coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौं – युएइमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। बुधबार राति आबुधावीमा सम्पन्न सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेशले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको हो। अब उपाधिका लागि बंगलादेशले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

बंगलादेशले प्रस्तुत गरेको २ सय ४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय २ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि  इमाम उल हकले सर्वाधिक ८३ रन बनाए। उनले १०५ बल खेल्दै २ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै आसिफ अलीले ३१, शोयब मलिकले ३०, साहिन अफ्रिदीले १४ र कप्तान सरफराज अहमदले १० रन बनाउनु बाहेक अन्यले दोहोरो आकडा छुन सकेनन्।

पाकिस्तानलाई सस्तैमा समेटन बंगलादेशका मुस्ताफिजुर रहमानले ४, मेहेदी हसनले २ तथा रुबेल होसेन, महमुदुल्लाह र सौम्य सरकारले समान एक–एक विकेट दिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४८.५ ओभरमा अलआउट हुँदै २ सय ३९ रनको मध्यम योगफल तयार पारेको थियो। बंगलादेशका लागि मुस्फिकुर रहीमले सर्वाधिक ९९ रनको योगदान दिए। रहीम करियरको ७ औं शतक बनाउन १ रनले चुके। रहीमलाई शाहीन शाह अफ्रिदीले कप्तान शरफराजको हातबाट क्याच आउट गराएका थिए। उनले ११६ बलमा ९ चौंका प्रहार गरेका थिए। त्यस्तै मोहम्मद मिथुनले ६०, महमुदुल्लाहले २५, मसराफे मोर्ताजाले १३ र मेहिदी हसनले १२ रन बनाएका थिए।

पाकिस्तानका जुनैद खानले ४, शाहीन शाह अफ्रिदी र हसन अलीले २–२ तथा सादव खानले एक विकेट लिए। 

 

प्रकाशित: ११ आश्विन २०७५ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App