७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

चर्पी छ पानी छैन, लिफ्ट छ चल्दैन

बन्द अवस्थामा रहेको लिफ्ट। तस्बिरः पुष्पराज/नागरिक

कैलाली - ठूला र आकर्षक भवन, रंगरोगन पनि त्यस्तै। बाहिरबाट झट्ट हेर्दा सबै सुविधा भएको अस्पताल जस्तो देखिने सेती अञ्चल अस्पताल आफैमा बिरामी परेको छ। प्रदेश  नम्बर ७ को रेफरल अस्पतालका रूपमा रहेको अञ्चल अस्पतालमा आवश्यक भौतिक संरचनाहरू भए पनि गतिलो व्यवस्थापन हुन् नसक्दा आफैमा बिरामी परेको छ।

अस्पतालमा जनशक्ति, आवश्यक उपकरण, चिकित्सक र गतिलो व्यवस्थापन हुन् नसक्दा प्रदेश नम्बर ७ को एक मात्र ठूलो अस्पतालमा बिरामीले उपचार पाउन निकै सास्ती भोग्नु परेको छ। सर्वसाधारणले अस्पतालमा आएपछि उपचार पाउने प्रक्रियाका बारेमा जानकारी पाउनै मुस्किल पर्छ। केहीले जसोतसो उपचार कक्षसम्म पुगे पनि कहिले चिकित्सक नभेटिने त आवश्यक उपकरण बिग्रेर उपचार पाउनबाट वञ्चित हुनुपरेको छ। कर्मचारी अभावले गर्दा काम गर्न गाह्रो भइरहेको बताउँदै सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने, ‘दुई सय ३७ बेडको अस्पतालमा ५० बेड सञ्चालनका लागि चाहिने जनशक्ति पनि छैनन्, यस्तोमा कसरी गुणस्तरीय सेवा दिन सकिन्छ।’ उनले जेनतेन स्वास्थ्यकर्मीले सेवा दिइरहेको बताए।

अस्पताल नै अस्तब्यस्त भएपछि त्यसको मार बिरामीमा परेको छ। बिरामीले नामदर्ता  गर्न र एक्स–रेको लागि शुल्क बुझाउन घण्टौ लाइनमा बस्नुपरेको छ। लाइनमा उभिने ठाउँमा पंखा नहुँदा गर्मीले बिरामी ढल्ने समस्या समेत देखिएको छ । ‘बिरामीको नाम दर्ता गराउने काउन्टरमा पंखा छैन,’ नाम दर्ता गर्न लाइनमा बसेका राजेन्द्र चौधरीले भने, ‘यस्तो गर्मीमा पनि अस्पतालले एउटा पंखासमेत लगाइदिएको छैन।’ नाम दर्ता गर्ने र शुल्क बुझाउने काउन्टर थोरै हुँदा पनि बिरामीलाई समस्या पर्ने गरेको छ।  बिरामीको चाप बढ्दा चेकजाँचको लागि आउने बिरामीले पालो समेत पाउन सकेका छैनन्। अञ्चल अस्पतालमा पालो नपाउने भएपछि बिरामीहरू निजी क्लिनिक धाउने गरेका छन्, जसका कारण बिरामी महँगो शुल्क तिर्न बाध्य छन्। सम्बन्धित रोगका बिरामीलाई चेकजाँच गर्ने संख्याको सीमा तोकिएकाले पनि एक्स–रे, ल्यावमा रगत, दिसा पिसाब, खकार परीक्षणका लागि बिरामी निजी क्लिनिकमा जानुपर्ने बाध्यता छ।

अञ्चल अस्पतालमा थोरै समय देखिने डाक्टरहरू अधिकांश समय निजी क्लिनिकमै हुन्छन्। उनीहरूलाई सेती अञ्चल अस्पतालको ड्युटी समयमा निजी क्लिनिकमै जान हतारो हुन्छ। अञ्चल अस्पतालका कार्यालय सहयोगीदेखि डाक्टरसम्मका कर्मचारीले मिलेर निजी अस्पताल तथा क्लिनिक सञ्चालन गरेका छन्। उनीहरू अस्पतालको समयभित्र पनि आफ्नो निजी क्लिनिक तथा अस्पतालमा जाने गरेका छन्। त्यसकारण पनि अस्पतालमा सास्ती दिएर बिरामीलाई निजी क्लिनिकमा जान बाध्य पार्ने गरेको गुनासो स्थानीय रणबहादुर बमले बताए।

