मोही माग्ने ढुंग्रो लुकाउने !

बिर्सने रोगको वृद्धि

बिहिबार, ११ असोज २०७५, ०९ : २९ कृष्णमुरारी भण्डारी

हरेक व्यक्तिको जन्मपछि मृत्यु अवश्यंभावी छ । भनाइ नै छ, जन्मँदा को जेठो, को माइलो वा कान्छो भन्ने गणना अर्थात् को पहिला र को पछि जन्म्यो भन्ने हिसाब गरिन्छ तर मृत्युले को जेठो, माइलो र कान्छो भन्ने गणना गर्दैन। 
मृत्यु पालो हेरेर आउँदैन । तर पनि जसले बढी उमेर खाएको हुन्छ उसकै मृत्यु पहिले हुन्छ भन्ने सत्य हो तर भयानक सत्य के हो भने उमेर पुगेर पनि मानिसको मृत्यु नहुन सक्छ । ऊ यातना खप्दै र अरुलाई पनि भयानक यातना दिएर बाँच्न सक्छ। 

अल्जाइमर (विस्मृति) त्यस्तै रोग हो । यो सरुवा रोग होइन, तर सरुवा रोगको गतिमा नेपाली समाजमा पनि फैलिइरहेको छ । प्रेसर, सुगर, किड्नी, कलेजो, ट्युमर, क्यान्सर रोगले व्यापक रूपमा गाँजिरहेको बेलामा डिमेन्सिया–अल्जायमर रोग तीव्र गतिमा समाजमा फैलिइरहेको छ। 

डाक्टरहरूका अनुसार डिमेन्सिया र अल्जाइमर एउटै रोग होइनन् । तर यी दुईको बीचमा नजिकको सम्बन्ध छ । एक डाक्टरले त भने, डिमेन्सिया एउटा घर हो भने अल्जाइमर त्यही घरको ठूलो कोठा हो। 

ज्याद्रा रोगहरूले समेत नपाएको नयाँ नेपाली नाम अल्जाइमरले पाइसकेको छ । अल्जाइमरको न्वारन कसले गर्याे थाहा छैन तर अल्जाइमरले पाएको नयाँ नेपाली नाम हो– अल्झेर मर ! यो यस्तो घातक रोग हो जसको अहिलेसम्म औषधीसमेत पत्ता लागेको छैन । न अल्जाइमर यही कारणले भएको हो भनेर कुनै वैज्ञानिकहरूले किटानी गरेर भन्न नै सकेका छन्!

नेपालमा वृद्धावस्था (जेरियाट्रिक) विषयका एकमात्र डाक्टर रमेश कँडेलले भने, डिमेन्सिया मस्तिष्कमा लाग्ने एउटा रोग हो । डिमेन्सिया भएका व्यक्तिमा सबैभन्दा बढी देखिने रोग अल्जाइमर हो । यो रोग लागेपछि नयाँ सिक्ने जान्ने त कुरै छाडौँ, पुराना सबै कुरा बिर्सन्छ।

बिरामीले न आफू को हो भन्ने सम्झन सक्छ न त आफन्तलाई नै चिन्न सक्छ । गुहु र गोबरसम्म छुट्याउन सक्दैन । श्रीमान्ले श्रीमतीलाई आमा भन्न सक्छ भने श्रीमतीले लोग्नेलाई छोरा ! श्रीमतीलाई उपचार गराउन ल्याएका एक वृद्धले डाक्टरलाई भने, डाक्टर साहेब मलाई लोग्ने भनेर सम्बोधन गर्न सक्नेसम्म गराइदिनु भयो भने पुग्छ!

अल्जाइमर रोगलाई सय वर्षअघि जर्मनीका डाक्टर एलोस अल्जाइमरले पहिचान गरेका थिए । त्यसैले यो रोगको नाम तिनै डाक्टरको नामबाट राखियो । अल्जाइमर सामान्यतः बूढ्यौलीमा लाग्ने रोग हो । तर यो बिस्तारै वृद्धबाट मध्यम उमेरका व्यक्तितिर सल्किँदै छ। 

अल्जाइमर रोगबारे विश्वभर चासो र चिन्ता व्यापकरूपमा बढिरहेको छ । राजादेखि रंकसम्म यो रोगबाट पीडित रहे । अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगनदेखि बेलायती प्रधानमन्त्री मार्गरेट थेचर मात्र होइन, बहुचर्चित लेखक राहुल सांकृत्यायन पनि अल्जाइमरबाट पीडित थिए। 

तीन वर्षअघि भएको अध्ययनअनुसार विश्वमा पाँच करोड अल्जाइमर्स रोगी पाइएका थियो । अबको पन्ध्र वर्षमा रोगीहरूको संख्या आठ करोड पुग्नेछ । र, सन् २०५० सम्ममा अकल्पनीय रूपमा रोगीहरूको संख्या बढ्ने अनुमान विशेषज्ञहरूले गरेका छन् । 

नेपालमा अल्जाइमर्स रोगीहरूको सख्या त्यही गणनामा ७८ हजार रहेको बताइयो । भारतमा ४ करोड डिमेन्सियाका बिरामीहरू रहेको मानिन्छ । चीनमा त्यति नै ठूलो संख्या छ । विशेषज्ञहरू अल्जाइमरका रोगीहरू यसैगरी बढिरहने हुन् भने हरेक पन्ध्र्र वर्षमा दोब्बर हुने डरलाग्दो भविष्यवाणी गरिरहेका छन्। 

नेपाल मानव अधिकार आयोगले डिमेन्सिया/अल्जाइमर रोगीहरूको अवस्थाबारेमा विशेष ध्यान दिन थालेको छ । हालैको एक कार्यक्रममा आयोगले उपरोक्त तथ्यहरू सार्वजनिक रूपमा छलफलमा ल्यायो पनि । आयोगका प्रथम अध्यक्ष पूर्वप्रधानन्यायाधीश नैनबहादुर खत्री अल्जाइमरबाट पीडित रहेछन् । आफ्नै प्रथम अध्यक्ष पीडित भएकाले अल्जाइमर रोगलाई नजिकबाट देखेर पनि हुनसक्छ आयोगले वृद्ध उमेरमा लाग्ने भनिएको अल्जाइमरका बिरामीहरूको अवस्थावारे विशेष ध्यान दिएर छलफल कार्यक्रम नै सञ्चालन गरेको हो । विशेषज्ञ डाक्टर, अल्जाइमर पीडित परिवारका सदस्य, उपचार केन्द्र सञ्चालन गरिरहेका र पत्रकारहरूलाई आयोगले कार्यक्रममा सहभागीसमेत गरायो। 

आयोगका अध्यक्ष अनुपराज शर्माले भने, संसारमा खतरनाक भनिने रोगीहरू घट्दैछन् तर अल्जाइमरका रोगीहरू पत्याउनै नसकिने गरी बढिरहेका छन् । यो रोग लागेका रोगीहरूको अवस्था यस्तो दर्दनाक हुने रहेछ कि राज्य यसमा लागेन, समाज–परिवार सचेत बनेनन् भने नागरिकहरूले भयानक यातना खप्नुपर्ने रहेछ । त्यसैले पनि विशेषज्ञ डाक्टर, रोग लागेका परिवारका सदस्य र उपचार केन्द्र सञ्चालकहरूलाई समेत बोलाएर डिमेन्सिया÷अल्जाइमरबारे छलफल गरिएको हो। 

आयोगका सदस्य सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा उनले भने, वृद्ध र वृद्धाश्रमहरूबारे हामी अध्ययन गरिरहेका थियौँ तर यो रोगले ग्रस्त वृद्धहरूको अवस्था देख्दा ध्यान दिइहाल्नुपर्ने ठहरमा आयोग पुगेको छ। 

सामान्यतः साठी वर्ष उमेर पुगेका जो कसैलाई बिर्सने रोगले आक्रमण गर्न सक्छ । तर जेष्ठ नागरिक हुँदैमा यो रोगले आक्रान्त बनाउँछ भन्ने होइन । सय वर्ष पुगिसक्दा पनि राष्ट्रकवि माधव घिमिरेलाई यो रोगले छुन पनि सकेको छैन । त्यस्तै सय वर्षको संघारमा पुगेका सत्यमोहन जोशीबाट पनि यो रोग टाढै छ। 

तर जसलाई यो रोगले गाँज्न थाल्छ, परिवारका सदस्यले समेत अल्जाइमरले प्रताडित बनाइसकेको पत्तै पाउँदैनन् । कुरा बिर्सनु हुन्छ भन्दाभन्दै रोगले च्यापिसक्छ । डा. कणेलले भने, असीदेखि पचासी वर्षको उमेर पुग्दा दुई जनामा एकजनालाई अल्जाइमरले गाँजिसक्छ । राम्रो नराम्रो भनेर जजमेन्ट गर्ने क्षमता मात्र होइन, दिसा पिसाब यहाँ गर्नुपर्छ भन्ने कुरालाई पनि अल्जाइमरले खल्बल्याइदिन्छ।

सहभागी एक पीडित परिवारका सदस्यले भने, आमालाई बिर्सने रोग लाग्यो । उहाँलाई के गर्न हुने र के नहुनेसम्म पत्तो हुँदैन । एकदिन पूजा कोठामा गएर दिसा गर्नु भएछ । तर दुःखलाग्दो कुरा के भने त्यही दिसाले पूजा कोठा लिप्नु भएछ । तर उहाँलाई आफूले के गरेँ भन्ने पत्तो नै थिएन, उहाँले त पूजा कोठा पोत्नुभएको थियो । बिरामीलाई हरबखत म तपाईंको छोरा÷छोरी, श्रीमान्/श्रीमती भनेर चिनाइरहनु पर्छ । निर्वस्त्र भएर हिँड्नुहोला भनेर रातदिन सचेत भइरहनु पर्छ। 

डा. कणेलले भने, अल्जाइमर निको नहुने रोग हो । यसको औषधि अझै पत्ता लागिसकेको छैन तर बेलैमा रोग लागेको थाहा पाइयो भने रोगलाई केही नियन्त्रणमा ल्याउन र बिरामीलाई हरिबिजोग हुनबाट थोरै भए पनि जोगाउन सकिन्छ। स्याहार सुसारमा ध्यान दिन सक्यो, बेलामा खानपान गराउन सकियो भने बिरामीको हालत पतन हुन पाउँदैन। 

अल्जाइमर अर्थात् विस्मृति किन हुन्छ ? यसका अनेक कारण हुन सक्छन् । रासायनिक विषादी हालेका खानेकुरा, फास्टफुड, मद्य र धूमपान, सुगर, दम, प्रेसर, चटारो र आरिसको जिन्दगी लगायतका कारण रोगका निहुँ हुन् । सुरुमै कारण पहिल्याउन सकिए रोगीको अवस्थालाई केही भए पनि न्यूनीकरण गर्न सकिन्छ । बिरामीले हृदय विदारक यातना खप्नु पर्दैन र परिवारका सदस्य अकल्पनीय कष्टबाट जोगिन सक्छन्!

अल्जाइमरका बिरामी स्याहार केन्द्र सञ्चालन गरिरहेका एकले भने, सामाजिक रूपमा आपत्तिजनक भाषा, जबर्जस्ती करणीजन्य घटना, आत्महत्या, आगलागी वा तोडफोड÷दुर्घटना जुनसुकै बेला गर्न सक्छन् । त्यसैले स्याहार गर्नेहरूले चौबीसै घन्टा सचेत भइरहनुपर्छ । उनले अगाडि भने, समाजमा वृद्धले करणी गर्याे भन्ने जुन खबर प्रकाशित भइरहेका छन्, मेरो विचारमा त्यो व्यक्तिलाई विस्मृति रोग लागेको हुनुपर्छ । आत्महत्या अर्को जटिल समस्या हो । रोगीलाई के गर्दैछु भन्ने पत्तो नै हुँदैन । त्यसैले कुन बेला उसले के गर्छ कसैले भन्न सक्दैन । रोग बढ्दै जाँदा बिरामीको अवस्था यति दयनीय हुन्छ कि ऊ गुहुमुतको आहालमा हुन्छ।

डा. कणेलले भने, यो रोग लागेपछि विदेश जान सके बिसेक हुन्थ्यो कि भन्ने जहाँसम्म सुनिन्छ म भन्ने गर्छु, विश्वस्तरको उपचार नेपालमै सम्भव छ । थाइल्यान्ड, सिंगापुर, भारत धाइरहनै पर्दैन । संसारभर जहाँ गए पनि यो रोग लागेपछि उपचार गर्दा पनि १७ वर्षसम्म मात्र रोगी बाँचेका छन् । साहित्यकार कमलमणि दीक्षितले पत्नीको उपचारमा सकेसम्म कुनै कमी हुन दिनु भएन । चार जना त नर्स नै उपचारमा लगाउनु भयो । उहाँ सोह्र वर्षसम्म बाँच्नु भयो । उपचार नै नगर्दा पनि रोगीहरू ३–५ वर्षसम्म बाँचेको पाइएको छ।

आयोगको कार्यक्रममा सहभागी सरकारी प्रतिनिधिले भने,  अल्जाइमरका बिरामीको उपचारका लागि सरकारले एक लाख रुपियाँसम्म आर्थिक सहयोग दिन थालेको छ । तर सरकारी सेवा लिन राजधानी उपत्यकाको पाटन, टिचिङ र वीर अस्पताल तथा चितवन र धरानको अस्पतालसम्म जानैपर्छ । त्यसैले देशमा क्षयरोगका रोगीभन्दा धेरै बढी संख्यामा रहेका अल्जाइमरका बिरामीमध्ये १ सय २३ जनाले मात्र यो सुविधाको उपयोग गरेका छन्।

आयोगका सदस्यले भने, यो सुविधा कम्तीमा हरेक जिल्लाका बिरामीले आफ्नै जिल्लाबाट पाउन सके धेरै बिरामीले राहत पाउन सक्थे । भुक्तभागीहरू भन्छन्, त्यसैले ठूलो समस्या ज्यूँका त्यूँ छ र त्यो के भने, बिरामीले पाउने सुविधा अरुले दुरुपयोग गर्न सक्छन् । यसलाई रोक्ने कसरी ? यसका लागि सरकारी निकाय सचेत हुनु त पर्छ नै साथै नागरिक समाजको नाउँमा खुलेका अल्जाइमर समाजहरूले यसको निगरानी बेलैमा गर्न सकेनन् भने वास्तविक बिरामीहरू फेरि पनि राज्यको सेवाबाट वञ्चित हुनेछन्। 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad