८ वैशाख २०८१ शनिबार
अर्थ

किसानको उत्पादन सहकारी मार्फत बजारमा

बागलुङ– यहाँका किसानले उत्पादन गरेको पशु तथा कृषिजन्य उत्पादन सहकारीमार्फत बजारीकरण भएको छ । दमेक र तंग्रामका किसानले आफ्नो उत्पादन सहकारीमार्फत बेच्न थालेका हुन् । किसानकै सहभागितामा स्थापना भएका सहकारीले गाउँभरिको उत्पादन संकलन गरेर बागलुङ बजारमा बिक्री गर्न थालेपछि किसानलाई निकै राहत भएको छ ।

उत्पादन गरेर पनि बेच्ने पिरलोमा परेका किसानलाई बेच्ने झन्झट हटेको छ । यी दुई गाउँमा मुख्य गरी बाख्रापालन हुने गरेको छ । खाद्यबाली, तरकारी, बाख्रासहित भैंसी, राँगो, बंगुर, कुखुरा पालेर परियोजना सञ्चालित क्षेत्रका २ गाविसका बासिन्दाले वार्षिक करिब ९ करोड आम्दानी गरेका छन् ।
गाउँको सहकारीमार्फत बेच्ने व्यवस्था मिलाएको रुदताल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, दमेककी अध्यक्ष मती छन्त्यालले बताइन् । ‘सबै किसानको उत्पादन गाउँमा संकलन गर्छौं,’ उनले भनिन्, ‘अब सामान बेच्न किसान बजार धाउनु पर्दैन ।’
मुख्य गरी खसी–बोका सहित तरकारी, आलुको बजार व्यवस्थापनको जिम्मा सहकारीले लिएको हो । किसानकै सहभागितामा स्थापना गरिएका सहकारीले स्थानीय स्तरमा उत्पादित खसी–बोका तथा कृषिजन्य अन्य उत्पादनको मूल्य निर्धारण गरी बिक्री वितरणका लागि किसान र बजारसँगको सम्बन्ध स्थापित गर्ने गरेका छन् ।
बजार व्यवस्थापनसँगै आधुनिक प्रविधिसहित उन्नत जातको पशुपालन सुरु गरेपछि व्यवसाय फस्टाएर आम्दानीको स्रोत ह्वात्तै बढेको छ ।
यी दुई गाउँका किसानले अहिले करिब ८ हजार माउ बाख्रामात्र पालेका छन् । दमेकमा ५ हजार र तंग्राममा ३३ सय बाख्रा पालेर खसी–बोका तयार गरी बिक्री गरेर मनग्य आम्दानी गर्छन् । जिउँदो खसी–बोका किलोको तीन सय ८० रुपैयाँमा बेच्ने गरेको दमेक—८ की टुल्की थापा सापकोटाले बताइन् । ‘पशुपालनबाट वार्षिक करिब चार लाख कमाउँछौ,’ उनले भनिन् ।
किसानको आयआर्जन बढाउन साना किसान सबलीकरण परियोजना सञ्चालन गरेपछि विपन्न समुदायको आर्थिक अवस्थामा ठूलो परिवर्तन आएको छ । उक्त परियोजना अन्तर्गत किसानले सामूहिक रुपमा सहकारी स्थापना गरेर बजारको प्रबन्ध मिलाएका हुन् । दमेक र तंग्राममा गरी चारवटा सामाजिक उद्यमी महिला सहकारीले यो काम गरिरहेका छन् ।
हेफर इन्टरनेसनल नेपालको सहयोगमा दमेक र तंग्राममा सञ्चालित उक्त परियोजनामार्फत दुई हजार एक सय ६४ घरधुरी लाभान्वित भएका हुन् । दीपज्योति युवा क्लबमार्फत दमेक दुई करोड पाँच लाख र तंग्राम गाविसमा भीमपोखरा युवा क्लबमार्फत एक करोड ६१ लाख गरी तीन करोड ३६ लाख रुपैयाँको लगानी गरेको जिल्ला पशु सेवा कार्यालय, बागलुङले जनाएको छ । किसानलाई दुई करोड ६९ लाख रुपैयाँ सहयोग गरिएको हेफर इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक गणेश गुरुङले बताए । ‘किसानको उत्पादनलाई बजारसँग जोडिएको छ,’ उनले भने, ‘किसानको आर्थिक अवस्थामा पनि सुधार भएको छ ।’
पशुपालनमा सघाउन डाले र भुइँ घासको बीउ र बिरुवा रोपेको भीमपोखरा युवा क्लब वागलुङ अध्यक्ष अमर थापाले बताए । ‘किसानले पशुपालनमा आधुनिकीरण गरी सुधारिएको गोठ निर्माण गरेका छन्,’ उनले भने, ‘किसानलाई प्राविधिक सीप दिएपछि तरकारी खेती पनि फस्टाएको छ ।’
किसानले व्यवसाय गर्न सहकारीबाटै ऋण लिने गरेको तंग्रामकी अध्यक्ष थमकुमारी श्रीषले बताइन् । ‘किसानले वार्षिक १ देखि ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्,’ उनले भनिन्, ‘बजारमा बिक्री गर्ने प्रणालीको विकास गरेपछि निकै सजिलो भएको छ ।’ किसानले आम्दानीको रकम सहकारीमा बचत गर्छन् ।
आधुनिक प्रविधि अनुसार खोर बनाउने प्रविधि, उपचार पद्धति, दाना, घाँस खुवाउने तरिका सिकाएपछि उत्साहित भएर बाख्रापालनमा लागेको दीपज्योति क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताए । यी दुई गाउँ मासुको पकेट क्षेत्र र नमूना स्रोत केन्द्र भएको जिल्ला पशु सेवा कार्यालय, बागलुङले जनाएको छ । कार्यालयले किसानलाई निःशुल्क बाख्रा उपहार, औषधि उपचार, खोर लगायतमा अनुदान दिने गरेका छन् ।


तस्बिरः नागरिक
दमेकबाट गाडीमा बोका बेच्न बागलुङ बजार लगिँदै ।

 

 

 

प्रकाशित: १० असार २०७३ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App