छायाँले प्रकाशको स्रोत देखाउँछ

शुक्रबार, १२ असोज २०७५, १० : ४७ डा. सरोज धिताल

विश्वभरि नै कम्युनिस्ट आन्दोलनका बारेमा बग्रेल्ती प्रश्न उब्जेको स्थितिमा पनि यो देशमा जनताले कम्युनिस्टहरूलाई स्थानीय तथा संघीय चुनावमा जिताए । एकार्कालाई मन परी गाली गरिरहेका र बारम्बार एकार्कालाई धोका दिइरहेका दुई धारका कम्युनिस्टहरू एक हुँदैछन् भन्दा पनि जनताले पत्याए, खुसी भए । औपचारिक रूपमै एक भएर अहिले तिनले संसारकै ठूलो कम्युनिस्ट पार्टीका हैसियतले यो देशमा सरकार चलाइरहेका छन्।  

कम्युनिस्टहरूले भन्ने गरेको माक्र्सवाद भनेको के हो, यहाँका कम्युनिस्टहरू आफैँ कति माक्र्सवादी हुन्, माक्र्सवादले वर्तमानमा झेलिरहेका सैद्धान्तिक तथा व्यावहारिक चुनौती के हुन्, माक्र्सवादको विरोधमा जबर्जस्ती उभिइरहेको पुँजीवाद के हो, संसारमा त्यसको के स्थिति छ, त्यसका के चुनौती छन्, अन्यत्रका कम्युनिस्टले कस्ता काम गरेका छन्, आदि प्रश्नमा पसेर वा तिनको उत्तर पाएर जनताले भोट हालेका थिएनन् । जनताले केही सामान्य कुरा खोजेका थिए, केही सामान्य आशा राखेका थिए— स्थायित्व, समृद्धि, सामाजिक न्याय, लोकतन्त्रको प्रत्याभूति र राष्ट्रको इज्जत । दुई पार्टी जे जस्ता हुन्, एक हुँदैछन्, बहुमतको सरकार बनाए भने आफ्ना यी अत्यन्त स्वाभाविक अपेक्षा त पक्कै पूरा गरिदेलान् कि भन्ने जनताले आशा गरेका थिए । भारतले दुःख दिएका बेला नपत्याउँदो गरी ओलीले लिएको अडानको पनि ठूलै भूमिका थियो।

सपनाको व्यापार र ‘लोकरिझ्याइँ’मा मात्र भर पर्नेहरूको सत्ता बालुवाको घरजस्तै छिटो ढल्छ।

तर सरकार बनेको यति लामो समय बितिसक्दा पनि जनताका आकांक्षा पूर्तिको दिशामा भन्दा निराशातर्फ देश बढिरहेको अनुभूति धेरैले गरिरहेका छन् । सरकार भन्छ, ‘हामीलाई कसैले कामै गर्न दिइरहेका छैनन् । हामीले गर्न खोजेको राम्रो काममा कतैबाट स्याबासी र समर्थन पाइरहेका छैनौँ । हाम्रा विरुद्ध जताततै षड्यन्त्र भइरहेको छ ...।’ जनता भन्दैछन्, ‘हामीले आशा गरेको कुनै पनि कुराको प्रत्याभूति हुन सकेन । जीवन झन् कष्टकर हुँदैछ । भ्रष्टाचारले प्रश्रय पाइरहेको छ । सुरक्षाको स्थिति झन् बिग्रँदो छ । समृद्धि त झन् झन्् टाढा पो हुँदैछ । सामाजिक न्याय कता हरायो कता ... ’ अनि यस्तो परिस्थितिमा जतिसुकै कमजोर भए पनि प्रतिपक्षले भन्ने नै भए, ‘यो सरकार कामै लाग्दैन ।’ बुद्धिजीवीहरू सरकारका प्रतिनिधिहरूको हरेक बोलीमा ‘उस् उस् उस् !’ भनेर ओठ लेप्य्राउने काम गरिरहेका छन्।

यो जे भइरहेको छ, बिल्कुलै ठीक भइरहेको छैन । यस्तो नहुनुपर्ने हो । तर के यो स्थिति साँच्चै अस्वाभाविक हो त?

