८ वैशाख २०८१ शनिबार
अर्थ

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

पोखरा विमानस्थलमा जहाजबाट ओर्लिंदै गरेका विदेशी पर्यटक ।   तस्बिर : उमेश पुन/नागरिक

पोखरा – नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष (सन् २०१७) नेपालमा १० लाख हाराहारीमा विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । नेपाल भित्रिएकामध्ये करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा भित्रिने गरेको व्यवसायीको अनुमान छ।

बोर्डको तथ्यांक र व्यवसायीको आँकलनको हिसाबले गत वर्ष पोखरामा झन्डै चार लाख विदेशी पर्यटक भित्रिएका थिए । आन्तरिक र भारतीयको आगमनको तथ्यांक यसमा उल्लेख छैन । भारतीय र आन्तरिकको कुनै लेखाजोखा नै हुँदैन।
नेपालमा अहिलेसम्मकै बढी पर्यटक आगमनको रुपमा गत वर्षको तथ्यांकलाई लिइन्छ । सन् २०१२ को विदेशी पाहुना आगमनको रेकर्ड २०१७ मा तोडिएको बोर्डले बताउँदै आएको छ।

सन २०१२ मा आठ लाख तीन हजार विदेशी नेपाल आएकोमा सन् २०१७ मा बढेर १० लाख हाराहारीमा आगमन भएको थियो । उकालो लाग्दो पर्यटन आगमन भूकम्प र नाकाबन्दीका कारण एकाएक खस्किएको थियो । तर, भूकम्पपछि  निरन्तरको प्रवद्र्धनले सन् २०१७ मा बल्ल देखिने गरी आगमनको पारो उकालो चढेको थियो। 

नेपालमा विदेशी पर्यटकको आगमन उकालो लागेको तथ्यांकले देखाइरहँदा पोखराका पर्यटन व्यवसायी भने यो तथ्यांकसँग खासै सहमत देखिन्नन् । पोखरेली व्यवसायीको जहिल्यै गुनासो रहन्छ– ‘पोखरामा पर्यटक आउनै छाडे । सिजनमा पनि होटलले पाहुना पाएनन् ।’ के यहाँका व्यवसायीले भने झैं पोखराले विदेशीको आगमन घटाउँदै लगेको हो त? पर्यटन बोर्ड पोखराका प्रमुख मणि लामिछाने भन्छन्, ‘पोखरामा आगमन घटेको छैन, बरु बढेको छ । तर, आगमन दर बढ्दै गए पनि होटल व्यवसायीको आम्दानी भने बर्सेनि घटिरहेको छ।’

उनका अनुसार पाहुना आगमन बढिरहँदा पनि आम्दानी घट्नुमा दुईवटा मुख्य कारण छन् । पहिलो, व्यवसायीले विदेशी पाहुनासँग उचित मूल्य लिनै सकेका छैनन् । त्यसको अर्थ व्यवसायीले सस्तोमा पाहुनालाई सेवा दिएका छन् । सस्तो सेवाले होटलको आम्दानी पटक्कै बढ्दैन । दोस्रो, आगमन बढिरहँदा पनि पाहुना घटेको अनुभव हुनुमा होटलको संख्या बढेर पाहुना बाँडिएका हुन् । केही वर्ष अघिसम्म निकै कम संख्या हुँदाताका त्यो बेला भित्रिएका पाहुनाको संख्याले होटललाई पर्याप्त हुने गरेकोमा अहिले होटलको संख्या एकाएक बढेको छ । आगमनको दरलाई समेत कमजोर देखाउने गरी होटल थपिएका छन् । होटल बढेसँगै पाहुना छरिँदा सबै होटलले पहिले जति कमाउन नसकेको उनी बताउँछन्।

‘पर्यटक आगमन घटेको भन्नै मिल्दैन । सेवा सस्तोमा बेच्दा आम्दानी चाँही घटेकै हो,’ लामिछाने भन्छन्, ‘घुम्न आएका विदेशी पर्यटकले खर्च गर्ने ठाउँ नपाएर पैसा बचाएर फिर्ता लगेका छन् । व्यवसायीले पोखरालाई उचित मूल्यमा बेच्न सकेका छैनन् ।’ पोखरेली व्यवसायीले विदेशी पाहुनासँग महंगो मूल्य असुल्न नसकेको उनले बताए । ‘खर्च गर्न ल्याएको पैसा नै बचाएर फिर्ता लगेका छन्,’ उनले भने, ‘हामीले दिने गुणस्तरलाई मूल्यमा रुपान्तरण गर्नै सकेनौ ।’ लामिछानेको अनुभवमा पोखरामा पछिल्लो समय होटलको संख्या धेरै हुँदा पाहुना बाडिन पुग्दा सिजनको बेला पनि अभावको अनुभव व्यवसायीले गरेका हुन् । ‘होटलका पाहुना घटेका छन्, तर, आगमन बढेको छ,’ उनले भने । पाहुना बाडिँदै गएर अभाव देखिँदा त्यसले आम्दानीमा असर पर्ने उनले बताए।

