८ वैशाख २०८१ शनिबार
अर्थ

सुन आयातमा राष्ट्र बैंकको प्रस्ताव वाणिज्य मन्त्रालयबाट अस्वीकृत

काठमाडौं – नेपाल राष्ट्र बैंकले दैनिक ३० किलो सुन ल्याउन गरेको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्वीकार गरेको छ । व्यापार घाटा चुलिएको अवस्थामा यति ठूलो परिणाममा सुन ल्याउँदा अझै समस्या आउने भन्दै मन्त्रालयले राष्ट्र बैंकको उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको हो । मन्त्रालयले दैनिक २५ किलोभन्दा बढी सुन ल्याउन नपाउने व्यवस्था गरेको छ।

अहिले दैनिक २० किलोमात्र सुन आयात हुँदै आएको छ । दसैं, तिहार र छठ पर्वमा सुनको माग बढ्ने हुनाले थप दैनिक पाँच किलो बढी सुन आयात गर्न स्वीकृति दिइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले बताए । ‘डलरमा सुन किन्नुपर्ने अवस्था छ,’ उनले बुधबार नागरिकसँग भने, ‘यसले व्यापार घाटा बढाउने भएकाले पनि दैनिक २५ किलो मात्र ल्याउन दिइएको हो।’

राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि मात्र बैंकहरुले दैनिक २५ केजीका दरले सुन ल्याउन सक्नेछन् । ‘मंसिर मसान्तसम्म दैनिक २५ केजीका दरले सुन ल्याउन स्वीकृति दिएका छौं,’ सहसचिव सैंजुले भने, ‘राष्ट्र बैंकले भने चाडपर्वका बेला दैनिक ३० केजीसम्म सुनको आयात गर्न प्रस्ताव गरेको थियो ।’ चाडपर्व र विवाहको मौसममा दैनिक २५ किलोसम्म सुन ल्याउन दिने व्यवस्था गरिएको छ । अन्य समयमा भने दैनिक २० केजीसम्म ल्याउन पाउँछन्। 

अहिले दैनिक ३० देखि ४० केजीसम्म सुनको माग भइरहेको व्यवसायीको भनाइ छ । तर, सरकारले पर्याप्त सुन ल्याउन नदिएका कारण यसको अभाव हुँदै गएको उनीहरुको गुनासो छ । अचेल बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । सस्तोमा किनेर चाडबाड सुरु भएपछि महँगोमा बेच्ने उद्देश्यले व्यापारीले लुकाउँदा सुनको कृत्रिम अभाव भएको जानकार बताउँछन् ।
व्यापारीले लुकाएका कारण बजारमा सुन अभाव भएको हो । अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका हुन्।

सुन किनेर राख्ने प्रवृत्ति बढ्दा अभाव देखिएको राष्ट्र बैंकको भनाइ छ । ‘सुनको मूल्य तल आउँदा किनेर राख्ने र बढ्दा बेच्ने परिपाटीले अभाव जस्तै भएको हो,’ एक बैंकरले भने, ‘नजिकिँदै गरेको चाडपर्वमा सुनको भाउ बढ्ने र सस्तोमा किनेर महँगोमा बेच्दा फाइदा हुने भएकाले कृत्रिम अभाव सिर्जना गरिएको हो ।’ अभाव भएको भन्दै व्यापारीले सकेसम्म ढिक्का सुन बिक्री गर्दैनन् । बेच्नै परे बजार मूल्यभन्दा प्रतितोला तीन हजार रुपैयाँभन्दा बढी लिएर दिने गरेका छन्। 

कृत्रिम अभाव खडा गरेर ठूला व्यवसायीले कालो बजारमा सुन बेचेर अवैधानिक नाफा कमाइरहँदा आम ग्राहकले भने नोक्सानी बेहोर्नुपरेको छ । दसैं, तिहारलगायतका चाडपर्व नजिकिँदै जाँदा सुनको माग बढेर प्रतिदिन ४० किलो पुग्न लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । बैंकले बिक्री गर्ने २५ किलोको अतिरिक्त पाँच किलो सुन पुराना गहना बेच्नेबाट आए पनि १०–१५ किलो नपुग भएको शाक्यले बताए । ‘चाडबाड सुरु भएकाले माग ह्वात्तै बढेको हो,’ शाक्यले भने।

एक किलो सुनको करिब ५८ लाख रुपैयाँ पर्ने शाक्यले बताए । सुन अयातको कोटा बढाउन पटक–पटक आग्रह गरे पनि कसैले नसुनेको शाक्य बताउँछन् । ‘माग बढेको छ, आपूर्ति बढेन,’ उनले भने । तेजमिन ज्वेलरीका सञ्चालक रहेका शाक्यले ग्राहकको चित्त बुझाउन हम्मे परेको बताए । सुन सस्तिँदा माग बढेको छ । सस्तिएका बेला सर्वसाधारणले सुन बिक्री गर्दैनन् । राजधानीमा मात्र नभएर जिल्ला–जिल्लामा सुनको अभाव छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार चार सय रुपैयाँ थियो। 

२२ वटा वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । नेपाल बैंकर्स संघमार्फत आर्थिक वर्ष ०७४/७५ मा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँको सुन आयात भएको थियो । आर्थिक वर्ष ०७३/७४ को तुलनामा तीन अर्ब ९३ करोडभन्दा धेरैको सुन आयात भएको थियो । यो तथ्यांकले हरेक वर्ष बजारमा सुनको माग बढ्दै गएको देखाउँछ । गत आर्थिक वर्षमा सात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको नेपाल बैंकर्स संघले जनाएको छ । आव ०७३/७४ मा ६ हजार चार सय ५५ किलो आयात भएको थियो । वार्षिक रुपमा ५० अर्बको सुन कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: ११ आश्विन २०७५ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App