४ वैशाख २०८१ मंगलबार
राजनीति

बाइबलको श्लोक हटाउन निर्देशन

बाइबलको श्लोक लेखिएको शिलालेख अनावरण गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल। फाइल तस्बिर : नागरिक

सुर्खेत - कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले क्षेत्रीय अस्पताल परिसरमा सञ्चालित फिस्टुला अस्पतालमा राखिएको बाइबलको श्लोक हटाउन निर्देशन दिएका छन्। गत शुक्रबार सामाजिक विकास मन्त्री रावल आफैंले बाइबलको श्लोक अनावरण गरेर अस्पतालको उद्घाटन गरेका थिए।

इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) ले सञ्चालनमा ल्याएको फिस्टुला अस्पतालको शिलालेखमा ‘म यस भवनलाई महिमाले परिपूर्ण पारिदिन्छु भनी सर्वशक्तिमान परमप्रभू भन्नुहुन्छ। अनि यस ठाउँमा म शान्ति प्रदान गर्नेछु । पवित्र बाइबल हाग्गै २ः७ र ९’ लेखिएको थियो । त्यही शिलालेख मन्त्री रावलले अनावरण गरेका थिए।

मन्त्री रावलले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डम्बर खड्कालाई श्लोक हटाएर जानकारी गराउन निर्देशन दिएको बताए। ‘मलाई झुक्याएर बाइबलको श्लोक अनावरण गर्न लगाइयो’, मन्त्री रावलले भने, ‘अस्पताल परिसरबाट बाइबलको श्लोक हटाएर जानकारी गराउन मेसुलाई निर्देशन दिएको छु ।’ उनले अस्पतालजस्तो पवित्र ठाउँमा कुनैपनि धर्मको प्रचार हुने गरेर सामाग्री राख्न नहुने बताए।

मन्त्रीको निर्देशनपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले आइएनएफको टोलीलाई बोलाएर श्लोक हटाउन निर्देशन दिएका छन् । ‘मन्त्रीज्यूको निर्देशनपछि आइएनएफको टिमलाई बोलाएर अस्पताल परिसरमा राखिएको श्लोक तत्काल हटाउन भनेको छु’, उनले भने, ‘आज (बिहीबार) सम्म हटाएको÷नहटाएको बारे जानकारी प्राप्त भएको छैन।’

आइएनएफका व्यवस्थापक मंगल थारुले भने श्लोक हटाउनेबारे लिखित जानकारी नआएको बताए। ‘अस्पताल प्रमुखले बाइबलको श्लोक लेखिएको शिलालेख हटाउन भन्नु भएको छ, तर लिखित आएको छैन’, उनले भने, ‘लिखित नआउँदासम्म हटाउँदैनौं ।’ उनले दाताको चाहनाअनुसार बाइबलको श्लोकलाई शिलालेखमा उतारिएको बताए। ‘दाताबाट अनावरण गर्नुपर्ने श्लोक मन्त्रीज्यूले गरिदिनुभयो’, उनले भने, ‘अरु मन्त्रीको नाम लेखेर अर्को शिलालेख तयार पार्छौं, अहिलेको हटाउँदैनौं।’

उनले हतारमा कार्यक्रम गरिएकाले मन्त्रीको नामसहितको शिलालेख बनाउन नसकिएको बताए । ‘हामी मन्त्रीको नामसहितको शिलालेख बनाउने तयारीमा छौं । त्यसलाई पनि अस्पताल परिसरमा राख्छौं’, थारुले भने, ‘सहयोग गर्ने दाताहरुको इच्छाविपरीत जान हामीलाई पनि समस्या हुन्छ।’

प्रकाशित: १२ आश्विन २०७५ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App