८ वैशाख २०८१ शनिबार
समाज

जहाँ फोहर, त्यहाँ बगैचा

फोहर जम्मा हुने ठाउँमा बगैचा निर्माण गर्दै प्रहरी ।     तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउने अभियानको सुरुवात भएको ३ वर्ष भन्दा धेरै भयो। यो अभियानमा सरकारी तथा निजी क्षेत्र सक्रिय छन्। त्यसको प्रभावकारिता भने अहिले देखिन थालेको छ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डा. नवराज केसी आवद्ध विंग्स फाउण्डेशनले वीरेन्द्रनगरमा ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानको सुरुवात गरेको छ। अभियान आठौं हप्तामा पुग्दै गर्दा वीरेन्द्रनगर ‘क्लिन’ र ‘ग्रिन’ हुँदै गएको छ। १० जनाबाट सुरु भएको ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानमा अहिले पाँच सय भन्दाधेरै अभियन्ता जोडिएका छन्। सुरुको केही साता सडकको फोहर संकलन मात्रै गरेको थियो। पछिल्लो दुई सातायता ‘जहाँ फोहर, त्यहाँ बगैंचा’ अभियान सञ्चालन गरेको छ।

‘सडकको फोहर संकलन गरेर मात्रै प्रदेश राजधानी सफा र हरियाली नहुने देखिएपछि हामीले फोहर फाल्ने ठाउँमै बगैचा निर्माण गर्न थालेका छौं’ अभियन्ता डा. केसीले भने, ‘यसले वर्षौदेखि थुप्रिएको फोहर हटाउनुका साथै सुन्दर बगैचाहरू निर्माण हुन थालेका छन्।’ चाइना पुल नजिकैको छेउलाई स्थानीयले वर्षौदेखि ‘डम्पिङ साइड’को रुपमा प्रयोग गर्दै आएका थिए। त्यहाँको फोहरले खोर्केखोला नै थुनिने अवस्थामा पुगेको थियो। गत शनिबार अभियन्ताहरू त्यहाँ पुगे।

अभियानमा संलग्न करिब ५ सय जनाका लागि त्यहाँको फोहर निकाल्न चार घण्टाको समय लाग्यो। त्यहीँ फोहरको डंगुरमा अहिले सुन्दर बगैँचा निर्माण गरिएको छ। ‘गरे के हुँदैन र !’ अर्का अभियन्ता भद्र भण्डारीले भने, ‘चार घण्टाको अवधिमा फोहरको डंगुर हटाएर बगैँचा बनाउन हामी सफल भयौं।’ बगैँचा निर्माणका लागि फालिएका सवारी साधनका टायर, प्लाष्टिकका बोत्तललगायतका प्रयोग गर्ने गरिएको छ। दुई साताको अवधिमा उपत्यकाभित्र बढी फोहर जम्मा हुने छ वटा स्थानमा बगैचा बनाइएको छ। 

बालबालिकाको चेकजाँचमा व्यस्त रहने डा. केसीले सरसफाईको नेतृत्व गर्दै आएका छन्। केही महिनाअघि काठमाडौंको एक अस्पतालमा एक जना बिरामीको मृत्यु भयो। सुर्खेत ठेगाना भएका ति बिरामीको मृत्युको कारण यहाँको फोहर थियो। ‘ति बिरामीको ‘सेप्सीस’का कारण मृत्यु भएको थियो’ डा. केसीले भने, ‘हामीले यहाँ जम्मा भएको फोहर र नालीहरूको परीक्षण गर्दा जहाँतहीँ यसका किटाणु फेला पार्याैं।’ रगतमा देखिने यो किटाणु निर्मूल गर्नका लागि अहिलेसम्म औषधि बनेको छैन्। यसको रोकथामको एकमात्रै उपाय फोहरलाई नै निर्मूल गर्नु हो। त्यहीँ बेलादेखि विंग्स फाउण्डेशनले ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानको सुरुवात गरेको हो।

डा. केसीका अनुसार हरेक महिना प्रत्येक व्यक्तिले एक वर्षमा ५०० केजी फोहर उत्पादन गर्छ। ‘जसरी हामी मिठो खाना र राम्रो कपडाको बारेमा सोच्ने गछौं, त्यसैगरी आफुले उत्पादन गरेको फोहरको सही व्यवस्थापनको बारेमा पनि सोच्न आवश्यक छ’ डा. केसीले भने, ‘सबैलाई जिम्मेवारी बोध गराउनका लागि पनि यसको सुरुवात गरिएको हो।’ अभियानमा वीरेन्द्रनगर नगरपालिकाले पनि साथ दिइरहेको छ। नगरप्रमुख देवकुमार सुवेदीले अहिलेकै रफ्तारमा अभियान सञ्चालन भएमा केही महिनाभित्रै सुर्खेत सफा र हरियाली शहर बन्ने बताए। 

 

प्रकाशित: १० आश्विन २०७५ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App