coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध ढुंगा बालुवा उत्खनन् गर्नेलाई नगरपालिकाकै संरक्षण

टीकापुर – टीकापुर नगरपालिकाले कर्णाली नदीबाट ढुंगा बालुवा उत्खनन कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्नुको साँटो उल्टै संरक्षण गरेको पाइएको छ।

नगरपालिकाले स्काभेटर प्रयोग गरेर अनियन्त्रित रुपमा ढुंगा बालुवा संकलन गरेको भन्दै विरोध जनाएका स्थानीय युवाहरुलाई कार्यालयमा बोलाएर विकास निर्माणका काममा अवरोध नगर्न चेतावनी दिएको छ। वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकीले युवाहरुलाई अवरोध सिर्जना नगर्न भनेका छन्। ढुंगा बालुवा संकलन भइरहेको स्थान बुढाथोकीको वडा क्षेत्र हो।

नगरपालिकाले उत्खनन कार्यमा संलग्न व्यक्ति, विरोधमा उत्रिएका स्थानीय युवा र प्रहरीलाई राखेर काम सुचारु गर्न दवाव दिएको छ। युवाहरु असहमति जनाउँदै नगरपालिकाले आह्वान गरेको छलफलबाट बाहिरिएका छन्।

नगरपालिका आफैले कर्णाली नदी किनारमा ढुंगा बालुवा उत्खनन नगर्न सार्वजनिक सूचना जारी गरेको छ। उसले यदि यस्तो कार्य कसैले गरेको पाइएमा स्थानीय ऐन कानूनका आधारमा कारवाही गर्ने चेतावनी समेत दिएको छ।

आफैले ढुंगा बालुवा संकलन नगर्न भनेको ठाउँबाट धमाधम यस्तो कार्य भइरहँदा नगरपालिकाले कारवाही गर्नुको साँटो संरक्षण गर्न खोज्नुलाई स्थानीयले आपत्ती जनाएका छन्। स्थानीयले नदीजन्य पदार्थ संकलन गरिरहेको अवस्थामा गजुरमुखी÷सिद्धीसाई भेजीको एकथान स्काभेटर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएका छन्।
उनीहरुले ठेकेदारले नदी कटान भएकै क्षेत्रबाट ढुंगा बालुवा संकलन गरेर झन जोखिम बढाएको भन्दै अवरोध गरेको बताए। स्थानीय युवा प्रकाश खड्काले नदीको धार परिवर्तन गर्ने गरी अनियन्त्रित रुपमा नदीमा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ संकलन भइरहेको आरोप लगाए।

‘जुन ठाउँमा नदीले धेरै कटान गरेको छ। त्यही ठाउँमा स्काभेटरले खनिरहेको छ’, उनले भने, ‘नगरपालिका कारवाही गर्ने ठाउँमा उल्टै संरक्षणमा अघि सरेको छ।’

निर्माण कम्पनीका सञ्चालक धिरेन्द्र शाहीले नदीमा स्काभेटर प्रयोग गर्नु गल्ती भएको बताए। उनले ढुंगा बालुवा संकलन गर्ने भन्दा पनि तटबन्धको बेस बनाउनका लागि स्काभेटर प्रयोग गरिएको जानकारी दिए।

उनको कम्पनीले टीकापुर नगरपालिका–२ सनकट्टीघाटमा अढाई किलोमिटर र शाहीपुरमा डेढ किलोमिटर तटबन्धको ठेक्का पाएको छ। रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगतको तटबन्ध कार्य आगामी असार मसान्त भित्र सम्पन्न गर्नुपर्ने बताइएको छ। यो तटबन्ध १९ करोड लागतमा सम्झौता भएको हो।

सिँचाई आयोजनाले तटबन्धका लागि सोही नदीबाट नदीजन्य पदार्थ संकलन हुनु गलत भएको बताएको छ। उसले नदीको बहावलाई कुनै असर नपर्ने गरी काम गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिएको छ। आयोजना निर्देशक मधुकर रानाले तटबन्ध गर्ने ठाउँबाटै नदीजन्य पदार्थ संकलन गर्न नहुने बताए। ‘नदीबाट त्यसरी ढुंगा बालुवा संकलन गर्न नहुने हो’, उनले भने, ‘यदि त्यसो गरेको छ भने गलत हो।’

ठेकेदारले ढुंगा बालुवा संकलन गरेको ठाउँमा नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन समेत गरेको पाइएको छैन। नगरपालिकाका योजना शाखाका प्रमुख नवराज जोशीले प्रभाव मूल्याङ्कन भएको दावी गरे। उनले वातावरण प्रभाव मूल्याङ्कन भएपनि रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए। उनले वातावरण प्रभाव मूल्याङ्कन नगरी कुनै पनि नदीबाट ढुंगा बालुवा संकलन गर्नु गैरकानूनी हुने बताए।

नगरपालिकाका कार्यवाहक मेयर गंगाराम आचार्यले घटनाका बारेमा जानकारी दिन चाहेनन्। उनले आफू स्थलगत अध्ययनमा खटिएकोले टेलिफोनमा दोहोरो संवाद गर्न असमर्थ रहेको जानकारी दिए।

ठेकेदार शाहीले स्थानीय युवाहरुले अनावश्यक दवाव दिएको आरोप लगाएका छन्। उनले युवाहरुले आफूले संकलन गरेको ढुंगा बालुवा खरिद गर्न दवाव दिएको बताए। ‘उनीहरुले संकलन गरेको ढुंगा बालुवा किन्नुपर्ने माग छ’, उनले भने, ‘आफ्नो माग पूरा गरे ठिक नत्र बेठिक भन्ने कुरा हुँदैन होला।’

युवाहरुले भने नदीको बहावलाई प्रभावित गर्ने गरी स्काभेटर प्रयोग गरी ढुंगा बालुवा संकलन भैरहेको कार्य प्रति आपत्ती रहेको बताएका छन्। उनीहरुले नदीले यसवर्ष कटान गरेको क्षेत्र नजिकै स्काभेटर प्रयोग गरेर ढुंगा बालुवा संकलन गर्दा झन जोखिम बढ्ने बताएका छन्।

प्रकाशित: १२ आश्विन २०७५ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App