coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपामा नेतैपिच्छे गुट

काठमाडाैं - तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा दुई अध्यक्ष छन्– ओली र पुष्पकमल दाहाल।

ओलीले नेपाल कम्युनिस्ट पार्टीमा २००८ सालदेखि नै गुटबन्दी सुरु भएको र ०१७÷०१८ सालदेखि विभाजन सुरु भएकाले नेपाल र नेपालीले लामो समयसम्म पीडा सहनुपरेको विचार पनि पार्टी एकता घोषणासभामा व्यक्त गरेका थिए। अब कम्युनिस्ट पार्टीमा कहिल्यै सुख्खायाम नआउने ठोकुवा गर्दै ओलीले योग्यता, क्षमता र सक्रियताका आधारमा पार्टीभित्र जिम्मेवारी बाँडफाँट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नेकपा गठनसँगै एमाले र माओवादी केन्द्र एकआपसमा अन्तरघुलित भएकाले अब पार्टीमा गुटउपगुटको अवस्था आउन नदिने प्रतिबद्धता अध्यक्षद्वय ओली र दाहालले एकैस्वरमा व्यक्त गरेका थिए । तर पार्टी एकताले पूर्णता नपाउँदै नेकपाभित्र गुटउपगुट देखिन थालेका छन्।

तल्ला तहका कमिटी एकता कार्यदलले प्रतिवेदन तयार पार्दा नेकपाका अध्यक्ष ओलीले नै आफ्ना गुटका मान्छेलाई च्यापेर गुट बाहिरकालाई पन्छाउने प्रयास गरेको आरोप लाग्यो। ओलीले आफू निकटलाई छानीछानी जिम्मेवारी दिन थालेपछि गण्डकी प्रदेश र प्रदेश ५ तथा अन्य विभिन्न जिल्ला र जनवर्गीय संगठनमा विवाद चुलियो । पार्टी संस्थापनले तल्लो तहको नेतृत्व चयनमा विभेद र हस्तक्षेप गरेको भन्दै विवाद सुरु भएको छ। यही विवादका कारण पार्टीले तल्लो तहमा एकता मिलाउन सकेको छैन।

गुटबन्दीका कारण जिल्ला तथा जनवर्गीय संगठनबीच एकता प्रक्रिया सम्पन्न हुन नसकिरहेका बेला नेकपा सचिवालय बैठकले त्यस्तै झल्को दिने अर्काे निर्णय ग-यो। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा जानुभन्दा एक दिनपहिले सचिवालय बैठकले प्रदेश पदाधिकारी (इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव) तोक्यो। वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ देशबाहिर भएका बेला दुई अध्यक्षसहितको बैठकले प्रदेश पदाधिकारीमा आफू निकटलाई मात्र जिम्मेवारी दिएपछि असन्तुष्टि बढेको छ । सचिवालय बैठकको निर्णय स्थायी समितिबाट टुंग्याउनुपर्ने माग जिम्मेवारीमा नपरेका फरक गुटका नेताहरूले गरिरहेका छन् । पार्टी प्रशासनिक काम गर्न स्थापना गरिएको सचिवालयले आफूअनुकूल महत्वपूर्ण निर्णय गरेको भन्दै असन्तुष्टि बढेको छ।

स्थायी समिति सदस्य लीलामणि पौडेल पार्टीभित्र असन्तुष्टि देखिए पनि अहिले नै यसलाई गुटबन्दी भन्ने अवस्था नआएको बताउँछन्। ‘दुई फरक पृष्ठभूमिबाट आएका दलको एकता भएकाले केही मतभिन्नता हुनसक्छ, गुटगत परिस्थिति हिजोको बिरासत वा अवशेषका रूपमा देखिन सक्छ तर अब गुटगत मान्यतालाई निषेध गर्न सक्नुपर्छ,’ पोखरेलले भने। पार्टीभित्र गुटगत मान्यता संस्थागत हुँदा गुटगत मान्यतामा विश्वास नगर्ने र इमानदार नेताकार्यकर्तामाथि भने अन्याय हुने उनको भनाइ छ। पोखरेल गुटगत प्रवृत्तिविरुद्ध पार्टी भित्रैबाट दबाब सिर्जना गरिरहेको बताउँछन् । गुट हुँदै नभएको भए दबाब सिर्जना गर्ने कुरा हुँदैनथ्यो, तर अब त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ पोखरेलले भने । गुटउपगुटले दण्डहीनता संस्थागत हुने र यसले पार्टीलाई गलत बाटोमा हिँडाउने पोखरेलको भनाइ छ।