सायद हैन।

जनता भनेकै यथास्थितिप्रति असन्तुष्ट र अहिले भन्दा राम्रो जीवनको कामना गर्ने नागरिकको जमात हो । कहाँ दुख्यो, के कुरा पुगेन, के भएन भन्ने जनतालाई थाह हुन्छ । तर ठ्याक्कै के भए हुन्थ्यो भन्ने उसलाई थाह हुँदैन । जुनसुकै युगमा ऊ सपनाका व्यापारीको पछि लागिरहन्छ । पुरानो व्यवस्था, पुरानो शासन, पुराना मान्यतालाई ध्वस्त पार्ने सामूहिक शक्ति ऊसँग हुन्छ । ऊसँग भएको यही ऊर्जालाई सपनाका व्यापारीले प्रयोग गर्छन् । ऊ भने आफ्ना कतिपय नैसर्गिक स्वतन्त्रताको मूल्यमा सपनाका ती व्यापारीले खडा गरेको राज्यसँग सामाजिक सम्झौता गर्न बाध्य हुन्छ । ऊ कानुनलाई शिरोपर गर्ने नागरिक बन्छ, ती ‘व्यापारी’ शासक बन्छन् । कुशल रहेछ कुनै शासक भने उसले जनताका असन्तुष्टिलाई कुशलतापूर्वक नै सम्बोधन गर्छ, त्यसभित्रको ऊर्जालाई सदुपयोग गर्छ । अकुशल रहेछ शासक भने जनताको असन्तुष्टिलाई नै उल्टो सरापेर बस्छ, झन् झन् असफल हुँदै जान्छ।

लोकतन्त्र केही परिपक्व भइसकेको र विकासका पूर्वाधार पनि बलियो भइसकेको देशका शासक पनि तुलनात्मक रूपमा परिपक्व नै हुन्छन् । आफ्नै स्वार्थका निम्ति पनि जनताका यी असन्तुष्टिलाई सहज निकास दिने सार्थक यत्न गर्छन् । त्यस्तो देशमा राज्यसँगको सामाजिक सम्झौतामा आफूले त्यागेका केही स्वतन्त्रताको सट्टा क्षतिपूर्तिका रूपमा पाउनुपर्ने सुरक्षा, सुविधा नागरिकले पाइरहेकै हुन्छन्, दैनिक जीवन झन् झन् सहज बन्दै गइरहेको हुन्छ र यसैकारण राजनीतिक स्थिरता कायम रहन्छ।

अहिले देशले भोगिरहेको चुनौती सरकारको, प्रतिपक्षको, खोलाको किनारमा बसेर टिप्पणी गरिरहेका जस्ता देखिने बुद्धिजीवीहरूको, सधैँ सनसनीपूर्ण समाचार खोजिरहेका जस्ता लाग्ने पत्रकारको, थरिथरीका सामाजिक अभियन्ता- हामी सबैको हो।

लोकतन्त्र कुण्ठित भएको, तर भौतिक विकास भने तीव्र गतिमा भइरहेका देशमा पनि अस्तिभन्दा हिजो र हिजोभन्दा आज मानिसको जीवनको भौतिक सुविधाको पाटो मात्रै सहज भइरहेको छ भने पनि राज्यसँगको त्यो सामाजिक सम्झौतामा आफ्ना स्वतन्त्रता अझ धेरै त्याग्न समेत नागरिक तयार भएका देखिन्छन्, लोकतन्त्र बलियो नभए पनि स्थिरता र विकास दुवै देखिइरहेको हुन्छ।

तर कुनै देश विकासको बाटोमा पनि लाग्न सकेको छैन, सामाजिक न्याय र सुरक्षाको पनि अभाव छ भने जतिसुकै फराकिलो वैधानिक लोकतन्त्र भए तापनि राजनीतिक अस्थिरता भई नै रहन्छ । यस्ता देशहरूको निम्ति अविकास र अस्थिरताको कुचक्रबाट बाहिर निस्कने चुनौती ज्यादै ठूलो हुन्छ । विकासको पूर्वाधार पनि कमजोर अनि लोकतन्त्र पनि कमजोर भएको देशमा त जनताले झन् ठूलो झन् भयावह अन्धकारको सामना गरि नै रहनुपर्ने हुन्छ।

हाम्रो हकमा एकातिर लोकतन्त्रको यात्रा पनि भर्खरै मात्र सुुरु भएको छ । विकासको सूचकांकमा त कता हो कता पछाडि परेका छौँ । भ्रष्टाचार व्याप्त छ । अनि परनिर्भरताको आहालमा डुबेको छ देश । यस्तो परिस्थितिमा राष्ट्रले व्यहोरिरहेको अहिलेको यो अन्यौल, यो अप्ठेरो, सायद अस्वाभाविक हैन । तर यो अत्यन्त पीडादायी र ज्यादै असुन्दर यथार्थ हो । यो अस्वीकार्य छ । यो स्थितिबाट राष्ट्र बाहिर निस्कनैपर्छ । निस्कन नसके यसको अस्तित्व अझै संकटमा पर्नेछ।