उनको अनुभवमा पाहुना बढाउन नयाँ योजना व्यवसायीले ल्याउनुपर्छ । अनि, सेवाको मूल्य पनि उचित लिन सक्नुपर्छ । आगमन बढाउन प्रवद्र्धनात्मक कार्यक्रमसँगै पोखरामा बेलाबेला आकर्षक कार्यक्रम पनि गर्न सक्नुपर्छ । ‘अब त हामी प्रादेशिक संरचनामा गएका छौं । सिंगै गण्डकी प्रदेशलाई हामीले बेच्न सक्ने खुबी राख्नुपर्छ,’ लामिछाने भन्छन्, ‘हामीसँग अब यो उत्पादन नयाँ छ भनेर पाहुनालाई भन्न सक्नुपर्छ । त्यसमा हामी चुकेका छौं । किनकी व्यवसायीसँग अहिले नयाँ र आकर्षक कार्यक्रम खासै छैनन्।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार सघंमा अहिले झन्डै चार सय सदस्य आवद्ध छन् । ती अधिकांश लेकसाइड क्षेत्रका होटल हुन् । पोखरामा सबैगरी ६ सय होटल सञ्चालनमा रहेको उनको अनुमान छ । नयाँ बन्दै गरेका होटल पनि पर्याप्त छन् । उनका अनुसार ठुला र मध्यम गरेर वर्षमा २ दर्जन हाराहारीमा लेकसाइडमा होटल थपिने गरेका छन् । होटल बाहेक अपार्टमेन्ट, गेस्टहाउस, होमस्टे, होस्टेलको रुपमा पनि यहाँ व्यावसाय सञ्चालन भएको छ । विदेशी पाहुना सस्तोमा सेवा पाउने भएकाले अहिले अपार्टमेन्ट, गेस्टहाउस, होमस्टेमा लामो समय बस्ने गरेका छन्।

‘पर्यटकको आगमन पनि सन्तोषजनक हुन सकेको छैन । सेवा प्रदायक निकै नै बढेका छन्,’ तुलाचन भन्छन्, ‘हरेक वर्ष पाहुनाको आगमन बढेको छ । तर, सेवाप्रदायक बढ्दा अकुपेन्सी प्रतिशत घटेको छ । त्यसले गर्दा समग्र आम्दानी कम भएको छ ।’ उनका अनुसार भूकम्प र नाकाबन्दीपछिको वृद्धि हेर्दा सन्तोषजनक हो । तर, होटल थपिने र क्षमता विस्तार गर्ने क्रम रहेकाले पाहुना बाँडिन पुगेका छन् । ‘हिजोसम्म ४०–५० वटा कोठाका होटलले अहिले ८०–९० हाराहारीमा क्षमता विस्तार गरेका छन् । अनि, नयाँ होटल पनि पर्याप्त थपिए, अझै पनि थपिने क्रममा छन्,’ तुलाचनले भने, ‘त्यसले गर्दा व्यापार बाँडिएको छ।’  

उनको अनुभवमा होटलमा अधिक प्रतिस्पर्धा हुँदै जाँदा सेवाको मूल्य पनि उचित लिन सकिएको छैन । धेरै होटल हुँदा प्रतिस्पर्धा बढ्न पुगेको र प्रतिस्पर्धा बढ्दै जाँदा सस्तोमा सेवा दिन व्यवसायी बाध्य भएको उनको भनाइ छ । ‘सस्तोमा सेवा दिने र प्रतिस्पर्धा गर्ने कामलाई अब सच्याउन जरुरी छ । त्यसका लागि सरकारले होटलको वर्गीकरण गर्नुपर्छ,’ उनले भने, ‘प्रतिस्पर्धी बजारमा मूल्य हामी (व्यवसायी)ले तोक्न पाएपनि सेवा अनुसारको मूल्य तोक्नुपर्छ । सेवाअनुसार हामीले मूल्य तोक्न सकेका छैनौ । त्यसको बाधक प्रतिस्पर्धा हो ।’ उनका अनुसार राम्रा भनिएका होटलले पनि अहिले प्रतिस्पर्धाका कारण उचित मूल्य लिन सकेका छैनन्। 

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा पनि पूर्वाधार थपिँदा पाहुना छरिएको बताउँछन् । ‘पर्यटक आगमनको वृद्धिदर सुस्त गतिमा छ । तर सेवाप्रदायक वृद्धिदर तीव्र छ,’ उनले भने, ‘प्रतिष्ठान बढ्दै जाँदा पाहुना पनि छरिन पुगे । त्यसले गर्दा अभाव सिर्जना भएको हो । पर्यटक भन्दा सेवा प्रदायकको दर बढेको छ।’ 

सापकोटाले पनि सस्तोमा सेवा दिँदा व्यवसायी नोक्सानमा पुगेको बताए । ‘अस्वस्थ प्रतिस्पर्धा बढ्दा मूल्यमा घटाघट भएको छ । अरुले भन्दा सस्तोमा दिने भन्ने एकअर्काले प्रतिस्पर्धा गर्न थालेका छन्,’ उनले भने, ‘व्यवसायीको प्रतिस्पर्धाले पर्यटकलाई फाइदा त पुगेको छ । तर, व्यवसायी नोक्सानमा पुगेका छन् । सस्तोमा सेवा दिँदा त्यसको नोक्सान व्यवसायीलाई नै पुग्ने हो ।’ व्यवसायीले आफ्नो गुणस्तर अनुसार आफैले मूल्य लिन जान्नुपर्ने उनले सुझाए। ‘बजार मूल्यांकन गर्ने चलन छैन । पूर्वाधार बनाउने, अनि पाहुना तान्न सस्तोमा सेवा दिने प्रचलनले पोखराको पर्यटन बजारको वृद्धिदर सुस्ता हुन पुगेको छ,’ सापकोटाले भने। 

प्रकाशित: ११ आश्विन २०७५ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App