स्थायी समितिका अर्का सदस्य वेदुराम भुसाल गुटगत मान्यता हाबी हुँदा पार्टी कमजोर हुने बताउँछन्। ‘पार्टी एउटा व्यक्तिको सम्पत्ति होइन, सिद्धान्त, मापदण्ड र संस्थागत निर्णयलाई प्राथमिकता दिएर पार्टी चल्नुपर्छ,’ भुसालले भने। अहिले पार्टी विधि, पद्धति र संस्थागत निर्णयविपरीत गुटगत मान्यताअनुसार चलिरहेको भुसाल बताउँछन्। भुसाल हालसम्म पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित नभएको र निर्णयहरू संस्थागत ढंगले नभएको बताउँछन्। ‘महŒवपूर्ण निर्णय गर्ने अधिकार सचिवालयलाई छैन, त्यो विशुद्ध पार्टीको प्रशासनिक काम गर्ने निकाय हो तर अहिले सचिवालयले नै निर्णय गर्ने काम गरिरहेको छ,’ भुसालले भने।

नेतृत्वको प्रतिबद्धता र व्यवहारमा भिन्नता देखिएको भन्दै भुसालले यस्तो प्रवृत्तिले पार्टीलाई समस्यामा धकेल्ने बताउँछन्। पार्टीको जिम्मेवारी बाँडफाँटमा विधि, पद्धति, अधिवेशन वा सहमति तिनै प्रक्रियालाई बेवास्ता गरिएको भुसालको आरोप छ। पार्टी विधानले सहमतिलाई जोड दिए पनि दुई अध्यक्षले निर्णय गरेर कामकारबाही अघि बढिरहेको भुसाल बताउँछन्। तर, यो अधिकार दुई अध्यक्षमा मात्र निहित नरहेको उनको भनाइ छ । विवाद उत्पन्न भएपछि विभिन्न कार्यदलमार्फत एकता टुंग्याउने प्रयास गरेको नेकपाले कार्यदलबाट पनि निकास नआएपछि सचिवालयमार्फत विवाद मिलाउने प्रयास गरेको थियो। विवाद मिलाउँदै एकता सम्पन्न गर्न सचिवालयसमेत असफल भएपछि हाल विवाद मिलाउने जिम्मा प्रदेश पदाधिकारीलाई दिइएको छ।

नेकपामा अध्यक्षद्वय ओली र दाहाल, नेपाल, वामदेव गौतम, श्रेष्ठ, रामबहादुर थापालगायतको गुट सतहमै देखिएको छ। तत्कालीन माओवादी केन्द्रमा नेताहरू वर्षमान पुन, शक्ति बस्नेतलगायत गुटको हिसाबले दाहालसँग निकट थिए, जसको अवशेष अहिले नेकपामा पनि देखिने गरेको पूर्वमाओवादीकै नेता बताउँछन्। पूर्व एमालेका घनश्याम भुसाल, योगेश भट्टराईलगायत कतिपय नेता अहिले पनि गुटभित्रकै उपगुटका रूपमा देखिने गरेका छन्। मुख्य गुटको हिसाबले दुवै नेता नेपाल निकट मानिन्छन्। नेकपाभित्र घनश्याम, राम कार्कीलगायत बौद्धिक भनेर चिनिएका कतिपय नेताबीच पनि अघोषित गुटजस्तै देखिन्छ।

पार्टी अध्यक्ष ओली गुटमा महासचिव विष्णु पौडेल पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सत्यनारायण मण्डल पृथ्वी सुब्बा गुरुङलगायतका छन्। अर्का अध्यक्ष दाहाल गुटमा जनार्दन शर्मा, पुन, चक्रपाणि खनाल, बस्नेत, अग्नि सापकोटा, हरिबोल गजुरेललगायत छन्। नेता नेपाल गुटमा भिम रावल, अष्टलक्ष्मी शाक्य, भीमप्रसाद आचार्य, घनश्याम, भट्टराई, गोकर्ण विष्टलगायत छन्। गौतम गुटमा रघुवीर महासेठ, किरण गुरुङ, रवीन्द्र अधिकारीलगायतका छन्। श्रेष्ठ गुटमा गिरिराजमणि पोखरेल, विश्वनाथ साहलगायत छन् । थापा गुटमा देव गुरुङ, फम्फा भुसाल, अमृता थापामगरलगायत छन्।

प्रकाशित: १२ आश्विन २०७५ ००:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App