६ वैशाख २०८१ बिहीबार
राजनीति

नेम्वाङलाई नेकपाकै नेता कार्यकर्ताले सोधे : जनप्रतिनिधि चुनिएको सेवासुविधा भोग्न मात्रै हो ?

इलाम– ‘स्थानीय तहमा जनप्रतिनिधि आएको सेवा–सुविधा भोग्नलाई मात्रै हो कि जनताका समस्या समाधान गर्न?’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला नेता जसबहादुर लुंगेलीको जिज्ञासाले सबैको ध्यान खिच्यो, ‘सरकारमा जानेबित्तिकै ठेकेदारविरुद्ध, सुन तस्करी र यातायात व्यवसायीको सिन्डिकेटविरुद्ध चालेको कदम कहाँ पुगेर किन अड्कियो?’ 

अगाडिपट्टी बसेका नेकपा संसदीय दलका उपनेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका ‘विश्वास पात्र’ मानिने सुवासचन्द्र नेम्बाङमाथि वरिष्ठ अधिवक्तासमेत रहेका लुंगेलीले प्रश्नैप्रश्नको चाङ लगाए। ‘५ लाख रुपैयाँसम्मका मोटरसाइकल कसले किन्छ भनेर सोध्यो भने फलानो नगरपालिका र गाउँपालिकाको नाम आउँछ’, लुंगेलीले थपे, ‘समृद्ध नेपाल बनाउने बाटो यही हो? स्थानीय तहका जनप्रतिनिधि र सरकारको कामले पार्टीलाई कता लाँदैछ भनेर सोचिएको छ?’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई लिएर पनि उनले नेम्बाङलाई प्रश्न तेस्र्याए। ‘हत्यारालाई कारबाही गर्न दबाब दिँदै -याली निस्कियो भने हामी चाहीँ किन अर्कापट्टी फर्केर हिड्नुपरिरहेको छ?’ लुंगेलीले फेरि भने, ‘खोइ पार्टीको कुनै स्पष्ट नीति, खोइ संगठन? हामी यसरी अल्मलिएका छांै कि, न अरिंगाल बन्न सकिएको छ न मौरी।’

लुंगेलीले राखेको जिज्ञासा उनी एक्लैको थिएन। पछाडिपट्टी बसेका नेकपामा सयौं नेता–कार्यकर्ता लुंगेलीको जिज्ञासामा ‘मौन’ स्वीकृति दिँदै थिए। अनि, जिल्ला कमिटीका अर्का सदस्य मनराज जबेगू जुरुक्क उठेर नेम्बाङलाई सोधे, ‘सरकार र पार्टीको उपल्लो तहले कहिले, के निर्णय गर्छ, हामीले गर्नुपर्ने के हो भन्ने थाहा नपाएको धेरै समय भइसक्यो, तल्लोस्तरसम्म पार्टी पनि पु¥याउनुपर्छ कि संसदीय मोर्चाले नै हुन्छ?’

गृहजिल्ला आएका बेला नेम्बाङलाई बुधबार नेकपाका नेता–कार्यकर्ताले पार्टीको भन्दा पनि बढी तीनै तहका सरकारले गरिरहेका गतिविधिबारे असन्तुष्टि पोखे। ‘संघीयताले त घरछेउमै सर्वसाधारणलाई सेवा दिनुपर्ने हो तर जिल्लाका सरकारी कार्यालय किन धमाधम अर्काे जिल्ला सारिँदैछ?’ पार्टी जिल्ला कमिटी सदस्य धिरेन चेम्जोङले सोधे, ‘भएका कार्यालय अन्यत्र सारेर स्थानीयले कसरी सेवा पाउँछन्?’ 

