८ वैशाख २०८१ शनिबार
राजनीति

युवा संघ अध्यक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ। संघले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राष्ट्रघाती सम्झौता गरेको भन्दै राजीनामा माग गरेको हो।

संघका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएको २५ बुँदे सम्झौताको १० नम्बर बुँदामा नेपालको संविधानको बारेमा भारतको चासो उल्लेख भएकोे बताउँदै नेपालको आन्तरिक मामलामा कसैले हस्तक्षेप गर्न नमिल्ने बताए। रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले भारत भ्रमण पूर्ण असफल, नाङ्गो दलाली र आत्मसमर्पणको पराकाष्ठा भएको आरोप लगाए।  

“नेपालको राजनीतिक विषय नेपालमै समाधान गर्नुपर्छ, विदेशमा लगेर रमिता देखाउने काम गर्ने होइन,” उनले भने।

पहारीले प्रधानमन्त्रीले भारत भ्रमणमा देश र जनताको हितविपरीत सम्झौता गरेको भन्दै नेपालको आन्तरिक मामलाका विषयहरु अर्को देशसँगको सम्झौतामा उल्लेख गरेको, नेपालको विदेश मामलासम्बन्धी दृष्टिकोणमा जबर्जस्ती भारतलाई हावी गराएको, सुगौली सन्धीलगायतको विषयमा कुनै शब्द उच्चारण नगरेकोलगायतका कारण देखाउँदै प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेका हुन्। उनले चीनसँग भएको ऐतिहासिक सम्झौताहरुलाई वेवास्ता गर्दै सिंगो देश र जनताप्रति गद्धारी गरेको आरोप लगाए।

हुलाकी मार्ग निर्माणको काम भारतलाई दिने सम्झौता भएको भन्दै यो राष्ट्रघाती कदम भएको उनले बताए ।  

सम्मेलनमा पहारीले माओवादी लडाकुको नाममा भएको आर्थिक अनियमितताको बारेमा युवा सङ्घले २०६९ सालमा पुष्पकमल दाहाल, बाबुराम भट्टराई र कृष्णबहादुर महराको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीको फायल ढिलै भए पनि अगाडि बढेको भन्दै दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे।

उनले राज्यसत्ताको दुरुपयोग गर्दै यस विषयमा गलत ढङ्गले अगाडि बढ्न खोजे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए। सर्वोच्च अदालतले लोकमान सिंह कार्की नियुक्तिको फायल पेश गर्न सरकारलाई आदेश दिँदा कहिले हराएको र कहिले भेटिएको भन्ने लज्जास्पद र गैरजिम्मेवारीपूर्ण जवाफप्रति दुःख व्यक्त गर्दै न्यायिक र संवैधानिक मूल्य–मान्यताका आधारमा कारबाही अगाडि बढाउन माग गरे।

पहारीले टिकापुर घटनाका दोषीलाई आम माफी दिने गृहमन्त्रीको अभिव्यक्तिले मुलुकमा दण्डहिनतालाई प्रश्रय दिएको भन्दै अभिव्यक्ति फिर्ता लिन र दोषीलाई कारबाही गर्न माग गरे।

दशैँ तिहार छठलगायतका चाडमा देखिने कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव नियन्त्रण गरेर सहज र सुलभ आपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे।  
 

प्रकाशित: ३ आश्विन २०७३ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App