।

महिला समूहले निकालेको १२ बुँदे सुझावमा कस्तो लुगा–जुत्तालगाएर आउँदा राम्रो हुने, रथ तान्दा के गर्नुपर्छ भन्ने उल्लेख गरिएको छ । संयोजक महर्जनका अनुसार सकेसम्म पाइन्ट, टिसर्टमा आउँदा राम्रो, नभए कुर्ता सुरुवाल पनि हुन्छ, तर सल नलगाउँदा बेश हुन्छ । त्यस्तै खुल्ला चप्पल नलगाई जुत्ता नै लगाउनु पर्छ । कपाल बाँध्नु पर्छ । गरगहना नलगाइ आएमा हराउने डर हुँदैन। साथैं रथ तान्न आउँदा पुरुष साथीहरू सँगै नल्याउन पनि उनले सुझाएका छन्। ‘पुरुष साथी आयो कि सँगसँगै हिँड्ने खोज्छन्, जसले अरुलाई पनि ‘डिस्टर्ब’ गरिदिन्छ । त्यस्तै रथ तान्दाबीचबीचमालाखे, पुलुकिसि आउँछन्, त्यस्तो बेलामा डोरी छोडि दिनुपर्छ’ उनले भनिन्।

महिलाहरूलाई रथ तान्नलगाउन भने ज्यापु महागुथि काठमाडौं महानगर समितिका तत्कालिन अध्यक्ष स्व. मोहनकृष्ण डंगोलको महत्वपूर्ण भूमिका रहेको छ। उनले नै इन्द्रजात्रा व्यवस्थापन समितिमा महिलाहरूलाई पनि रथ तान्नदिनु पर्छ भन्ने प्रस्ताव लगेको थिए। ‘त्योबेला विरोध पनि आएको थियो, महिलाहरूले रथ तान्नु हुँदैन, देवी रिसाउँछन् भन्नेहरू पनिआए, तर धेरैले यो एउटा ऐतिहासिककार्य हो भनेर समर्थन नै गरे’ संयोजक महर्जनले सम्झे।

इन्द्रजात्रा व्यवस्थापन समितिमा महिलाहरूलाई रथ तान्नदिने सहमति भएपछि महागुथि महानगर समितिका अध्यक्षमहर्जनले यो कार्य सफलपूर्वक सञ्चालनगर्नको लागि धेरै साथदिएको उनी सम्झन्छन्, ‘हामीलाई निपहिला गर्न सक्दैनौं कि जस्तो लागेको थियो, तर उहाँले तिमीहरूले गर्न सक्छौ भनेर धेरै हौसला दिनुभयो।’

पहिलो वर्ष महिलाहरूलाई श्रीकुमारीको मात्र रथ तान्न दिइएको थियो । त्यो पनि वसन्तपुरबाट प्याफल सम्ममात्र भनेको थियो । तर पहिलो वर्ष नै रथ तान्न महिलाहरूको हूललागे, प्याफलसम्म भनेकोमा पूरै रथ परिक्रमा गराउँदासम्म महिलाहरूले नै ताने। यो देखेपछि दोस्रो वर्षदेखि श्रीगणेश र श्रीभैरवको रथ पनि महिलाहरूलाई नै तान्न दिइएको थियो।

महिलाहरूले रथ तान्नु ऐतिहासिक घटना भएपनि नेवार समाजमा महिलाहरू धार्मिक, संस्कारका कार्यमा कहिल्यै पनि बर्जित नभएको संस्कृतिविद् शरद कसाःले बताए।  ‘पहिला पहिला महिलाहरूलाई रथ तान्नन लगाउनुको कारण रथ तान्दा बल प्रयोग गर्नु पर्ने भएकोले मात्र हो। रथ तान्दा चोटपटक लाग्न सक्ने, बल प्रयोग गर्नु पर्ने हुन्छ। नेवार समाजमा परम्परादेखि कृषि कार्यमा होस् वा अरु कुनै कार्यमाहोस् बल प्रयोग गर्नुपर्ने कार्य पुरुषहरूले नै गर्दै आएको छ। त्यसैले मात्र महिलाहरूलाई रथ तान्ननदिएको हो, बर्जित गरिएको होइन। नेवार समाजमा जन्मदेखि मृत्यु संस्कारसम्म महिलाहरू नभइ हुँदैन। त्यसैले महिलालाई बर्जित गरेर रथ तान्ननदिएको भन्न मिल्दैन’ उनले भने।

‘महिलाहरूले रथ तान्नु हुन्न, देवी रिसाउँछन् भन्नु गलत व्याख्याहो । पाटनको रातो मच्छेन्द्रनाथको रथ पहिला देखि नै महिलाहरूले पनि तान्दै आएको छ । अब इन्द्रजात्रामा पनि महिलाहरूले रथ तान्न थालियो, धेरै राम्रो भयो’आज रथ तान्न जान तम्सिएकी हसनाले भनिन्, ‘एकदम खुसी र उत्साहित छु । सानो बेलादेखि भगवानप्रति आस्था छ, कुमारी मान्दै आएको छु, अहिले कुमारीकै रथ तान्नपाउँदा धेरै खुसी छु।’

प्रकाशित: १२ आश्विन २०७५ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App