बुद्धिमान सरकारले जहिले पनि जनतालाई केही न केही सुविधा थपिरहेकै हुन्छ । जनताको दैनिक जीवनमा सहजता, उपभोग्य वस्तुको प्राचुर्य र प्राप्यता, स्वास्थ्य र शिक्षामाथि नागरिकको अधिकारको निश्चितता, आदि निरन्तर बढ्दै गइरहेको छ भने लोकतान्त्रिक देशमा मात्र हैन, सर्वसत्तावादी देशमै पनि राजनीतिक स्थिरता टिक्न सक्छ । सरकारमा रहनेको बुद्धि नपुग्दा भने आएको मौका पनि हातबाट खुस्किन्छ । सपनाको व्यापार र ‘लोकरिझ्याइँ’मा मात्र भर पर्नेहरूको सत्ता बालुवाको घर जस्तै छिटो ढल्न सक्छ । झन् जनतामा रहेको परिवर्तनको चाहनालाई बुझ्न इन्कार गर्दा, यथास्थितिप्रति जनताको निषेधभावभित्र लुकेको ऊर्जालाई प्रयोग गर्न नजान्दा कैँयन् युगमा एकचोटि आउने अवसर पनि गुम्न सक्छ।

यति बेला थरीथरीका अपराधी, भ्रष्टाचारी, ठगहरूको बिगबिगी देखिन्छ देशमा । यति ठूलो बहुमतको सरकार भने निरीह देखिन्छ । सरकारको निरीहतामा प्रतिपक्षीहरू रमाइरहेका देखिन्छन् । छिमेकका मिचाहा के निहूँ पाऊँ भन्ने ताकमा देखिन्छन् । निराशाको एउटा घना छायाँले देशलाई छोपेको देखिन्छ । तर भनिन्छ, छायाँले प्रकाशको स्रोत कता छ भन्ने दिशा पनि देखाउँछ । यो सरकार, अझै बलियै छ । आफूभित्र स्खलित हुँदै गएको सांगठिनक संस्कारलाई फेरि उकास्ने प्रशस्त समय र अवसर छ उसलाई । भएका गल्तीबाट सिक्ने र आउँदा दिनमा कुशलतापूर्वक राज्य सञ्चालन गर्ने सम्भावना मात्रै हैन, समय र अवसर पनि प्राप्त छ । प्रतिपक्षका निम्ति पनि ढुक्क भएर आफ्नो सांगठनिक स्थिति स्वस्थ बनाउँदै जाने अवसर छ, समय छ । आम जनतामा सकारात्मक परिवर्तनको तीव्र चाहना छ । अहिले व्याप्त देखिएको अन्धकारले पनि प्रकाशको स्रोत देखाइरहेकै त छ।

प्रमुख सत्ताधारी पार्टीले आफूभित्र सांगठनिक सुसंस्कार स्थापित गर्ने कुरालाई प्राथमिकता दिँदै, विगत केही महिनामा भएका गल्तीहरूलाई सच्याउने साहस र अठोट देखाउने हो भने, अनि प्रतिपक्षमा रहेकाहरूले पनि सत्ताधारीका कमजोरीमै मात्र खेती नगरी आफूलाई अझै जिम्मेवार प्रतिपक्ष र भविष्यको कुशल शासक पार्टी बन्न भित्रैदेखि बलियो हुँदै जाने यत्न गर्ने हो भने यो देश पक्कै सप्रिन्छ । अहिले देशले भोगिरहेको चुनौती सरकारको, प्रतिपक्षको, खोलाको किनारमा बसेर टिप्पणी गरिरहेका जस्ता देखिने बुद्धिजीवीहरूको, सधैँ सनसनीपूर्ण समाचार खोजिरहेका जस्ता लाग्ने पत्रकारको, थरिथरीका सामाजिक अभियन्ता- सबैको हो । भर्खरै मात्र लोकतन्त्रको महान् यात्रामा औपचारिक रूपमै लागेको कलिलो गणतन्त्रले पाएको अवसर पनि हामी सबैको हो।

हो, अझै देशलाई घना छायाँले ढाकेको छ । तर त्यही छायाँले प्रकाशको स्रोत कता छ भन्ने पनि देखाइरहेको छ । हामी सबै जाग्रत हुन सकौँ । त्यो उज्यालोलाई आत्मसात् गर्न सकौँ।





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad