coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लिग कपबाट बाहिरिएपछि युनाइटेडलाई थप दबाब

लन्डन – डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ८–७ को नतिजा सुम्पँदै इङ्लिस लिग कपको तेस्रो चरणबाट बाहिरिएसँगै म्यानचेस्टर युनाइटेडमाथिको दबाब थप बढेको छ।

उल्भरह्याम्पटनसँग इङ्लिस प्रिमियर लिगमा १–१ को बराबरी खेलेसँगै माउरिन्होको रणनीतिको चर्चो आलोचना  भएको थियो । त्यसको  तीन दिन नबित्दै इङ्लिस लिग कपबाट समेत बाहिरिएपछि माउरिन्होको ओल्ड ट्राफोर्ड बसाइ थप अन्योलमा परेको छ।

उल्भरह्याम्पटनविरुद्धको खेलमा खेलाएका ९ खेलाडी परिवर्तन गर्ने माउरिन्होको निर्णय महँगो साबित बनेको थियो । माउरिन्होले एन्टोनियो भ्यालेन्सिया, क्रिस स्मलिङ, लुक शाह, पाउल पोग्बा, डेभिड डी हिया, एलेक्सिस सान्चेजजस्ता खेलाडीलाई आराम दिएका थिए।

खेलपछि माउरिन्होले पोग्बालाई अबका दिनमा कप्तानी र उपकप्तानीको जिम्मेबारी नदिने बताएसँगै यी दुईबीचको सम्बन्धमा देखिएको तिक्तता थप बढेको छ । पोग्बाले उल्भरह्याम्पटनविरुद्ध टोलीले बराबरीको नतिजा निकालेपछि माउरिन्होले अवलम्बन गरेको रक्षात्मक रणनीतिको आलोचना गरेका थिए । विश्वकप विजेता फ्रान्सेली टोलीका २५ वर्षीय मिडफिल्डर पोग्बाले घरेलु मैदानमा भएको खेलमा आक्रमण नगर्नेलाई क्षमा दिन नसकिने बताएका थिए।

‘पोग्बालाई अबका दिनमा कुनै कप्तानीको जिम्मेवारी दिइने छैन,’ माउरिन्होले भने, ‘म टोलीको प्रशिक्षक हुँ र टोलीमा कसलाई कस्तो जिम्मेवारी दिने भन्ने निर्णय मैले गर्ने हो । मैले लिगका सुरुआती तीन खेल र च्याम्पियन्स लिगको खेलमा पोग्बालाई कप्तानको जिम्मेवारी दिएको थिएँ । तर अब मैले पोग्बालाई कप्तानको जिम्मेवारी नदिने निणएय लिएको छु । किनभने उनले आफूलाई दिएको जिम्मेवारीलाई न्याय गर्न सकेनन्।’

घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमा हुवाँ माटाले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ५९औं मिनेटमा ह्यारी विलसनले गोल गर्दा काउन्टी खेलमा फर्किएको थियो । त्यसको ९ मिनेटपछि गोलकिपर सर्जियो रोमेरो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि युनाइटेडले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । विल्सनको प्रहार पेनाल्टी बक्सबाहिर आउँदै हातले समाएपछि रोमेरोले रातो कार्डको दर्शन गरेका थिए।

उल्भरह्याम्पटनविरुद्धको खेलमा खेलाएका ९ खेलाडी परिवर्तन गर्ने माउरिन्होको निर्णय महँगो साबित भएको थियो।

१० खेलाडीमा सीमित युनाइटेडमाथि आक्रामक बनेको काउन्टीले खेल सकिन ५ मिनेट बाँकी हुँदा गोल गर्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेको थियो । काउन्टीका लागि ज्याक मारोइटले गोल गरेका थिए । तर इन्जुरी समयको पाँचौं मिनेटमा मारोउने फेलानीले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

रोमेरे रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि पोस्टको जिम्मेवारी सम्हालेको वैकल्पिक गोलकिपर ली ग्रान्टले काउन्टीका कुनै पनि खेलाडीको प्रहार रोक्न सकेनन् । युनाइटेडका फिल जोन्स आठौं पेनाल्टीमा गोल गर्न चुकेपछि युनाइटेडको अघिल्लो चरण लक्ष्यमा पूर्णविराम लागेको  थियो।

त्यस्तै म्यानचेस्टर सिटी भने अक्सफोर्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै लिग कपको अन्तिम १६ मा प्रवेश गरेको छ । ३६औं मिनेटमा गाब्रियल जिससले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । खेल सकिन १२ मिनेट बाँकी हुँदा रियाद महारेजले गोल गर्दैै सिटीको अग्रता दोब्बर पारेका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा फिल फोडिनले गोल गर्दै  सिटीको सहज जित पक्का गरेका थिए।

लिग कपअन्तर्गत मंगलबार भएका अन्य खेलमा बुर्टनले बर्नलीलाई २–१, ब्याकपुलले क्युपिआरलाई २–०, बर्नामाउथले ब्ल्याकबर्नलाई ३–२, लेस्टर सिटीले उल्भरह्यमटनलाई पेनाल्टी सुटआउटमा ३–१ र मिडल्सब्रोले प्रिस्टनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरे।

प्रकाशित: १० आश्विन २०७५ २३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App