७ वैशाख २०८१ शुक्रबार
समाज

जंगल फाँडेर राजधानी बनाइँदा चुरे जोखिममा

राजधानी बनाइने भनिएको गोदावरी तेघरीमा रहेका खयरका रुख। तस्बिर : पुष्पराज/नागरिक

धनगढी - प्रदेश ७ को राजधानी चुरेको फेद गोदावरी नगरपालिकामा बन्ने करिब निश्चितजस्तै बनेको छ। संसद्ले राजधानीको स्थान र नाम तोक्नका लागि गठन गरेको विशेष सुझाव समितिले गोदावरी–६ तेघरीनजिकको जंगलमा राख्न पेस गरेको प्रस्तावको समर्थनमा सत्तापक्षका सांसद उभिएपछि यो पारित हुने भएको हो। संसद्मा प्रस्ताव पेस भएको ठाउँमा वन फँडानी गरेर राजधानी बनाइएमा पर्यावरणका साथै चुरे उच्च जोखिममा पर्ने भनेर सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

‘चुरेको फेदमा राजधानी बनाउँदा चुरे विनास हुने, क्षयीकरण हुने उच्च जोखिम देखिन्छ,’ वन कार्यालयका सहायक वन अधिकृत भीम ढकाल भन्छन्, ‘राज्यका अगाडि चुरे जोगाउने चुनौती भइरहेका बेला चुरे फेदमा राजधानी बनाउनु उपयुक्त होइन।’ मान्छेको चहलपहल भएका ठाउँमा, बाटो पुगेका ठाउँमा वन अतिक्रमण तीव्र हुने र वनविनाश हुने सबैतिर देखिँदै आएको उनी बताउँछन्।

प्रदेश राजधानी भएपछि बस्ती बस्ने र जनसंख्याको चाप हुने भएकाले चुरे अतिक्रमण र विनासक्रम तीव्र रूपमा बढ्ने उनी बताउँछन्। राजधानीमा जनसंख्याको चाप र संरचना निर्माणले छेयछाउबाट स्वाभाविक रूपमा ढुंगा, बालुवा, काठ निकालिने उनको भनाइ छ । ‘चुरेमा प्रत्यक्ष रूपले अतिक्रमण र विनाश एकातिर हुनेछ भने अर्कोतिर चुरेको फेदमै रुख काटेर ढुंगा, बालुवा निस्कने अवस्था आएर भूक्षय बढ्नेछ,’ उनको विश्लेषण छ।

प्रदेश ७ को संसद्मा चुरे फेदमा जंगल रहेको ठाउँमा राजधानी बनाउने प्रस्ताव पेस भएपछि तराईको शिरानमा रहेको चुरेको भविष्यप्रति स्थानीय चिन्तित बनेका छन्।‘ वनविनाश गरेर राजधानीका लागि भौतिक संरचना बनाउने कुराले भोलि हाम्रो देश मरुभूमिमा बदलिन सक्छ,’ ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट भन्छन्, ‘भौतिक संरचना भएको धनगढीबाट एकाएक जंगल फँडानी गरेर राजधानी बनाउने कुरा राम्रो होइन।’ तेघरीनजिक राजधानी सारेमा वनविनाश, प्राकृतिक सम्पदाको नोक्सान भएर हामीले बचाउनुपर्ने चुरे पनि संकटमा पर्ने उनी बताउँछन् ।‘गोदावरीमा वन फाँडेर राजधानी बनाएमा सबैभन्दा बढी चुरे संकटमा पर्छ,’ उनी भन्छन्। हाम्रो वन नेपालको धन भन्ने नारा कागतमा सीमित राखेर राजधानीका नाममा कहिले त कहिले कुनै आयोजनाका नाममा कैलालीमा वनविनाश हुनु दुृःखलाग्दो भएको उनी बताउँछन्।

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा.हेमराज पन्त जंगल भएको ठाउँमा राजधानी राख्नाले वनविनाश हुने र चुरे संकटमा पर्ने बताउँछन्।‘ अहिले चुरे जोगाउनु पर्नेमा राजधानी लगेर जंगल भएको ठाउँमा राख्ने निर्णय उचित होइन,’ उनी भन्छ, ‘माफियाहरू कहाँबाट रुख काट्न पाइएला भनेर हेरिरहेका बेला जंगलमा राजधानी राख्ने कुरा भएको छ।’ राजधानी त्यहाँ राखिँदा धेरै रुख काटिने र चुरे पनि विनाश हुने उनको भनाइ छ। जंगलमा रुख काटेर राजधानी बनाउँदा खर्च पनि धेरै लाग्ने र वनविनाश भएर पर्यावरण पनि बिग्रने उनको बुझाइ छ।‘ जनताका माझ बहस नगरी संसद्मा ल्याइएको यो प्रस्ताव बुद्धिमत्तापूर्ण छैन,’ उनी भन्छन्, ‘आफ्नो पहिचान जनाउने नाम हुनुपर्नेमा प्रस्तावित नाम पनि उपयुक्त भएन ।’ सुदूरपश्चिम त काठमाडौंका मान्छेले भनेको उनको भनाइ छ। विकासको दृष्टिले पछाडि परेको पहाडको बीचमा रहेको दिपायलमा नै राजधानी उपयुक्त भएको उल्लेख गर्दै तराईमा बनाएमा अर्बौंका संरचना भइसकेका धनगढीमै उपयुक्त हुने उनी बताउँछन्। गोदावरी धनगढीबाट धेरै टाढा नभए पनि जंगल भएको ठाउँमा र चुरेको फेदमा भएकाले उचित नरहेको उनको भनाइ छ। ‘भोलि राजधानी गोदावरी भए पनि मान्छेहरू बस्न धनगढी नै आउने हुन्, तेलखर्च मात्र बढ्ने देखिन्छ,’ उनी भन्छन्।

नेकपाका केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित नारदमुनि रानाले पनि धनगढीबाट राजधानी जंगल भएको ठाउँमा सार्ने प्रस्तावमा असहमति जनाएका छन्। उनले प्रतिनिधिसभा बैठकमा पनि गोदावरीमा राजधानी राख्दा पर्यावरण बिग्रने भएकाले उपयुक्त नहुने कुरा उठाएका छन् ।‘सरकारले करोडौंका संरचना धनगढीमा बनाइसकेपछि प्रदेश राजधानी गोदावरी सार्ने कुरा उपयुक्त भएन, त्यहाँ जंगल काटेर वातावरण बिगार्ने काम गर्नुभएन भन्ने कुरा मैले संघीय संसद्मा उठाएको हुँ,’ सासंद रानाले भने।

अहिले पनि चुरेको फेदमा रहेका खोलाबाट ढुंगाबालुवा निकाल्ने, चुरे अतिक्रमण र विनाशले चुरे संकटमा परिरहेका बेला काखमुनि राजधानी र भौतिक संरचना बनाइँदा चुरेको भविष्य जोखिममा रहेको स्थानीय बताउँछन्। चुरे विनाशले तराईका जिल्लामा पनि ठूलो क्षति पुग्ने उनीहरूको भनाइ छ ।‘चुरे विनाश भएमा बाढीपहिरोले तराईको उर्वर भूमि कटान हुने र क्षति हुने जोखिम पनि छ,’ नागरिक समाजका अगुवा दलबहादुर बोहरा भन्छन्। बाढीपहिरोले कैलालीमा कटान र क्षतिले उर्वर जग्गा मरुभूमिमा परिणत हुने जोखिम रहेको स्थानीय बताउँछन्।

संसद्ले नाम र राजधानीको स्थान तोक्न गठन गरेको विशेष सुझाव समितिले प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी नगरपालिका क्षेत्रमा राख्ने प्रतिवेदन मंगलबार संसद्मा पेस गरेको थियो । त्यस प्रतिवेदनमाथि बुधबारबाट छलफल सुरु भएको हो। गोदावरीको हनुमान मन्दिरदेखि दक्षिण र गोदावरी खोलादेखि पूर्व तथा पहाड रोडदेखि पश्चिम र तेघरी बस्तीदेखि उत्तरको चारकिल्ला सीमा तोकेर राजधानीका लागि स्थान प्रस्ताव गरिएको छ । यहाँ खयर, हल्दू र सिमलका रुख रहेको जंगल छ।

सत्तापक्ष नेकपाका सांसद प्रस्तावको समर्थनमा छन् भने नेपाली कांग्रेस र राजपा विरोधमा छन्। ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १२ र राजपाका २ सांसद छन्। प्रदेशको राजधानी र नाम पारित गर्न चाहिने दुईतिहाइ मत सत्तापक्षसँग भएकाले यो प्रस्ताव पारित हुने निश्चितजस्तै छ।

प्रकाशित: १२ आश्विन २०७५ ०३:१२ शुक्रबार

प्रदेश_७ राजधानी_विवाद