लामो समयसम्म संविधानसभाको अध्यक्ष र संसद्को सभामुख भएका नेम्बाङलाई उनको विगतको जिम्मेवारीले मात्र होइन, भूमिकाले पनि नभ्र र भलाद्मीका रूपमा लिन्छन् जिल्लावासी। संविधानसभाको अध्यक्ष भएका बेला उनी आफ्नै जिल्लाको पार्टी कार्यालयमा समेत ५ वर्षसम्म प्रवेश गरेनन्। कारण थियो, संविधानसभा अध्यक्ष भएको व्यक्ति कुनै दलको जिम्मेवारीमा रहन मिल्दैनथ्यो। पार्टीको गहन जिम्मेवारीमा रहेकै बेला पनि प्रायः विपक्षीलाई सोझै गाली नगर्ने स्वभावले परिचित नेम्बाङ बुधबार भने आफ्नै पार्टीका नेता–कार्यकर्ताले राखेका प्रश्नको घेराबन्दीमा परे।

नेम्बाङले नेता–कार्यकर्ताबाट पार्टीको भन्दा पनि सरकारका गतिविधिको विषयमा चाहिँ निकै चर्का प्रश्न सामना गर्नुप¥यो। अनि, कार्यकर्ताको जिज्ञासा मेटाउनेक्रममा नेम्बाङले विगतको जस्तो ‘समन्वयकारी’ अभिव्यक्ति मात्र पनि दिएनन्। कार्यकर्तालाई जवाफ दिन १ घण्टाजति खर्चेका नेम्बाङले सरकारका काम–कारबाहीको बचाउ त गरे नै, सरकार र नेकपाविरुद्ध ‘सबैतिरबाट प्रहार’ भइरहेको बताए। सरकारका कामप्रति विपक्षीले भ्रम फैलाएको भन्दै उनले कतिपय आमसञ्चारमाध्यम समेतले सरकारविरुद्ध गलत प्रचार गरेको आरोप लगाए। 

‘म २–३ वटा एफएम सुन्छु, पत्रिका पढ्छु, अघिल्लो दिन सरकारले कसैको कुरै सुनेन, अधिनायकवादी भो भनेर लेख्ने सञ्चारमाध्यम नै भोलिपल्ट १–२ जनाकै अनशन र धर्नामा सरकारले घुँडा टेक्यो, यो सरकार लुतिखरे भो भन्ने लेख्छन्’, उनले केही दिनअघि संसद्मा एक महिला सांसद्ले भनेको कुखुराको अण्डाको कथा स्मरण गराउँदै भने, ‘अहिले सरकारले न अण्डाको खाजा दिँदा चित्त बुझेको छ, न अम्लेट दिँदा।’ अधिकांश समय सरकारले गरेका सकारात्मक काम, कानुन निर्माणलगायतको जानकारी दिएका नेम्बाङले जनप्रतिनिधिको सेवा–सुविधा र निर्मला पन्तको विषयमा उठेको जिज्ञासाको चाहीँ जवाफ दिएनन्।
 
‘जसले जिम्मेवारी लिएको छ, उसप्रति सबैले प्रहार, आलोचना गर्छन्,’ नेम्बाङले भने, ‘तर, जिम्मेवारी लिएपछि त्यस्ता सबै आलोचना, प्रहार सामना गर्न तयार हुनुपर्छ। शतप्रतिशत राम्रो काम गरेपनि आलोचना त भएरै छाडछ।’ तर, उनले सरकारलाई देश र जनताको हितमा मात्रै काम गर्न पार्टीको सबै तहले खबरदारी गरिरहेको बताए। ‘नेकपाले समृद्धि र सुशासन कायम गर्न सधैं खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘सरकारले गलत काम गर्नु हुँदैन, जनतालाई सधैं केन्द्रमा राखेर उनीहरूका पीरमर्का बुझ्नुपर्छ भनेर पार्टीले कडाइ गरिरहेकै छ।’ नेम्बाङले नयाँ संविधान जारी हुँदा बहिष्कार गर्ने दलहरू पनि अहिले त्यही संविधान स्वीकारेर आउनु सकारात्मक भएको भन्दै चित्त नबुझेका विषयमा संशोधन गरेर अघि बढ्न सकिने बताए। 

प्रकाशित: ११ आश्विन २०७५ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App