अहिले दैनिक चार सय बढी बिरामीले ओपिडी कक्षमा स्वास्थ्य चेकजाँच गराउने गरेको तथ्याङ्क दर्ता शाखाको रेकर्डले देखाउँछ। अन्य समय भन्दा यो समयमा बिरामीको चाप बढी हुने गरेको बताउँदै स्वास्थ्यकर्मी बताउँछन् । ‘यो समयमा बिरामीको संख्या बढेको छ,’ चिकित्सक धु्रब ओझाले भने, ‘अन्य समयभन्दा अहिले भाइरल ज्वरोका साथै पानीजन्य रोगका बिरामी बढी छन्।’

आठ वटा विभाग भएको अस्पताल २०३७ सालमा कायम भएको दरवन्दीको भरमा अहिलेसम्म सञ्चालन भइरहेको छ । चार दशक अघि र अहिलेको स्थितिमा निकै भिन्नता आए पनि अस्पतालको दरबन्दी, सेवासुविधा, चिकित्सकीय उपकरण सबै कुरामा अस्पतालले अभाव झेलिरहेको छ । थोरै जनशक्तिले गर्न सक्ने भन्दा निकै बढी सेवा दिइरहेका छन्। बिरामीको चाप दस वर्ष यता तुलनात्मकरुपमा ५० गुना बढेको छ, तर सेवा सुविधा र जनशक्ति पुरानै अवस्थामा छन्।

शौचालयमा पानीमा पानी समस्या  
सेती अञ्चल अस्पताल भित्र बिरामीले प्रयोग गर्ने शौचालयमा पानी नहुँदा समस्या पर्ने गरेको छ। शौचालयमा पानी नहुँदा बिरामीले मिनरल वाटर किनेर प्रयोग गर्न बाध्य छन् । ‘शौचालयमा पानी नहुँदा मिनरल वाटरले हातमुख धोएँ,’ बिरामी कुरुवा चक्र भाटले भने,‘पानी नहुँदा शौचालय दुर्घन्धित पनि उस्तै छ ।’ शौचालयको दुर्गन्धका कारण बिरामी कुरुवा नै बिरामी हुने अवस्था आउनसक्ने उनले बताए। बनाइएको शौचालयमा पनि ढोका नहुँदा शौच गर्न बिरामी र कुरुवालाई समस्या हुने गरेको छ। ‘शौचालयमा ढोका नहुँदा समस्या छ,’ उनले भने, ‘शौच गर्न शौचालयमा बस्यो कि अर्कौ मान्छे आउने वित्तिकै उठ्नुपर्छ।’ शौचालय मर्मतका लागि कामदार खटाउन थालेको बताउँदै मेडिकल सुरपरिटेन्डेन्ट पाण्डेले भने, ‘टुटफुट भएका ढोका तथा टुटीहरू मर्मतसम्भार गरिरहेकै छौँ ।’ मोटर बिग्रेका कारण शौचालयमा पानी पठाउन नसकिएको बताउँदै उनले भने, ‘मोटर बनायौँ, फेरि बिग्रियो ।’ मर्मतको काम चलिरहेको उनले बताए।

लिफ्ट नचल्दा बिरामी मर्कामा
तीन तले भवन । भवनको माथिल्लो तलमा बिरामीको वार्ड राखिएको छ। लिफ्ट भए पनि बिग्रिएका कारण तल्लो तलाबाट माथिल्लो तलामा सिढी चढेर जान समस्या हुने गरेको बिरामी बताउँछन्। ‘महिनौ भइसक्यो लिफ्ट बिग्रिएको, अस्पताल प्रशासनले ध्यानै दिँदैनन,’ एक कर्मचारीले भने, ‘लिफ्ट नहुँदा बिरामीलाई तीनतला माथि उक्लन र ओर्लिन समस्या हुने गरेको छ।’  

लिफ्ट नहुँदा तीन तला माथिबाट तल र तलबाट माथि आउजाउ गर्नै समस्या भएको बिरामी दुर्गादेवी जोशीले बताइन्। उनले भनिन्,‘तीन तले भवनको सिँढी उक्लिदा उक्लिँदै थाकिइन्छ।’

प्रकाशित: १० आश्विन २०७५ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App